
माननीय सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितज्यू,
नमस्कार!
तपाईंलाई आजकल भ्याइ-नभ्याइ छ भन्ने मैले बुझेको छु। तपाईंको जीवनकै सम्भवतः सबैभन्दा व्यस्त समयमा तपाईंको ध्यानाकर्षण गरेर केहीसमय लिने धृष्टता गर्दैछु, क्षमा चाहन्छु|
पटकपटक सांसद, सभासद भएपनि आफ्नो क्षेत्र, जिल्ला र वरपर मात्र परिचित तपाईंको नाम आज देश-विदेशमा चर्चाको शिखरमा छ, बधाई छ तपाईंलाई| मन्त्री भएरै पनि तपाईं जस्तै चर्चित हुने सौभाग्य सबैलाई प्राप्त हुँदैन, मन्त्री भएर पनि गुमनाम हुने धेरै छन्|
"पिआर, ग्रीनकार्डधारीलाई नारायणीमा बगाइदिए हुन्छ" भन्ने अभिव्यक्ति दिएपछि शुरू भएको तपाईंको नामको चर्चा तपाईंले निजामति सेवा ऐन चौंथो संशोधन विधेयक संसदबाट पारित गराउन गर्नुभएको प्रयास सफल हुँदासम्म चुलिएको चुलियै छ| छापाहरूमा तपाईं नै छाउनुभएको छ, सामाजिक संजालहरूमा तपाईंकै चर्चा छ, बहुचर्चित सञ्चार माध्यमहरूमा अन्तर्वार्ता दिएरै फुर्सद छैन तपाईंलाई| वाह मन्त्रीज्यू !
राष्ट्रको तलब-सुविधा लिएर विदेशमा स्थायी बसोबास गरी उतै काम गरेर बस्नुलाई उचित र जायज भन्न र मान्न कसैले पनि सक्दैन, हुँदैन। तर नीति निर्माण गर्ने र कार्यान्वयन गराउने तहको तपाईं जस्तो जिम्मेवार व्यक्तिले आफ्नो निजी फेसबूकमा त्यस्ता कर्मचारीको नाम नै सार्वजनिक गर्नु कतिको उचित हो? नीतिगत भन्दा पनि तपाईंको कार्यशैली व्यक्तिगत भएन र? तपाईंलाई लाग्ला म पनि त्यही समूहमा पर्ने व्यक्ति हूँ र यो कुरा उठाउँदैछु| त्यसो पटक्कै होइन। धेरै वर्षअघि अमेरिकाको लागि विद्यार्थी भिसा पाउनासाथ लोकसेवा आयोगको परीक्षामा उतीर्ण गरेर पाएको अधिकृतको पदबाट राजिनामा दिएरै म अमेरिका उडेको हुँ। आफ्नो सफलतासँगै तपाईंले विदेशमा रहेका हजारौं देशभक्त नेपालीको भावनामा चोट पुग्ने अभिव्यक्ति दिन थाल्नुभएकाले तपाईंको ध्यानाकर्षणको लागि मात्र यो पत्र लेख्दैछु।
तपाईंको बहुप्रचारित सरल र सादा जीवनशैलीबाट म अत्यधिक प्रभावित छु| तर त्यो पनि मलाई लाग्छ व्यक्तिको अत्यन्त नीजि कुरा हो| आफूलाई सही र उचित लागेको मात्रलाई राम्रो देख्नुलाई दृष्टिदोष नै मान्नुपर्दछ। अमेरिका बस्न थालेको वर्षौं भएपनि म पनि कुन कपडा के भन्ने चिन्दिनँ, जान्दिनँ| माफ गर्नुहोला, त्यसैलाई आधार मानेर म मेरो महानता दाबी गर्न खोजिरहेको छैन, न त म आफूलाई मन्त्रीज्यूसँग तुलना गर्ने कुनै धृष्टता गरिरहेको छु।
नेपालमा मेरो घर चितवन जिल्लामा पर्दछ र म केही वर्षदेखि अमेरिकामा बसोबास गरिरहेको छु। नेपालको सबैभन्दा कान्छो जिल्ला चितवन र विश्वको सबैभन्दा कान्छो देश अमेरिका केही अर्थमा समान छन् भन्ने मलाई लाग्दछ। नेपालभरिबाट अवसर खोज्दै चितवन झरे झैं संसारभरिबाट अवसरकै खोजीमा मान्छेहरू अमेरिका आएका हुन्। खोज्दै जाँदा हाम्रै पूर्खा पनि त कतै न कतैबाट नेपाल आएका होलान् नि मन्त्रीज्यू ! के अब हामी आफ्ना पूर्खालाई गाली गरेरै दिन गुजारा गरौँ त?
विदेसिनु सबैको रहर नभएर अधिकांशको बाध्यता हो भन्ने पनि मन्त्रीज्यूले बुझिदिनुपर्ने होइन र? संसारभर रहेका नेपाली आजकै मितिमा नेपाल फर्किए भने देशमा के होला मन्त्रीज्यू? फेरि यो पिआर, ग्रीनकार्ड भनेको सम्बन्धित देशले आवतजावत गर्न, काम गर्न र कानूनी रूपले बस्न दिएको अनुमति मात्र त हो जुन निश्चित अवधिमा सम्बन्धित मुलुकमा नफर्किए स्वतः निष्क्रिय हुन्छ| फेरि किन पिआर, ग्रीनकार्डधारीप्रति यस्तो वैरभाव मन्त्रीज्यूको? मन्त्रीज्यूको राष्ट्रभक्ति स्तुत्य भएपनि यहाँले विदेशमा रहने लाखौं नेपालीको भावनामा चोट पुग्ने अभिव्यक्ति दिनु सर्वथा गलत हो भन्ने मलाई लाग्दछ| गत वैशाख १२ मा मुलुकमा गएको महाभूकम्पमा संसारभर रहेका नेपालीले गरेको सहयोग र प्रदर्शन गरेको ऐक्यबद्दता कम छ र मन्त्रीज्यू?
चाडबाडमा मालश्रीको मधुर धुनको झंकार, पिंगको चचहुइ, सयपत्रीले ढकमक्क ढाकेको राता-सेता माटो पोतेका सुन्दर बस्ती सम्झेर, फागुको रंगमा नुहाएको मुलुक सम्झेर भाव विव्हल भएर आफ्ना कोठाचोटामा स्नेह र गर्वका साथ नेपाली झण्डा टाँसेर बसेका नेपालीहरूको मन मन्त्रीज्यूका "भूतपूर्व नेपाली", "देशद्रोही" जस्ता शब्दले कति आहत होला, कहिल्यै विचार गर्नुभएको छ?
मन्त्रीज्यूले कुनैपनि कुरालाई मनोगत मात्र नभई वस्तुगत भएर सोच्ने बानीको विकास गर्नुपर्ने हो कि ? विदेशमै बसेर यति सुझाव दिने धृष्टता गरें।
यो समाचारसंग सम्बन्धित भिडियो तल छ, हेर्नका लागि विचमा थिच्नुहोस्
Posted in: News
0 comments:
Post a Comment