Wednesday, August 26, 2015

दाङमा तीनवटा दुर्घटना, ४६ घाइते ९ गम्भिर


दाङमा बुधबार भएका तीन वटा सवारी दुर्घटनामा परी ४६ जना घाईते भएका छन्। घाईते मध्ये ९ जनाको अबस्था गम्भिर रहेको छ।

रोल्पाबाट तुलसिपुरका लागि छुटेको रा १ ख ८३९ नम्बरको बस घोराही लमही सडक खण्डको लक्ष्मीपुर १ बबई खोलामा पल्टिँदा २७ जना यात्रु घाईते भएको दाङ जिल्ला प्रहरी प्रमुख कुबेर कडायतले जानकारी दिए।

दुर्घटनामा परी गम्भिर घाईते हुनेहरुमा घोराही ४ का २१ बर्षिय सुरेन्द्र सुनार, लक्ष्मीपुर ६ की ११ बर्षिया झरना नेपाली र तुलसिपुर नगरपालिका १६ निबासी २९ बर्षिय दिनेश चौधरी रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले जानकारी दिएको छ। घाईते तीनै जनाको नेपालगञ्जमा उपचार भइरहेको छ।

अन्य २४ जनाको राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा उपचार पछि फर्किएको प्रहरीले बताएको छ। यसैबीच रामपुरबाट घोराही आउँदै गरेको जिप घोराही ४ वडरीमा दुर्घटना हुँदा १६ जना घाईते भएका छन्। ओरालो झर्दै गरेको रा १ ज ४ ०३ नम्बरको जिप ब्रेक फेल भएर दुर्घटना हुदा चालक सहित १५ जना घाईते भएका हुन्।

अनियन्त्रीत भएको जिपले रा २ प १६४४ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा लक्ष्मीपुर ९ निबासी ३८ बर्षिय खिमलाल गिरी गम्भिर घाईते हुनुभएको छ। गिरीलाई घोराहीमा प्राथमिक उपचार पछि थप उपचारका लागि नेपालगञ्ज लगिएको छ।

ट्याक्सीका गम्भिर घाइतेहरु चालक लक्ष्मीपुर ७ का गिरीराज घर्ती, यात्रुहरु रामपुर ६ का ४० बर्षिय प्रभा चौधरी, ३४ बर्षिय शिबकुमार खत्री, रामपुर ४ का शुशिला चौधरी र ६० बर्षिय भुबनेश्वर पाण्डेलाई घोराहीमा प्राथमिक उपचार पछि थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको ट्राफिक प्रमुख बिरबहादुर थापाले जानकारी दिए।

घोराही लमही सडकखण्डको कटुवाखोलामा पुल बन्ने भएपछि सडक बिग्रीएको र डबरी हुदै चौघेराबाट कच्ची सडकमा सवारीका साधनहरु सञ्चालन हुँदै आएका थिए।

यसैबीच दाङको तुलसीपुर ६ रजौरामा मोटरसाईकल आपसमा ठोक्किँदा ३ जना घाइते भएका छन्।

रा २ प ४८९५ नम्बरको र रा २ प ७२७४ नम्वरको मोटरसाइकल रजौरामा ठोक्किँदा तुलसीपुर १२ टरीगाउँका २५ वर्षिय जनक चौधरी, तुलसीपुर कपडादेविका ४२ वर्षिय सोमप्रसाद छन्त्याल र रजौराका ६ बर्षिय समीत रावत घाइते भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ। घाइते सबैको दिर्घायू पोलिक्लिनिक तुलसिपुरमा उपचार भइरहेको छ।

0 comments:

Post a Comment