Saturday, August 29, 2015

​भूकम्पमा २३४ जना मृत्यु भएको भक्तपुरमा यसरी मनाइँदैछ गाईजात्रा


भक्तपुर : सात दिनसम्म मनाइने गाईजात्रा पर्व तलेजुस्थानबाट गएराति ताहामचा बनाई दरबार स्क्वायर परिक्रमा गरेपछि सुरु भएको छ।  विगत वर्षमा ९ बजेपछि मात्रै जात्राको रौनक सुरु हुने गरेपनि यसवर्ष भने भूकम्पबाट दुई सय ३४ जनाको मृत्यु भएकाले धेरैले गाईजात्रा निकाल्ने भएपछि बिहानैदेखि सुरु भएको छ। काठमाडौँ उपत्यकामा मनाइने गाईजात्रामध्ये भक्तपुरको जात्रा पृथक, मनोरञ्जनात्मक एवम् व्यङ्ग्यात्मक हुने गर्छ। ‘गिनित्वाङ, गिनित्वाङ, घ्यान्ताङ घिसिङ त्वाङ, ताहामचा गना ते ग्वाङखङ् प्वाले ते, ग्वाङ प्वाले मन्ह्यसा खुसिङ चुइक छोय’ भनेर नाचिने आकर्षक घिन्ताङ घिसी नाचको चर्चा पनि यस अवसरमा बढी हुने गर्छ।  एक वर्षभित्र मरेका आफन्तको दिवङ्गत आत्माले मोक्ष प्राप्त गरून्, गाईको पुच्छर समातेर वैतर्णी तर्दै स्वर्ग जानु भन्ने उद्देश्यले प्रत्येक वर्ष श्रावण शुक्ल प्रतिपदाका दिनदेखि श्रीकृष्ण जन्माष्टमीसम्म गाईजात्रा मनाइन्छ। हिन्दू धर्मग्रन्थ पद्मपुराणमा उल्लेख भएअनुसार यमलोकको मुख्य ढोका वर्षभरि बन्द रहने गरेकामा मर्त्यलोक अर्थात् पृथ्वीलोकमा गाईजात्रा निकालेपछि खुल्ने गर्छ। त्यस दिन मृतात्माले यमलोक प्रवेश पाई मुक्ति पाउने उल्लेख गरिएको संस्कृतकर्मी ओम धौभडेल बताउँछन्। विभिन्न घर तथा टोलबाट निकालिएको गाईजात्रा दरबार स्क्वायर, बालाखु गणेश, चोछेँ, भोलाछेँ, महालक्ष्मी, नागपोखरी, क्वाठण्डौँ, नवदुर्गास्थान, सूर्यमढी, दत्तात्रय, सुकुलढोका, गोलमढी, तौमढी, पोटरी स्क्वायर, वंशगोपाल, इताछेँ र खौमाको परिक्रमा गराउने गरिन्छ। जात्रामा विभिन्न हास्यव्यङ्ग्य चित्रसमेत हात हातमा बोकेर प्रदर्शन गरिएको छ।  -

0 comments:

Post a Comment