Saturday, August 29, 2015

सुधारिएको खेलले च्याम्पियन


भाद्र १३, २०७२- नेपाली युवा टिमले फाइनलअघि तीन खेलमा चार गोल बेहोरेको थियो। सबै गोल आफ्नै गल्तीमा भएका थिए। अझ राम्रो प्रदर्शन गर्दै आएका डिफेन्डर गौरव बुढाथोकी अफगानिस्तानसँगको सेमिफाइनलमा घाइते भएकाले फाइनल खेल्न सक्ने अवस्थामा थिएनन्। त्यसैले प्रतियोगिताकै सबैभन्दा मजबुत देखिएको भारतसँगको फाइनलमा नेपाली डिफेन्सले राम्रो प्रदर्शन गर्नेमा शंका गरिएको थियो। मुख्य प्रशिक्षक बालगोपाल महर्जनले पनि उपाधि जित्न ‘विगतका गल्ती’ दोहोर्‍याउन नहुने बताएका थिए।



प्रथम साफ यू–१९ च्याम्पियनसिपको फाइनलमा शनिबार नेपाली डिफेन्सले गल्ती नगरेको भने होइन। एउटा गल्ती गर्‍यो र त्यसमा भएको पेनाल्टीमार्फत भारतले ८७ औं मिनेटमा बराबरी गरेको थियो। त्यसमा भएको गोलले निर्धारित समय १–१ को बराबरीमा टुंग्याउँदै भारतले खेललाई टाइब्रेकरमा पुर्‍यायो तर त्यो गल्तीले नेपाललाई उपाधिबाट वञ्चित गर्न भने सकेन। किनभने फेरि गल्ती दोहोर्‍याएन। त्यसैले त २२ वर्षपछि नेपालले अन्तर्राष्ट्रिय फुटबलको ट्रफी चुम्न सक्यो।
पहिलो रोजाइको टिममा दुई खेलाडी परिवर्तन गरेको नेपालले रक्षापंक्तिमा अनन्त तामाङ, छिरिङ गुरुङ, आकाश थापा र कमल श्रेष्ठलाई उतारेको थियो। यस रक्षापंक्तिले भारतीय खेलाडीलाई खुलेर खेल्न दिएन। घरेलु खेलाडीले फुत्काएको बल लिन तुरुन्तै लखेट्ने थपिएको राम्रो गुण थियो। टिमवर्क सुधारिएको थियो। त्यसैले पहिलो हाफमा नेपाली टिम हावी रह्यो।
मिडफिल्डमा पनि बल होल्डमा राख्दै नेपालले दक्षिण एसियाली महारथी भारतविरुद्ध आक्रामक सुरुआत गर्‍यो। कप्तान विमल घर्तीमगरले आठौं मिनेटमै सेकेन्ड बार च्याप्दै प्रहार गरेको बल नजिकबाट बाहिरियो। भारतका कप्तान डानिएल लाललिम्पुइयाले १५ औं मिनेटमा नजिकबाट प्रहार गरेको बललाई गोलकिपर सोजित गुरुङले बाहिर फाले। मिडफिल्डर तेज तामाङको पासमा विमलले बल नियन्त्रणमा राख्न नसक्दा २९ औं मिनेटमा नेपालले अग्रता लिने अवसर गुमाएको थियो। तर, गोलका लागि धेरै समय प्रतीक्षा गर्नुपरेन।
पेनाल्टी क्षेत्रबाहिरैबाट अञ्जन विष्टको शक्तिशाली प्रहारमा भारतका गोलकिपर सायक बराईले राम्रो बचाउ गर्दै ३० औं मिनेटमा बल बाहिर फाले। त्यस कर्नरमा सुनील बलले हानेको बलमा अनन्तले हेडर गरे। त्यो बल गोलकिपर बराईको शरीरमा लागेर फर्कियो। त्यही रिबाउन्ड बललाई नजिकै रहेका तेजले हल्का प्रहार गर्दै पोस्टको दिशा दिएर नेपाललाई ३१ औं मिनेटमा अगाडि बढाएका थिए। भारतविरुद्ध यो प्रतियोगितामा गोल गर्ने उनी पहिलो र एक्लो खेलाडी हुन्।
पहिलो हाफको राम्रो खेललाई नेपालले दोस्रो हाफमा निरन्तरता दिन सकेन। र, छोटा पासमा अब्बल देखिएको भारतीय टिमले आक्रामक रूप लियो। उसले नेपाली डिफेन्सलाई व्यस्त राखेर पनि गोल गर्न सकिरहेको थिएन। डानिएलले ५० औं मिनेटमा प्रहार गरेको बल पनि सोजितले पन्जामा पारे। पाहुना टिमले बल नियन्त्रणमा राखे पनि थप पोस्ट आक्रमण गर्न सकेन।
दोस्रो हाफमा नेपालले दुई राम्रा मुभ बनाएको थियो। विमल हुँदै विश्वास श्रेष्ठले दिएको पासमा अञ्जनले ५३ औं मिनेटमा प्रहार गरेको बल गोलकिपर बराईको शरीर बाधक बन्यो। विश्वासको क्रसमा सुनीलले ५६ औं मिनेटमा गरेको ‘भली’ पनि बराईले रोकेका थिए। घाइते भएका तेज, अञ्जन र विमलले मैदान छाडे। त्यसपछि विंगर विश्वासलाई फरवार्ड बनाएको घरेलु टिम अझ दबाबमा पर्‍यो। यस्तैमा ८५ औं मिनेटमा मात्र मैदानमा प्रवेश गरेका डिफेन्डर दिनेश राजवंशीले पेनाल्टी क्षेत्रमा हातले बल रोकेपछि रेफ्रीले भारतलाई पेनाल्टीको मौका दिए। त्यसमा शाहबाजले सजिलै गोल गर्दै ८७ औं मिनेटमा खेल १–१ को बराबरीमा पुर्‍याए। निर्धारित ९० र थपिएको ४ मिनेट बराबरीमै टुंगियो।
उत्कृष्ट बचाउ
टाइब्रेकरको पहिलो प्रहारमा मोइनउद्दिनलाई असफल तुल्याउँदै गोलकिपर सोजितले नेपालको सम्भावना बढाएका थिए। उनले बायाँतर्फ डाइभ गर्दै उत्कृष्ट रूपमा बललाई रोकेका थिए। भारतका अरू चार खेलाडी भने चुकेनन्। हेमन्त थापामगर, सुनील बल, विश्वास श्रेष्ठ, डोना थापापछि निर्णायक मोडमा अनन्त तामाङको प्रहार पनि सटीक रह्यो र नेपालले टाइब्रेकरमा ५–४ को जित निकाल्दै ३१ वर्षपछि स्वदेशी भूमिमा उपाधि हात पार्‍यो। दक्षिण एसियाली खेलकुद (साग) को पहिलो (१९८४/काठमाडौं) र छैटौं (१९९३/ढाका) मा स्वर्णपदक जितेयता कुनै पनि नेपाली फुटबल टिमले अन्तर्राष्ट्रिय प्रतियोगिता जितेको यो नै पहिलो हो।
यू–१४ देखि नै एन्फा एकेडेमीमा रहेका सोजितले यू–१६ मा कहिल्यै गोलपोस्ट सम्हाल्ने अवसर पाएका थिएनन्। अन्तत: उनकै पेनाल्टी बचाउको सहयोगमा नेपाल साफ यू–१९ च्याम्पियन भयो। यू–१६ मा दोस्रो रोजाइका किपर रहेका उनले भने, ‘टाइब्रेकरमा पुगेपछि केही पेनाल्टी रोक्नेमा ढुक्क थिएँ। एउटा मात्र रोक्न सके पनि उपाधि जित्न सकेकामा खुसी लाग्यो।’
नेपाली टिमका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले अहिलेको सफलताले इरानको मसादमा अक्टोबर २ देखि ६ सम्म हुने एएफसी यू–१९ च्याम्पियनसिपको छनोटलाई सघाउ पुर्‍याउने बताए। त्यसमा नेपालले इरान, कुवेत र जोर्डनसँग खेल्नेछ। ‘निरन्तर ट्रेनिङ गर्दै खेल्ने अवसर पाएमा त्यस छनोटमा राम्रो नतिजा निकाल्ने आस छ,’ उनले भने। उनले सफलताका लागि कुनै पनि प्रशिक्षकलाई लामो समय जिम्मेवारी दिनुपर्ने र खेलाडीलाई अनुशासनमा राख्नुपर्ने पनि बताए।
फाइनलमा सुधारिएको खेल पस्किएको उल्लेख गर्दै उनले भने, ‘विमल र अञ्जन घाइते भएपछि बाध्य भएर अन्त्यतिर रक्षात्मक खेल्नुपर्‍यो। त्यसैले दबाबमा पर्‍यौं। दबाब थेग्न नसक्दा दुर्भाग्यवश हातले बल छुन पुगे र खेल टाइब्रेकरमा गयो।’ दुई वर्षअघि साफ यू–१६ को फाइनलमा नेपाली टिमलाई १–० ले हराएर भारतले उपाधि जितेको थियो। दशरथ रंगशालामा निर्णायक गोल गरेका जेरीलगायतका खेलाडी एन्फा कम्प्लेक्समा पनि उत्रिएका थिए। त्यही फाइनल खेलेका खेलाडीको वर्चस्व नेपाली टिममा थियो। त्यसबेलाभन्दा सुधारिएको भारतीय टिमलाई फाइनलमा हराएर उपाधि जित्ने इख पूरा भएको कप्तान विमलले बताए।
नेपाली टिम
सोजित गुरुङ (गोलकिपर), अनन्त तामाङ, छिरिङ गुरुङ, आकाश थापा, कमल श्रेष्ठ, सुनील बल, तेज तामाङ (६९–हेमन्त थापामगर), विश्वास श्रेष्ठ, डोना थापा, अञ्जन विष्ट (८०–शिव सुवेदी) र विमल घर्तीमगर (८५–दिनेश राजवंशी)।
-कान्तिपुर बाट

0 comments:

Post a Comment