Friday, August 7, 2015

हिन्दू राष्ट्रका पक्षमा ऐक्यबद्धता




काठमाडौँ, २२ साउन । हिन्दू धर्मगुरुहरुले हिन्दू राष्ट्रको नेपाली गौरव कायमै राख्नुपर्ने बताउनुभएको छ । विश्व हिन्दू जागरण अभियान नेपालको संयोजनमा आज यहाँ आयोजित विराट् धर्मसभामा उहाँहरुले नेपाल आफँैमा ९४ प्रतिशत हिन्दूको बाहुल्य भएको राष्ट्र रहेको बताउँदै षड्यन्त्रपूर्ण रुपमा नेपाललाई धर्मनिरपेक्ष राज्यका रुपमा स्थापित गराउन खोजिएकामा आपत्ति प्रकट गर्नुभयो । कार्यक्रममा स्वामी कमलनयनाचार्यले हिन्दू राष्ट्रका पक्षमा देखिएको जनलहरले नेपाललाई हिन्दू राष्ट्रका रुपमा नै स्थापित गराउने बताउनुभयो । स्वामी डा रामानन्द गिरीले ॐकारमा आबद्ध हिन्दू धर्मावलम्बी विश्वमै सबैभन्दा सहिष्णु रहेको बताउँदै प्राचीनकालदेखि सनातन हिन्दू राष्ट्रका रुपमा रहेको राज्यलाई धर्मनिरपेक्ष बनाउन हुँदैन भन्नुभयो । स्वामी ज्ञानानन्दजीले ९४ प्रतिशत हिन्दू भएको राष्ट्रमा हिन्दू राष्ट्रको माग गर्न बाध्य हुनु दुःखद भएको बताउनुभयो । स्वामी देवराजाचार्यजीले हिन्दू राष्ट्र नेपाल विश्वकै शिर भएको बताउनुभयो । जगद्गुरु बालसन्तजीले ‘धर्ममा भएको आक्रमण’ले महात्माहरु आश्रम छाडेर बाहिर आउन बाध्य भएको बताउनुभयो । डा भोला रिजालले नेपालको पहिचान हिन्दू राष्ट्र गुम्न दिन नहुने बताउनुभयो । कार्यक्रममा विभिन्न सम्प्रदायबाट प्रतिनिधित्व गरेका धर्मावलम्बीबाट हिन्दू राष्ट्रका पक्षमा सामूहिक प्रतिबद्धता व्यक्त गरिएको थियो ।

0 comments:

Post a Comment