Thursday, August 20, 2015

प्रहरी भिडन्तमा कुमार घैंटे मारिए


काठमाडौं- गुन्डा नाइके कुमार श्रेष्ठ 'घैंटे' प्रहरी भिडन्तमा मारिएका छन्। सामाखुसी क्षेत्रलाई आधार बनाएर संगठित अपराधमा संलग्न घैंटे र प्रहरीबीच बिहीबार बिहान कपुराधारास्थित ब्रिटिस चिहान नजिक गोली हानाहान भएको थियो। उनलाई महराजगन्जस्थित शिक्षण अस्पताल पुर्‍याइए पनि उनको मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ। उनीसहित अन्य दुई जना सहयोगी पनि गोली लागेर घाइते भएका छन्।

'प्रहरीलाई देखेर गोली हानेपछि प्रहरीले पनि प्रतिकार गरेको थियो,' महानगरीय अपराध मशाखाका एसएसपी सर्वेन्द्र खनालले भने, 'उनको छाति ८ वटा गोली लागेको छ।'

कुख्यात डन दिनेश अधिकारी 'चरी' मारिएपछि घैंटे मलेसियामा बस्दै आएका थिए। वैशाख १२ गतेको महाभूकम्पपछि उनी नेपाल फर्किएका थिए। नेपाली कांग्रेसका नेताहरुसँग निकट मानिएका उनले भूकम्प प्रभावित क्षेत्रका लागि राहत संकलनमा समेत जुटेका थिए। उनले प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री सुशील कोइरालाई राहत हस्तान्तरणसमेत गरेका थिए।

केही अघिमात्र उनले एसएलसी उत्तीर्ण भएका विद्यार्थीलाई सहयोग गर्न सामाखुसी युथ क्लबमा कार्यक्रम आयोजना गरेका थिए। जसको प्रमुख अतिथि शिक्षामन्त्री चित्रलेखा यादव सहभागी थिए।
को हुन् घैंटे?



नुवाकोटका कुमार श्रेष्ठ उर्फ कुमार घैटे कहिले दिपक मनाङे समूह त कहिले चक्रे मिलन समूहमा बसेर आफ्नो प्रभाव विस्तार गरेपछि पछि यी दुबै समुहबाट छुट्टिएर आफ्नै समूह चलाएका थिए। नेपाली कांग्रेस, त्यसमा पनि नुवाकोट जिल्लाका नेताको छत्रछाँयामा हुर्किएका हुन्। हालै प्रहरीको इन्काउन्टरमा मारिएका दिनेश अधिकारी चरी कुनै समय उनकै समूहका सदस्य थिए। चरीले पछि पार्टी परिर्वतन गरी एमालेतिर लागेपछि उनको समूहबाट छुट्टिएका थिए।

गणेश लामा, चक्रे मिलनसँग जानी दुश्मनी रहेका घैँटे २०६२ बाट पक्राउ पर्ने र छुट्नेक्रम सुरु भयो। प्रहरी रेकर्ड अनुसार २०६२ असार १८ गते सामाखुसीमा रहेको भन्ज्याङ्ग दोहोरी साँझमा कुमार मल्लमाथि कुटपिट गरेको अभियोगमा पक्राउ परेका थिए। उनीमाथि ज्यान मार्ने उद्योगमा मुद्दा चलेपछि उनी रिहा भए।

२०६३ असार १८ गतेनै उनी पुनः महानगरपालिका वडा नम्बर १९ को सिद्धीगणेश मावि अगाडि ट्याक्सीमा गइरहेका प्रेम लामालाइ धारिलो हतियारले हानेका थिए। उनीमाथि पुनः ज्यान मार्ने उद्योगमा मुद्दा चलाइयो र पुन रिहा भए। २०६३ भदौं १६ मा गंगबुमा रहेको शोगर्ल रेष्टुरेन्ट अगाडि काभ्रेका विष्णु लामामाथि गोलि प्रहार गरेको २७ चैतमा गल्कोपाखामा हनेन्द्र सिंहलाई धारिलो हतियार प्रयोग गरेर ज्यान मार्ने प्रयास गरेको अभियोगमा उनी पक्राउ पर्ने र रिहा हुनेक्रम जारी रह्यो।

मिति २०६५ कात्तिक २४ मा दरवारमार्गमा अमित लामालाई गोली प्रहार गरी घाइते बनाएको ज्यान मार्ने उद्योग चलेपछि फरार रहेका उनलाई प्रहरीले तिख्रामा गोली हानेर घाइते बनाई लाजिम्पाटको एक होटलमा पक्राउ गरेको थियो। हतियार सहित पक्राउ परेका उनी केही समयका लागी जेल गए पनि पुन रिहा भए।

अवैध हतियारको केसमा रिहा भएपछि उनी पक्राउ परेका छैनन्। प्रहरीले उनलाई ट्रयाकर दिएर उनको गतिविधि अनुगमन गरे पनि काग्रेस नुवाकोटका नेताको दवावमा उनलाई ट्रयाकरमुक्त गरिएको थियो। विशेषत काग्रेस नेता अर्जुननरसिंह केसी र उनको भाई जनदिश नरसिंह केसीसँग घैटेको नाम जोडिने गरेको छ।


0 comments:

Post a Comment