सहयोग माग्न भारत जाने सभासदमा संघीय समाजवादी फोरम नेपालका अभिषेकप्रताप साह, तराई–मधेस लोकतान्त्रिक पार्टीका बृजेशकुमार गुप्ता र सद्भावना पार्टीका नरसिंह चौधरी तथा संघीयता समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य सराम यादव छन्। सरकारले तराईमा आन्दोलन चर्काउन 'दक्षिण' (भारत) बाट मानिस आएको संसदलाई जानकारी गराइरहेकै समयमा नेपालका सभासदले भारतीय सांसदसँग सहयोग माग्नुलाई अर्थपूर्ण रूपमा लिइएको छ।
मंगलबार मध्याह्न कृष्णनगर हुँदै बाहिरिएका सभासदहरू साँझ ५ बजे सोही नाका हुँदै नेपाल छिरेको सुरक्षा स्रोतले जनाएको छ। उनीहरुले पालसँगको भेटपछि पत्रकार सम्मेलनसमेत गरेका थिए। नेपाली सभासदले पत्रकार सम्मेलन गरेको र भारतीय सञ्चारमाध्यमलाई आफ्ना मागलाई जोडदार रूपमा उठाइदिन आग्रह गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। फोरम नेपालका सभासद साहले पालसँग भेटेको फोटो आफ्नो फेसबुक वालमा केही समय राखेपछि हटाएका छन्।
तमलोपाका सभासद गुप्ताले आफूहरुले अघि सारेको माग पूरा गराउन सहयोग र समन्वयका लागि भारतीय सांसदसँग भेट गरेको बताएका छन्। 'नेपाल सरकारले हाम्रो माग सुनेन, नेपाल सञ्चारमाध्यमले समेत समाचार सेन्सर गरे, त्यसैले पालसँग हाम्रो माग पूरा गराउन सहयोग र समन्वयका लागि गएका हौं,' गुप्ताले नागरिकसँग भने। भेटमा पालले नेपालमा जारी आन्दोलन हिंसात्मक हुँदै गएको अवस्थामा भारतलाई प्रभाव पर्न सक्छ कि सक्दैन भन्ने चासो व्यक्त गरेको गुप्ताले बताए।
नवलपरासीदेखि कञ्चनपुरसम्म एक मधेस प्रदेश हुनुपर्ने माग गर्दै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको नेतृत्वमा आन्दोलन हुँदै आएको छ। मोर्चाको आन्दोलनका कारण दुई सातादेखि जिल्ला ठप्प छ। सभासदहरु सल्लाह नगरी भारतीय सांसदलाई भेट्न गएको भन्दै आन्दोलनकारीले असन्तुष्टि जनाएका छन्। निषेधित क्षेत्र तोड्ने कार्यक्रममा करिब हजारको संख्यामा आन्दोलनकारी भेला भए पनि सभासदहरु जानकारी नगराई हिँडेको भन्दै आन्दोलनकारी फर्किएका थिए।
0 comments:
Post a Comment