Tuesday, August 4, 2015

महानगरपालिकाले साझामा लगानी गर्ने ३० वटा बस थपिने


काठमाडौ, श्रावण २० - काठमाडौं महानगरपालिकाले साझा यातायातको सेवा विस्तारका लागि १० करोड रुपैयाँ बराबरको सेयर लगानी गर्ने भएको छ। उक्त रकमबाट महानगरपालिकाले साझा यातायातलाई बस खरिद गरिदिने भएको हो। साझा यातायातले हाल लगनखेल–रत्नपार्क–महाराजगन्ज–गोंगबु नयाँ बसपार्क र स्वयम्भू–कलंकी–रत्नपार्क–कमलपोखरी–गौशाला–एयरपोर्टभित्र गरी दुई वटा रुटमा १६ वटा बस सञ्चालन गर्दै आइरहेको छ। उपत्यकामा थप बस सञ्चालन गर्नका लागि असार १५ मा साझा यातायातले महानगरपालिकासँग सहकार्यका लागि अनुरोधसहितको लिखित प्रस्ताव राखेको थियो। महानगरपालिकाले प्रस्ताव स्विकार्दै १० करोड रुपैयाँ बराबरको बस खरिद गरी हस्तान्तरण गर्ने निर्णय गरेको हो।

साझा यातायातले यसअघि प्रतिबस ३५ लाख रुपैयाँमा खरिद गरेको थियो। त्यही हिसाबमा अहिले महानगरको रकमबाट लगभग ३० वटा बस खरिद गर्न सकिने बताइएको छ। त्यस्तै, साझा यातायातमा रकम चुहावट रोक्न, यात्रुलाई सेवा सुविधा दिन नेपाल बैंक लिमिटेडसँगको सहकार्यमा भदौ १ गतेदेखि परीक्षणका रूपमा बहुउद्देश्यीय ई–कार्ड सञ्चालनमा ल्याउने तयारी गरिएको छ। उक्त कार्ड यात्रुले चढदा र ओर्लिंदा बसमा रहेको कार्ड रिडरमा देखाएपछि भाडा बराबरको रकम आफैं काटिन्छ। एउटा कार्डको मूल्य १ सय ५० रुपैयाँसम्म पर्छ। कार्डको म्याद २ वर्षको हुनेछ। कार्ड हराएमा पुन: बनाउन २ सय रुपैयाँ लाग्ने साझा यातायात केन्द्रीय कार्यालयका प्रबन्धक महेन्द्रराज पाण्डेयले बताए। ‘यसका लागि बैंकसँग सम्झौता भइसकेको छ,’ उनले भने।
उक्त कार्डमा मोबाइलमा रिचार्ज गरेजस्तै गरी पैसा राख्न सकिने उनले बताए। रिचार्ज गरेबापत नेपाल बैंकले ४ प्रतिशत रकम कटौती गर्नेछ। उक्त ४ प्रतिशत बराबरको रकम साझा यातायातले छुट दिने व्यवस्था मिलाइएको प्रबन्धक पाण्डेयले बताए। ‘बिहान ६ देखि बेलुका ९ बजेसम्म सञ्चालन गर्दै आइरहेकोमा थप बस झिकाएपछि रात्रिसेवा पनि सञ्चालन गर्ने लक्ष्य रहेको छ,’ उनले भने।

0 comments:

Post a Comment