Friday, August 7, 2015

अधिकार माग्दै राउटे सिंहदरवार पस्दा … (फोटो फिचरसहित)


२२ साउन, काठमाडौं । लोपोन्मुख राउटे जनजातिलाई पनि संविधानमा समेट्न माग गर्दै राउटेले संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई नौबुँदे ज्ञापनपत्र प्रदान गरेका छन् । राउटे समुदायका सहायक मुखिया शिवराज साहीसहितका छजना राउटेले शुक्रबार बुझाएको ज्ञापनपत्रमा अझैपनि आफूहरू जङ्गल छाडेर जाने इच्छा नभएकाले आफ्नो भाषा, संस्कृति, वेशभूषा र धर्म लोप हुन नदिन भावी संविधानमा किटानीका साथ उल्लेख गर्न माग गरेका छन् । उनीहरुले कानुनीरूपले लोपोन्मुख राउटे आदिवासी जनजाति उल्लेख हुनुपर्ने, आफूहरू रहेकै स्थानका प्रदेश, सङ्घ र स्थानीय निकायमा राउटेबाट पनि प्रतिनिधित्व गराइनुपर्ने, आत्मसम्मानपूर्वक बाँच्न पाउने सुनिश्चितता गरिनुपर्ने, आरक्षणअन्तर्गत सरकारी सेवा र शिक्षा क्षेत्रमा आफूहरूका लागि सिट सङ्ख्या तोकिनुपर्ने, आफ्नो संस्कृति जोगाउन सङ्ग्रहालय स्थापना गरिनुपर्ने, सुलभ तरिकाले नागरिकता प्रदान गरिनुपर्ने, समावेशी आयोगमा आफूहरुबाट एकजना सदस्य राखिनुपर्नेजस्ता माग ज्ञापनपत्रमा उल्लेख गरेका थिए ।

छजना राउटेको प्रतिनिधित्व गरेका सहायक मुखिया साहीले दसैँ तिहार र माघीजस्ता चाडपर्वमा खाद्यसामग्री जुटाउनका लागि आफूहरु काठमाडौं आएको बताएपछि संविधानसभा अध्यक्ष नेम्वाङले प्रधानमन्त्रीसमक्ष राख्ने र सरकारबाट आवश्यक पहल हुने जानकारी दिए । नेम्वाङले राउटे समुदायबाट प्रस्तुत मागपत्रले संविधान निर्माणको क्रममा जनताबाट रायसुझाव लिनेक्रमले स्थायित्व पाउनुका साथै ऐतिहासिक बिन्दुमा बताए । भेटमा राउटे समुदायका तर्फबाट अध्यक्ष नेम्वाङलाई काठको बाकस प्रदान गरिएको थियो भने अध्यक्ष नेम्वाङले उहाँहरुलाई भादगाउँले टोपी र कछाड प्रदान गरे ।

0 comments:

Post a Comment