Sunday, August 2, 2015

बजारमा सुन किन्नेको भीड तर पाउनै मुस्किल


काठमाडौं– महिलाहरुले विशेष मनाउने हरितालिका तीज नजिकिँदै छ। हरियो चुरा र मेहन्दीसँगै सुनका गहनामा झपक्कै सजिएर महिलाहरु सोमबारे व्रतमा रमाउने महिना (साउन) पनि यही हो। संयोग नै मान्नुपर्छ, महिलाहरुको यही पर्वको मुखमा अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य ओरालो लागिरहेको छ। सरकारले साउन शुरुदेखि नै प्रति १० ग्राम सुनमा रु.१ हजार भन्सार शुल्क घटाइदिएको छ। यी दुवै कारण नेपाली बजारमा सुनको मूल्य घटेर तोलाको ४७ हजार २ सय सम्म ओर्लिएर शुक्रबारबाट पुनः ४८ हजारमा स्थिर भएको छ। साविकको तुलनामा सुनको मूल्य तोलामा ७ हजार रुपैयाँसम्म कम भएको हो। यही मौकामा गहना किन्ने महिलाहरुको भीड यतिबेला काठमाडौंको न्यूरोडलगायतका गहना हबहरुमा बढेको छ। बिशाल बजार र आसपास क्षेत्रमा सुन किन्नेहरुको भिड नै लागेको छ। आफ्नै, प्रयोगका लागि, आउँदो लगनमा विवाहका लागि र लगानीकै रुपमा सुन किन्न चाहनेहरु पनि बजारमा प्रशस्त देखिएका छन्। 'सुन सस्तो भएको यही मौकामा एउटा सानो हार बनाउँकी भनेको पसलमा सुन किन्नै पाइएको छैन,' चावहिल चोकस्थित एक सुनचाँदी पसलबाट बाहिरिँदै गरेकी चावहिलकी कोपिला दाहालले भनिन्, 'किन्नै नपाएपछि मूल्य घटेको के अर्थ भयो र?' मूल्य घटेका बेला ग्राहकले गहना खरिद गर्न नपाउने समस्या यो नौलो भने होइन। २०७० सालमा पनि सुनको मूल्य घटेर प्रतितोला ४९ हजार हाराहारीमा आइपुग्दा राजधानीका पसलहरुबाट ग्राहकले अर्डरअनुसारको गहना नै पाएनन्। 'एउटा सिक्री अर्डर गर्न आएकी किन्नेको भीडले अर्डर गर्नै सकिएन,' न्यूरोडका सुनचाँदी पसल चहार्दै गरेकी रामेछाप घर बताउने सुनिता थापाले नागरिकन्युजसँग भनिन्। हुन त गहना व्यवसायीले पनि चाहेजति गहना पाउन सकेका छैनन्। ढिका(कच्चा) सुन बेच्ने सुनका थोक विक्रेताहरुले नै आफूकहाँ खुद्रा सुन किन्ने गहना व्यवसायीलाई अहिले चाहिए जति सुन दिइरहेका छैनन्। 'भाउ घटेको बेला थोक व्यवसायी पनि स्टक गर्ने धुनमा लाग्छन्,' चक्रपथस्थित एक गहना पसलका सञ्चालकले भने, 'अहिले त ८–१० तोला सुन लिन पनि ३–४ जना थोक बिक्रेताकहाँ धाउनु पर्छ। तै पनि पाइँदैन।' उनकाअनुसार कतिपय गहना व्यवसायीले पनि ग्राहकलाई फिर्ता पठाएरै भए पनि सस्तो मूल्यको सुन स्टक गर्ने गर्छन्। यो तथ्यलाई स्वीकार्न तयार छैनन् सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिरत्न शाक्य। 'मूल्य उच्च विन्दुमा पुग्दा सुन किन्ने ग्राहककै कमी हुने र मूल्य न्यून विन्दुमा पुग्दा सुन किन्ने ग्राहक ह्वात्तै बढ्ने यो समस्या पहिलेदेखि कै हो,' उनी दाबी गर्छन् 'सुन स्टक गरेर राख्ने प्रवृत्ति अपवादमा केही व्यवसायीको होला नत्र आजभोली स्टक गरेर राख्ने चलन छैन।' सुन आयात गर्ने अनुमति पाएका नेपालका वाणिज्य बैंकहरुले अहिले कोटाअनुसारको सुन आयात नगरेको र उनीहरुसँग रहेको भनिएको स्टक(करिब ५ सय किलो) सुन विक्री नगर्दा पनि समस्या आएको उनी बताउँछन्। 'महँगोमा किनेको सुन सस्तोमा बेच्दैनौं बरु स्टकै गरेर राख्छौं भन्छन् बैंकहरु,' अध्यक्ष शाक्यले भने, 'बैंकहरुले ल्याएको सुन नयाँ मूल्यमै बेचेर फेरि ल्याउने सुन स्टक गरे पनि त हुथ्यो।' भूकम्पछि राजधानी बाहिरिएका सुनका गहना बनाउने ७० प्रतिशत कालिगढ अझै फर्केका छैनन्। भाउ सस्तो भएका बेला ग्राहकले लगानीका रुपमा सुन खरिद गर्न चाहने जस्ता कारणले पनि गहनापसलमा ग्राहकको भीड देखिएको र सबैलाई सुन दिन नसकिएको अध्यक्ष शाक्यको भनाई छ। सुनको मूल्य घटेर अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस १ हजार डलरसम्ममा ओर्लिने विश्लेषण भइरहेको छ। सोमबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १ हजार १ सय डलरको हाराहारीमा छ। अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔंस १ हजार डलरमा ओर्लिए सुनको भाउ घटेर नेपालमा प्रतितोला ४५ हजार रुपैयाँसम्म आउन सक्छ। शुक्रबार एकै दिन प्रतितोला ८ सय बढेर पहेँलो धातु ४८ हजार पुगी स्थिर देखिएको छ। किन घट्यो सुनको मूल्य? अमेरिकाको युएस फेडरल रिजर्ब बैंकले डलर निक्षेपमा ब्याजदर बढाउने संकेत गरेको, अन्तर्राष्ट्रिय बजारमा घटेको कच्चा तेलको मूल्य, सुनबाट शेयरमा मोडिएका अन्तराष्ट्रिय लगानीकर्ता, नेपालमा सुन आयातमा प्रति दश ग्राम रु.१ हजारका दरले घटेको भन्सार महशुल लगायतका कारणले सुनको मूल्य सस्तिएको हो। यही सन्दर्भमा सुनको मूल्य ४ वर्षयताकै न्यून विन्दूमा आइपुगेको हो। नागरिक न्युज बाट साभार

0 comments:

Post a Comment