सामाखुसी युवा क्लबमार्फत समाजसेवीको छवि बनाउँदै गरेका डन कुमार घैँटे मारिएपछि काठमाडौँ पुलिस र गुण्डाबीच दुस्मनी चुलिएको छ । प्रहरीले छोरीलाई स्कुल पु¥याएर फर्कँदै गरेका घैँटेलाई हत्या गरेपछि घैँटेका समकक्षी सानुभाइ भनिने युवराज गुरुङले प्रहरीलाई टार्गेट बनाइरहेका छन् । स्रोतका अनुसार दाइ मार्नेलाई छाड्दैनौँ भन्दै सामाखुशीका गुण्डासँग मिटिङ बसिरहेका छन् सानोभाइ ।
राजनीतिक संरक्षणमा गुण्डागर्दी गर्दै आएका प्रायः गुण्डालाई आफ्नै अभिभावकसरहका नेताकै मिलेमतोमा इन्काउन्टर हुने पीडा जति छ, लेनदेन विवादमा, पुराना रिसिइबीका कारण प्रहरीको खतरा पनि उत्तिकै छ । धादिङका दिनेश अधिकारी ‘चरी’लाई पनि लेनदेनकै विवादमा मारिएको धेरैले टिप्पणी गरेका छन् । घैँटेको सन्दर्भमा पनि अहिलेका एसएसपी सर्वेन्द्र खनालसँगको दुश्मनी काँग्रेस गुटीय राजनीति नै मृत्युको कारण हुनसक्ने प्रहरीकै एउटा तप्काको विश्लेषण छ । तर घैँटे हत्याले फेरि प्रहरीलाई खतराको घण्टी बजाइदिएको छ । किनकी कतिपय असुली धन्दामा प्रतिशत खाने प्रहरीकै वरिष्ठ अधिकृतसमेत छन् ।
जसका कारण काठमाडौँमा असुली धन्दाले तिब्रता पाएको हो । घैँटेले नै पनि प्रहरीलाई निश्चित कमिसन दिने गरेको बताउँदै आएको थियो । त्यसैले प्रहरी र गुण्डाको भित्री रिलेसनले प्रहरीकै हत्या हुनसक्ने खतरा बढेको हो । स्रोतका अनुसार पुराना डन भागाभाग भए पनि नयाँपुस्ताका गुण्डाले प्रहरीलाई एक दुई जनालाई टार्गेट गरेर पुरै गुण्डा कमजोर नभएको संकेत दिन थालेका छन् । कुमार घैँटेको हत्यापछि काठमाडौँ झन् गुण्डामय हुने भएको छ । कारण गुण्डामा पलाएको प्रतिशोधी भावना नै हो ।
सामाखुसीमा नयाँ ग्याङको उदय
कुमार घैँटेको हत्यापछि सामुदायिक प्रहरीमा जोडिएर गुण्डागर्दी आएका साजन महर्जनले आफ्नो बिरासत एकलौटी बनाउने भएका छन् । नुवाकोट तरुण दलका नेता माइला लामाले माछापोखरीलगायत क्षेत्रमा एकलौटी असुल उपर गर्ने देखिन्छ । रसुवाका नेविसंघ राशी अधिकारी समेत गुण्डागर्दीमा बालाजु एरियामा आफ्नो वर्चस्व कायम गर्न चाहिरहेका छन् । गुण्डासँग लामो समय संगत गरेका एक व्यक्ति भन्छन्, ‘बर्दी लगाएर हत्या गर्ने अधिकार पुलिसलाई छैन । मान्छे मार्न थालेपछि ठूला ग्याङले सामुहिक प्रतिकार पुलिसमाथि गर्नैपर्ने हुन्छ । हाम्रैबाटै कमिसन खाने अनि हाम्रै छातीमा होली हान्ने । गुण्डा पनि पुलिसले नै बनाएका होइनन् र ?’
यी पनि छन् निगरानीमा
प्रहरीको गोप्य स्रोतसँग सम्बन्धित एक गोप्य जानकारीअनुसार कुमार घैँटेपछि प्रहरीले साजन महर्जनलाई पनि निगरानीमा राखेको छ । त्यस्तै तेजेन्द्र गुरुङ, रोसन तामाङ पनि प्रहरीको निगरानीमा छन् । राधे भण्डारी र मीनकृष्ण महर्जनलाई समेत प्रहरीले हटफाइभ लिष्टमा राखेर निगरानी बढाएको छ ।
दोर्जेको समेत संकेत
श्रीमतीलाई चर्चको पास्टर बनाएर विभिन्न गुण्डासँग सम्बन्ध बनाउँदै आएका मोरङका दोर्जे तामाङले समेत दीपक मनाङेलाई धम्की दिइरहेका छन् । दाइ, तपाईं होइन, म डन बन्छु भन्दै अपिल गरेपछि ठमेलको कर्मचारी सञ्चय कोष अगाडि मनाङे ठूलो स्वरमा हाँसेका थिए । गणेश लामालाई समेत झिनामसिना भनेपछि दोर्जेसँग लामा रिसाएका थिए । तर दोर्जेले डनगिरीलाई भने कायम गर्न सकेका छैनन् ।
प्रहरीकै गुप्तचरहरु चुहाउँछन् सूचना ?
घैँटे मारिनु एक वर्षअगाडि नै एक गुप्तचरले घैँटेको इन्काउन्टर भदौसम्ममा हुने सूचना चुहाउँदै हिँडेका थिए । डिल्लीबजार र बागबजारमा बढी देखिने ती गुप्तचरले बागबजारको आराधना क्याफेमा रोज राणासँग भनेका थिए, ‘भाइ यही वर्ष कुमारको पनि इन्काउन्टर हुँदैछ, बचेर हिँड्नु ।’
पचासौँ हजार तलब खुवाएर गुप्तचरीको गोप्य सूचना दिने त्यस्ता व्यक्ति गुण्डालाई तर्साउँदै लाखौँ उठाइरहेका छन् । घैँटेलाई समेत गुप्तचरले पुलिसले मार्न आँटेको खबर पु¥याइसकेका थिए । त्यही सन्दर्भमा ललितपुरबाट निस्कने सुबिन श्रेष्ठको अनलाइन पत्रिका दैनिकमा ‘मेरो इन्काउन्टर हुँदैछ’ भन्ने अन्तर्वार्ता छपाएका थिए घैँटेले ।
यस्ता अयोग्य गुप्तचरका कारण प्रहरीले गर्ने प्रायः गोप्य अप्रेसन सधैँ फितलो हुने गरेका छन् । जसका कारण इन्काउन्टर भन्दा त्यस्ता घटनामा हत्या नै हो भन्ने सन्देश जनमानसमा रहने गरेको छ । – व्यक्त जनविचार साप्ताहिकबाट
0 comments:
Post a Comment