सोमबार कैलालीमा आन्दोलनकारीको आक्रमणबाट उनले ज्यान गुमाएपछि उनका आफन्तजन पुरानो कुरा झल्झली सम्झिरहेका छन् । 'सुरक्षाका दृष्टिले ज्यादै संवदेनशील अवस्थामा पनि केही भएन', उनका नातेदार मणिराम न्यौपानेले भने ' अहिले यस्तो दुखद् घटना भयो ।' उनका अनुसार सशस्त्र युद्धकालमा उनले रोल्पा, बैतडीलगायत मुलुकका धेरै संवदेनशील जिल्लाहरुमा जिम्मेवारी निर्वाह गरेका थिए ।
चन्द्रगढी गाविस भद्रपुरमा गाभिएपछि भद्रपुर–१३ बनेको आयुर्वेदिक टोलमा घर भएका न्यौपानेको परिवार २०१९ सालमा भोजपुरको गोगनेबाट झापाको चन्द्रगढी झरेको थियो । २०२० सालमा जन्मिएका न्यौपाने परिवारका ६ भाई छोरा मध्ये काइँला हुन् । आमा रमादेवी, पत्नी अरुणा, छोरा सन्देश र छोरी सम्युक्ता न्यौपानेसँगै काठमाडौँस्थित सिनामंगलमा उनको परिवार बस्छ । नातेदार मणिरामले काठमाडौंबाटै फोनमा दिएको जानकारी अनुसार घटनालगत्तैदेखि न्यौपाने परिवार विह्वल छ ।
२०४० सालमा एसएलसी पास गरेपछि उनी अध्ययनका लागि काठमाडौं गएका थिए । राजधानीबाटै उनले बीएस्सीसम्मको अध्ययन गरे । स्नात्तकोत्तर तह पनि अध्ययन गरेका उनले कुन विषय रोजे भन्ने थाहा नभएको मणिरामले जनाए । उनले २०४४ सालमा नेपाल प्रहरीको प्रहरी निरीक्षक पदबाट सेवा सुरु गरेका थिए । बाग्लुङबाट एक वर्ष अघि मात्र सेती अञ्चल इञ्चार्जको जिम्मेवारी सम्हाल्न कैलाली पुगेका थिए । भद्रपुरको मुलघरमा उनका भाई बुहारी प्रदिप र विजया न्यौपाने मात्र बस्दै आएका छन् ।
बेला–बेलामा झापा आइरहने उनी एक वर्ष अघि मात्र झापा आएर भाइ आफन्तलगायतसँग भेटघाट गरेर गएको उनका भाइ प्रदिप न्यौपानेले जानकारी दिए । २०६८ मा एसएसपीमा बढुवा भएका उनको प्रहरीमा राम्रै छवि रहेको आफन्तजन बताउँछन् । न्यौपाने डिआइजीमा बढुवा भएर रिटायर्ड जीवनको कल्पनामा थिए । 'रिटायर्ड हुने बेलासम्ममा डिआइजी बन्छु होला भन्ने उहाँको आशा थियो', नाताले भाई मणिरामले भने 'अब उहाँको त्यो सपना कहिल्यै पूरा नहुने भयो ।'
समकक्षीहरु उनलाई 'एक असल र व्यवसायिक प्रहरी अधिकृत' रहेको बताउँछन् । अहिले अञ्चल प्रहरी कार्यालय मेचीमा प्रमुख रहेका न्यौपानेकै ब्याजी एसएसपी पुष्कलराज रेग्मी भन्छन् , 'उहाँ एक असल र व्यवसायिक प्रहरी अधिकृत हुनुहुन्थ्यो । ' रेग्मीका अनुसार द्वन्द्वकालमा डिएसपी भएका बेला उनले रोल्पामा पनि जिम्मेवारी सम्हालेका थिए । रेग्मी त्यसबेला सल्यानमा थिए ।
-नागरिक न्युज बाट
0 comments:
Post a Comment