
चितवन, १६ साउन । नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत कालीखोलामा आज दिउँसो ट्रकले च्यापिएर मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको ग३प ३५८१ नम्बरको मोटरसाइकलमा सवार दुई जनाको ट्रकमा च्यापिएर मृत्यु भएको हो । ट्रकका च्यापिएर गम्भीर घाइते भएका उनीहरुलाई उपचारका लागि भरतपुर ल्याउने क्रममा बाटैमा मृत्यु भएको हो । मृतकमध्ये मोटरसाइकल चालक गोरखा देउरालीका २२ वर्षीय मुक्तिबहादुर विकको सनाखत भएको छ भने अर्का एकको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । सोही दिशातर्फ आउँदै गरेको से१ख ८६५ र ना१क ३३४५ नम्बरको दुई ट्रकका बीचमा मोटरसाइकल किचिएको प्रहरीले जनाएको छ । मोटरसाइकलले एउटा ट्रकलाई ओभरटेक गर्न खोज्दा अर्काे ट्रकले दुवैलाई ओभरटेक गर्ने क्रममा दुई ट्रकको बीचमा मोटरसाइकल च्यापिएको प्रहरीले जनाएको छ । प्रहरीले ट्रक र चालकलाई नियन्त्रणमा लिएको जनाएको छ ।
पाँच जुवाडे पक्राउ
पश्चिम चितवनको पार्वतीपुरबाट आज दिउँसो जुवा खेलिरहेको अवस्थाबाट पाँच जना पक्राउ परेका छन् ।विशेष सुराकीको आधारमा दिउँसो प्रहरीले जुवाको खालसहित उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरीले उनीहरुको साथबाट रु २४ हजार २०० समेत बरामद गरेको छ । रासस
यो समाचारसंग सम्बन्धित भिडियो तल छ, हेर्नका लागि विचमा थिच्नुहोस्
Posted in: News
0 comments:
Post a Comment