Monday, August 3, 2015

भेनिसमा छानियो 'कालो पोथी'


काठमाडौं- नेपाली फिल्म 'कालो पोथी' विश्वको सबैभन्दा पुरानो फिल्म महोत्सवमा छानिएको छ। मीनबहादुर भामद्वारा निर्देशित उक्त फिल्म इटालीको भेनिस इन्टरनेसनल फिल्म फेस्टिभलका लागि छनोट भएको हो। फेस्टिभलको ७२ औं संस्करण आगामी भदौ १६ देखि २६ सम्म हुनेछ। महोत्सवको 'इन्टरनेसनल क्रिटिक्स विक' समूहमा अस्ट्रेलिया, बेलायत, पोर्चुगल, चीन, टर्की, सिंगापुर लगायत देशका नौवटा फिल्मसहित नेपालको 'कालो पोथी' समावेश भएको हो। समूहका १० फिल्ममध्ये सात फिल्मबीच प्रतिस्पर्धा हुनेछ। यो समूहको कार्यक्रम इटालीको फिल्म समीक्षक राष्ट्रिय युनियनले गर्दै आएको हो। 'हाम्रो फिल्म भेनिसको मुख्य प्रतिस्पर्धामा छानिएको होइन, तर क्रिटिक्स विक्समा पनि संसारका सयौं फिल्मबीच कठिन प्रतिस्पर्धा हुन्छ, यसमा पर्नु हाम्रो लागि ठूलो उपलब्धि हो,' निर्देशक मीनले आइतबार नेपाल पर्यटन बोर्डमा आयोजित पत्रकार सम्मेलनमा भने, 'यसपालि क्रिटिक्स विकमा कान्स र बर्लिनमा पुरस्कृत फिल्मकर्मीका फिल्म पनि समावेश गरिएको छ, प्रतिभाशाली निर्देशकहरुसँग नाम जोडिन पाउनु खुसीको कुरा हो।' निर्देशक मीनले दुई–तीन पृष्ठको कथा सुनाउने बित्तिकै आफू प्रभावित भएको 'कालो पोथी'का निर्माता छिरिङरितार शेर्पाले बताए। 'यसको कथा युनिभर्सल भ्यालु भएको छ, नेपाली फिल्महरु यसअघि पनि विभिन्न महोत्सवमा छानिँदै आएको छ, तर यो भेनिसलाई कान्स र बर्लिनसहित संसारका उत्कृष्ट तीन महोत्सवमा राखिन्छ,' छिरिङले भने, 'मलाई निर्माता भएर काम गर्ने अवसर दिएकोमा मीनप्रति म आभारी छु।' नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय उचाइमा पुर्यातइदिएकोमा 'कालो पोथी' समूहलाई चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राईले बधाई दिए। नयाँ शैलीमा फिल्म बनाउने फिल्मकर्मीको नेपाललाई निकै आवश्यकता रहेको राईले बताए। 'मीनजीहरुले धेरै दुःख गर्नुभएर नै यो अवस्थामा आइपुग्नुभएको होला, उहाँहरुलाई भेनिस फिल्म महोत्सवमा थप सफलता मिलोस्,' राईले शुभकामना दिए। 'हजारौं दर्शक र सयौं फिल्मकर्मीको जमघट हुने भेनिस फिल्म फेस्टिभलमा 'कालो पोथी'को उपस्थिति हुनु भनेको नेपालको प्रवर्द्धन हुनु हो,' नेपाल पर्यटन बोर्डका अधिकृत सूर्य थपलियाले भने, 'वास्तवमा कुनै पनि देशको पर्यटन प्रवर्द्धनमा फिल्मले ठूलो भूमिका खेल्नसक्छ, यो फिल्मले पनि नेपालको पयर्टनलाई फाइदा पुग्नेछ भन्ने हाम्रो विश्वास छ।' भेनिसमा 'कालो पोथी'लाई दिइने स्टलबाट नेपालको पर्यटनलाई कसरी प्रवर्द्धन गर्न सकिन्छ भन्नेबारे योजना बनिरहेको थपलियाले सुनाए। स्थानीय संस्कृति र प्राकृतिक सौन्दर्यको प्रवर्द्धन 'कालो पोथी'ले पनि गर्नेछ भन्ने विश्वास उनले प्रकट गरे। 'कालो पोथी'को अनुभव अद्वितीय रहेको अभिनेत्री बेनिशा हमालले बताइन्। 'हामीले लोकेसनमै कार्यशाला गर्‍यो, खस भाषा सिक्न निकै गाह्रो भएको थियो, तैपनि हामीले मिहेनत गरेका छौं,' उनले भनिन्, 'फिल्मको गम्भीर पक्ष कस्तो हुन्छ यसमा देखेँ, यसको अनुभवले मलाई धेरै कुरा सिकाएको छ।' स्वीजरल्यान्डको ५० हजार स्विस फ्रान्क, जर्मनीको ३० हजार युरो र फ्रान्सको एक लाख १० हजार युरो लगानी रहेको 'कालो पोथी'मा जम्मा तीन करोड रुपैयाँ खर्च भएको निर्माता छिरिङले खुलाए। निर्देशक मीनबहादुरका अनुसार फिल्मलाई नेपालसहित ३४ वटा देशमा रिलिज गर्नका लागि फ्रान्सको वितरक कम्पनीले गृहकार्य गरिरहेको छ। आइतबारको पत्रकार सम्मेलनमा फिल्मकी एक निर्माता अन्ना क्याचकोले स्काइपबाट सबै टिमलाई बधाई दिइन्। मीनबहादुर र अविनाश विक्रम शाहले लेखेको फिल्ममा देवकी राई र अनुप थापा पनि निर्माता रहेका छन्। काजकिस्तानका अजिज झाम्बाकिभको छायांकन, निमेष श्रेष्ठको सम्पादन, जेसन कुँवरको संगीत रहेको फिल्ममा खड्काराज नेपाली, शुक्रराज रोकाय, जीतबहादुर मल्ला, हंश खड्का, नन्दप्रसाद खत्री, विपिन कार्की र प्रवीण खतिवडालगायतको मुख्य अभिनय छ।

0 comments:

Post a Comment