Tuesday, August 11, 2015

जुम्लामा नेपाली काँग्रेसको कार्यालयमा आगजनी


जुम्ला, २६ साउन । अखण्ड कर्णालीको माग गर्दै आन्दोलनकारीले आज जुम्ला सदरमुकाम खलङगास्थित नेपाली काँग्रेसको कार्यालयमा आगजनी गरेका छन् । विशेष अधिकारसहितको स्वायत्त कर्णाली प्रदेशको माग गर्दै आन्दोलनकारीले लगातार दोस्रो दिन पनि आन्दोलन जारी राखेका छन् । नारा जुलुससहित आएको आन्दोलनकारीको एक समूहले काँग्रेस कार्यालयमा आगजनी गरेको प्रमुख जिल्ला अधिकारी दीपेन्द्रराज पौडेलले जानकारी दिनुभयो ।


तत्काल सुरक्षाकर्मी परिचालन गरी आगो निभाइएको उहाँले बताउनुभयो । आगजनीबाट कार्यालयमा रहेका कुर्सी र टेबुल जलेर नष्ट भएका छन् । प्रहरीले भीडलाई तितरबितर गर्न सात राउन्ड अश्रुग्यास प्रहार गरेको थियो । यस्तै, आन्दोलनकारीले खलङ्गास्थित नेकपा (एमाले)को कार्यालयमा समेत तोडफोड गरेका छन् ।
आन्दोलनकारीले ‘कर्णाली मिच्न पाइँदैन, सुदूरपश्चिम चाहिँदैन’ भन्ने नारा लगाउँदै अहिले जिल्ला प्रशासन कार्यालय अघिल्तिर टायर बालेर नाराजुलुस गरिरहेका छन् । स्थानीय प्रशासनले ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरेको जनाएको छ । आन्दोलनले उग्ररुप लिएको भन्दै प्रजिअ पौडेलले राजनीतिक दलका स्थानीय नेताहरुलाई आ–आफ्ना कार्यकर्तालाई सम्झाउन आग्रह गर्नुभएको छ । आन्दोलनका कारण आज बिहानैदेखि खलङ्गा बजार, शिक्षण संस्था र सरकारी कार्यालयसमेत बन्द छन् ।

0 comments:

Post a Comment