बसामाडी मकवानपुर जिल्लामा पर्छ । उमेर पुगेका युवती जो कोही पनि लजाउने गर्छन् यौनका कुरा गर्दा । तर, बसामाडीका युवती भने किशोरी जीवनमा आइपर्ने समस्या, अपनाउनुपर्ने सजगता र आफ्ना अधिकारलगायतका विषयमा खुलेर संवाद गर्न रुचाउन थालेका छन् ।
बसामाडीमा स्थापना गरिएको संवाद क्लब उनीहरुका लागि अहिले बरदान सावित भएको छ । समस्या पर्दा उनीहरु एकापसमा भेला भई यौनका बारेमा छलफल गर्छन् । शैक्षिक ज्ञान हासिल गर्छन् र व्यावहारिक कुरा पनि । विशाखा नेपाली संवाद केन्द्रकी सदस्य हुन्। उनी संवाद गर्न डराउँदिनन्। भाषण गर्छिन्, बोल्न र परिचय दिन अग्रसर हुन्छन् र सामूहिक छलफल तथा कार्यक्रममा समेत प्रस्तुत हुन्छन्।
‘संवाद क्लबमा आएपछि मैले धेरै सिकेँ । घरमा पढ्न मन लाग्दैनथ्यो। स्कुलमा शिक्षकको डरले पढ्न मन लाग्दैनथ्यो। तर, यहाँ आएपछि स्वतन्त्र रुपले अध्ययन गर्न पाएपछि सक्षम भएको महसुस गरेकी छु’ उनले भनिन्।
केन्द्रमा सिकेका कुरा विशाखाले घरमा गएर परिवारबीच आदानप्रदान गर्ने गरेको सुनाइनन्। ‘म ८ कक्षामा पढ्दा पनि बोल्न र परिचय दिन डराउँथे । केन्द्रमा आएपछि मनोबल उच्च बनाएको छु’ विशाखाले भनिन्।
अमृता विष्टको पनि संवाद केन्द्रमा आउनुअघि समस्या उस्तै थियो । कक्षामा बोल्न डराउने, पढ्न मन नलाग्ने र व्यवहार पनि नराम्रो । जब अमृता संवाद केन्द्रमा आउन थालिन् तब उनको व्यवहारमा परिवर्तनसँगै आफूलाई सक्षम बनाउन केन्द्रीकृत भइन्।
केन्द्रकी अर्की सदस्य अञ्जना सुनार विद्यालय नियमित नजाने, घरमा वा साथीसँग झगडा गर्ने गर्थिन्। जब उनी संवाद केन्द्रमा आउन थालिन् तब नयाँ व्यवहारमा परिवर्तन आएको बताइन्।
त्यसैगरी, इन्दिरा सुनारले तीन वर्षअघि आर्थिक अवस्था कमजोर भएको बताउँदै विद्यालय छोडेकी थिइन्। साथीसङ्गीले संवाद क्लबमा आउन आग्रह गरेपछि उनले पुनः विद्यालय जान थालिन्। अञ्जना, विशाखा र इन्दिराजस्ता २३ जना किशोरीले स्थापना गरेको संस्था नै संवाद क्लब हो । उनीहरु नियमित रुपमा सामाजिक कुरीतिविरुद्घ सशक्त छन्। जीविकोपार्जनमा सुधार ल्याउन, अन्याय, परम्परा, कुसंस्कार र छुवाछूतविरुद्ध सीमान्तकृत समुदायलाई सङ्गठित तथा क्षमतावान बनाउन नियमित रुपमा दिनको दुई घन्टा र हप्ताको छ दिन छलफल गर्छन्।
यतिखेर बसामाडी समुदायमा संवादको सकारात्मक प्रभाव पर्दै गएको छ। किशोरीमा समाजप्रतिको सकारात्मक चिन्तन बढेको छ। चाइसुकुम्बासी र जम्बुचौतारा टोलमा खानेपानीको मुहान निर्माण र सरसफाइ, चेलीबेटी बेचबिखनविरुद्ध सडक नाटक, जुवातास खेल्ने समूहविरुद्ध अग्रसरता नै दैनिकी बनेको सानुकान्छी दर्जीले बताइन्।
संवाद केन्द्रले किशोरी भवन स्थापनाका लागि प्रतिव्यक्ति रु पाँच सङ्कलन अभियान थालेको छ। यस अभियानकी संयोजक शर्मिला वर्देवा भन्छिन् – यसपालि देउसीभैलो खेलेर थप रकम जम्मा गर्छौं। हाम्रो यो अभियान समाजका कुरीतिविरुद्ध हो। किशोरी भवन महिलामाथि हुने सम्पूर्ण भेदभाव र महिला हिंसाविरुद्ध तथा किशोरी अधिकारको प्रतीकका रुपमा रहनेछ।
संवाद केन्द्रकी सहजकर्ता बिजुला सुनारका किशोरीले समुदायमा गाँजा सेवन तथा जाँडरक्सीविरुद्ध घरदैलो अभियान, वन कार्यालयसँग मिलेर सामुदायिक वनमा वृक्षारोपण र छुवाछूतविरुद्ध छलफल कार्यक्रम सञ्चालन गरेको बताउँछन्।
छ महिनाअघि स्थापना भएको संवाद केन्द्रको स्थापना गर्न र महिला वर्गलाई सामाजिक कार्यमा गोलबद्ध पार्न स्ट्रोम फाउन्डेसन नर्वे र नेपाल ग्रामीण पुनःनिर्माण संस्था (आरआरएन) ले सहयोग गर्दै आएका छन् । रासस
0 comments:
Post a Comment