Saturday, August 8, 2015

सशस्त्र र नेपाल प्रहरीबीच झडप, दवैतर्फ गरी चार घाइते


पर्वत, साउन २४ – ड्युटी समयमा पर्वत सदरमुकाम कुश्माबजारमा घुमिरहेको प्रहरी टोली र सिभिल पोसाकमा रहेका सशस्त्रबीच झडप हुँदा चारजना घाइते भएका छन् । नेपालकै अग्लो कुश्माकैया झोलुंगे पुलनजिकै झडप भएको हो । शनिबार साँझ करिब ६ बजे जिल्ला प्रहरी कार्यालय पर्वतबाट ड्युटीमा खटिएको प्रहरी टोली र सशस्त्र प्रहरी बल चण्डिका गणका सशस्त्रबीच विवाद भएको थियो । के विषयमा विवाद भएको भन्ने खुल्न सकेको छैन । तर, मदिरा सेवन भएकै कारण झडप भएको स्रोतले बताएको छ । घाइते हुनेमा सशस्त्र प्रहरी हवल्दार खगेन्द्रप्रसाद जोशी र तारा सुनार छन् । नेपाल प्रहरीका नमबहादुर गुरुङ र डोलराज थापा पनि घाइते छन् । विवाद उत्पन्न भएपछि ड्युटीमा रहेको नेपाल प्रहरीको समूहले सशस्त्र प्रहरीलाई बन्दुकको नालले हानेको जनाइएको छ, आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

0 comments:

Post a Comment