Wednesday, August 5, 2015

राजस्थानबाट संगीत खोज्दै काठमाडौं


काठमाडौ, श्रावण २० - पशुपति ताम्राकारका पुर्खा कीर्तिपुरबाट भारतको राजस्थान गए। उनी उतै जन्मिन्, हुर्किन्। नेपाली बोल्छिन्। जिब्रोमा राजस्थानी लवज आउँछ। संगीतमा स्नातकोत्तर उनले भर्खरै पाँच नेपाली गीत समेटेर एल्बम निकालेकी छन्। ‘आवर्तन’ एल्बममा पनि कताकति झल्किइहाल्छ, भारतीय छनक।

केही महिनाअघि काठमाडौं आउँदा उनले संगीतकार सुरेश अधिकारी र महेश खडकाको संगीतमा आधुनिक गीतहरू गाएकी थिइन्। त्यसपल्ट चर्चा–परिचर्चा गराउने मेसो मिलेन। संगीतकार पारस मुकारुङले उनलाई नेपाली कलाको संसारमा अभ्यस्त गराइरहेका छन्।


यसअघि हिन्दी भजन संग्रह ‘मेहर मैया धी’ मा स्वर दिइसकेकी पशुपतिले आधा दर्जन एल्बममा संयुक्त गायन गरेकी छन्। ‘आवर्तन’ मा ‘तिमी पागल बनाउँछौ...’, ‘मलाई बुद्धले देखाएको शान्तिको मार्ग...’, ‘धनगढी कैले आउला रेल...’, ‘मेरो भाग्य खोटो...’ जस्ता गीत छन्। ‘नेपाली संगीतकै छुट्टै एल्बम गर्ने धोको थियो, यसपालि बल्ल पूरा भयो,’ कान्तिपुरसँग पशुपतिले भनिन्, ‘धेरै खाले संगीतमा गाएकी छु, तर नेपाली गीतको मौलिकता अरू कुनै पनि संगीतसँग दाज्न मिल्दैन।’

भारतीय संगीत, फिल्म, खाना, रहनसहनले नेपाली जीवनमा धेरै प्रभाव पार्छ। नेपालले सीमापारमा आफ्नो वर्चस्व पार गर्ने मौका कहिले पाउला? राजस्थान विश्वविद्यालयमा पीएचडी तयारीमा रहेकी पशुपतिसँग यसको सटिक जवाफ छ, ‘नेपालमा राजनीतिक स्थायित्व जति छिटो हुन सक्यो, त्यति नै छिटो हामी विश्व संगीत र कलाको मानचित्रमा फैलनेछौं।’

0 comments:

Post a Comment