काठमाडौं–६ प्रदेश बनाउने सहमति गर्दा बागलुङ जिल्ला टुक्र्याएको भन्दै धौलागिरीका सभासदले आपत्ति जनाएका छन् । उनीहरुले आइतबार प्रमुख दलका शीर्ष नेतालाई भेटी कुनैपनि जिल्ला टुक्र्याउने निर्णय आफूहरुलाई मान्य नहुने बताएका हुन् ।
बागलुङ टुक्र्याउन नहुने भन्दै धौलागिरीबाट संविधानसभामा प्रतिनिधित्व गर्ने १४ सभासदले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेललाई भेटी जिल्ला टुक्र्याउने निर्णय फिर्ता लिन आग्रह गरेको सभासद ज्ञानकुमारी छन्त्यालले जानकारी दिइन । 'बेलुका सुत्दा बागलुङ सिंगै थियो विहान उठ्दा त टुक्रिसकेछ,' राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भने,'बागलुङका कुनै पनि सभासदलाई एक बचन नसोधी जिल्ला टुक्र्याइयो ।' उनले कुनै पनि हालतमा जिल्ला टुक्र्याउन नपाइने बताए ।
सभासदहरुले यसअघि दलहरुबीच १६ जिल्ला र धौलागिरीलाई समेटेर प्रदेश बनाउने आश्वासन आफूहरुलाई दिएको तर शनिबार १२ राति जिल्ला टुक्र्याएको भन्दै आपत्ति जनाए । 'यो निर्णय तत्काल फिर्ता नलिए हामी आमरण अनशन बस्न बाध्य हुन्छौं,' सभासद ज्ञानकुमारी छन्त्यालले भनिन् । आफूहरु विहानै उठेदेखि शीर्ष नेताको घर घरमा पुगेर जिल्ला टुक्र्याउने निर्णय फिर्ता दिन आग्रह गरेको, त्यसको सुनुवाई नभए आन्दोलन गर्ने उनको भनाइ थियो । धौलागिरीका सभासदले अहिले संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराईलाई पनि ज्ञापनपत्र बुझाएका छन् ।

यो समाचारसंग सम्बन्धित भिडियो तल छ, हेर्नका लागि विचमा थिच्नुहोस्
Posted in: News
0 comments:
Post a Comment