दक्षिण एसियामै धेरै किशोर फुटबल खेलाडीले सपनामा मात्र सोच्न सक्छन्, युरोपमा प्रशिक्षण लिने र पछि त्यहीं खेल्ने । विमलले केही हदसम्म त्यसलाई आत्मसात् गरिसकेका छन् । उनले युरोपमा खेल्ने नखेल्ने विषय भविष्यले तय गर्नेछ ।
अहिले काठमाडौंमा यू–१९ साफ च्याम्पियनसिप चलिरहेको छ । विमलकै नेतृत्वमा नेपाली टिमले खेलिरहेको छ । नेपाल प्रतियोगिताको समूह ‘ए’मा छ र भुटानलाई पहिलो खेलमा ३–१ ले हराउन सफल रहेको थियो । नेपाल प्रतियोगिताको सेमिफाइनल पनि पुगिसकेको छ, किनभने समूहको अर्को टिम बंगलादेशले पनि भुटानलाई २–० हराइसकेको छ ।
आज समूहको शीर्ष स्थानमा रहने टिमको निर्णय गर्न नेपाल र बंगलादेश सातदोबाटोको एन्फा कम्प्लेक्सको टर्फ मैदानमा भिड्ने छन् । दुवै टिम अन्तिम चार पुगिसकेको स्थितिमा आरामले खेल्ने अवसर पनि हुनेछ । तर सेमिफाइल समीकरणका दृष्टिकोणले दुवै टिमका लागि समूहको शीर्ष स्थानमा रहनु पनि उत्तिकै आवश्यक पनि छ । किनभने यसको अर्थ हो, सेमिफाइनलमा बलियो भारतको सामना गर्नबाट बच्नु ।
नेपालले भुटानलाई पराजित गर्दा तीनै गोल विमलले गरेका थिए । त्यस ह्याट्रिकको पहिलो र तेस्रो गोल अब्बल दर्जाको थियो । विमलले देखाएका थिए, उनमा अरु खेलाडीको तुलनामा केही विशेष क्षमता छ । अझ भनौं, भुटानले एक खेलाडीका रूपमा विमललाई रोक्न सकेको थिएन, भलै नेपाली टिमको प्रदर्शन राम्रो हुन सकेको थिएन । धेरैले नेपालको खेलको आलोचना नै गरे ।
यसरी आलोचना गर्ने एक थिए, टिमका प्रशिक्षक बालगोपाल महर्जन स्वंय । उनी भन्थे, ‘नेपाली टिमले भुटानविरुद्ध जस्तो खेल्ने अपेक्षा थियो, त्यसको छेउछाउ पनि खेल्न सकेन । खालि विमल मात्र राम्रो भएर पुग्दैन ।’ तर ठीक यही बेला विमल नै टिमको प्रमुख अस्त्र रहेको तथ्य पनि कसैबाट लुकेको छैन ।
यस्तोमा प्रशिक्षक महर्जन पनि मान्छन्, विमलबाट धेरै अपेक्षा हुनु स्वभाविक हो । विमल आफैं पनि के मान्छन् भने आफ्नो खेल त एक हदसम्म ठीक छ र तर के टिमका बाँकी खेलाडी उनलाई उत्तिकै साथ दिन तयार छन् त ? बंगलादेशले भुटानलाई हराएयता उसका प्रशिक्षक साइफल टिटु पनि आफ्नो खेलको विश्लेषण भन्दा बढी विमलमै केन्द्रित हुन रूचाए । उनले विमलको प्रशंसा गर्न बिर्सेनन् र उनी आफ्नो टिमका लागि सबैभन्दा ठूलो समस्या हुन सक्ने पनि माने ।
यस्तोमा प्रश्न उठ्नु स्वभाविक छ, के विमल ‘एक्स फ्याक्टर’ हुन सक्छन् त ? उनले राम्रो खेल्ने छन् र आफ्नो टिमको प्रदर्शनलाई पनि माथि उचाल्न सक्ने छन् त ? यो प्रश्न आजको खेलमा मात्र सीमित हुने छैन । एक अर्थमा आजको खेल औपचारिक मात्र हो, नेपाल सेमिफाइलन पुगिसेको छ । नेपालका लागि लागि अर्को समूहबाट भारत प्रतिद्वन्द्वी परोस् अथवा अफगानिस्तान, त्यसमा धेरै ध्यान दिनु पनि ठीक हुन्न ।
राष्ट्रिय टिम अथवा उमेर समूहमै सही, अथवा महिला फुटबलमै, नेपालले उपाधि नजितेको धेरै भइसकेको छ । अहिले आफ्नै घरेलु मैदानमा खेल्ने अवसर प्राप्त छ । नेपालका लागि यू–१९ साफ च्याम्पियनसिप जित्ने यो भन्दा राम्रो अवसर प्राप्त हुन गाह्रो छ । तर यसका लागि त्यही आवश्यकता प्रश्न बनेर अगाडि आउने छ– विमल ‘एक्स फ्याक्टर’ हुन सक्छन् त ? अपेक्षा गरौं, यस्तो हुनेछ ।
0 comments:
Post a Comment