Friday, August 21, 2015

‘घैंटे’का टोलबासीको घटनाबारे बयान


चोकदेखि अलिकति भित्र रहेको घर। चोक वरिपरि १५/२० वटा सटर छन्। घरसम्म पुग्ने साँघुरो बाटो। घर अगाडिको थोरै खाली ठाउँ। साँघुरो बाटो हुँदै पुगिने पुरानो घरमा शुक्रबार बिहान मानिसहरुको बाक्लै आउजाउ भइरहेको थियो। ‘यही घर हो, यही ठाउँमा गोली हानेको’ भन्दै मानिसहरु घर र गोली लागेको ठाउँ देखाइरहेका थिए। भूईँमा रगतको टाटा प्रष्टै देखिन्थ्यो। बाक्लै संख्यामा उपस्थित भएमा युवाहरुले घरमा केही कुर्सीहरु मिलाइरहेका थिए। शव यात्रामा लागि गाडीको अगाडि राख्ने भनेर उनीहरुले फोटोको फ्लेक्स पनि बनाउन दिने सल्लाह गरिरहेका थिए। बिहिबार प्रहरीको गोली लागेर मारिएका गुण्डा नाइके कुमार श्रेष्ठ ‘घैंटे’ को सामाखुसीको बालकुमारी मार्गमा रहेको घर वरपरको शुक्रबारको दृश्य हो। घैंटेको प्रहरी कारबाहीमा बिहीबार मृत्यु भएपछि कतिपयले कारबाही जायज भएको बताएका छन्। कतिले अपराध गरेको भए कानुनी कारबाही गर्नुको साटो प्रहरीले उनलाई नियोजित रुपमा मारेको भनेका छन्। नेपाली कांग्रेसका सभासद् जगदीश नरसिंह केसीले पनि त्यस्तो आरोप लगाएका छन्। उनले प्रहरीले घैंटेको घरभित्रै गएर गोली हानेको र इन्काउन्टरको नाटक गरेको बताएका छन्। गृह मन्त्री बामदेव गौतमले संसदमा जवाफ दिँदै अपराधी पक्रन गएको प्रहरी टोलीमाथि गोली चलेपछि प्रहरीले जवाफी फाइरिङ गरेको स्पष्टिकरण दिएका छन्।
राजनीतिको तर्क वितर्कसँग भन्दा पनि घैंटेसँग छिमेकी साइनो भएका टोलबासीलाई भने घैंटे मारिएकोमा पीर लागेको छ। उनीहरुकै शब्दमा टोलीबासीलाई कहिल्यै नराम्रो नगरेका घैंटे मारिएको शोकमा उनीहरुले आज चोकका पसलका सटर बन्द गरेका छन्। पीरका साथै आफ्नै छिमेकी मृत्यु देखेर उनीहरुलाई अचम्म लागेको छ। प्रहरीले दावी गरेजस्तो प्रहरी र घैंटे समूहबीच दोहोरो गोली हानाहान भएकोमा उनीहरुलाई विश्वास छैन्।
घैंटेको घर नजिककैको चोकमा मासु पसल सञ्चालन गर्ने एक महिलाले सादा पोसाकमा आएका केही मानिसले घैंटेलाई गोली हानेको बताइन्। ‘घटना हुनु एक घण्टा अघि कुमार दाइ मेरो पसलमा आएर कागलाई खुवाउन ५० रुपैयाँको मासू लिएर जानुभएको थियो’ उनले भनिन्, ‘एकैचोटी गोली लागेको आवाज आउँदा के भयो भनेर हेर्न जाँदा हामीलाई सादा पोसाकमा मानिसले जान दिएनन्।’ घैंटेले कागलाई ख्वाउन दैनिक मासु किन्ने गरेको पनि उनले बताइन्।

उनका अनुसार घैंटेलाई गोली लागेपछि छिमेकी राज महर्जन र सुरेन्द्र महर्जन (दाजुभाइ) घैंटेको समूहकै मान्छेबीच झगडा भएको ठानेर छुट्याउन गएका थिए। सादा पोसाकका प्रहरीले उनीहरुलाई पनि गोली हाने।
उनकी आमाले आफ्नो छोरालाई नमार्न हात जोडेपछि उनीहरुलाई छोडिएको ती महिलाले बताइन्। महर्जन दाजुभाइ घैंटेका सहयोगी नभएको पनि उनले बताइन्।
गोली चलेपछि प्रहरीले सबैलाई पसल बन्द गर्न भनेको थियो। ‘कर्फ्यू लागेको जस्तै भयो नि, हामी त पसलभित्र बसेर सुनिरह्यौं’, उनले भनिन्।
ती महिलाले भनिन् ‘गोली चलेपछि मैले पुलिसलाई फोन गरेँ, टोलका अरु मानिसले पनि गरेछन्। एकछिनमा नजिकैको प्रहरी बिटबाट पुलिसहरू आए। गोली हान्ने मानिस त्यहि थिए। पुलिसले बन्दुक तेर्स्याए, अनि ती गोली हान्ने ज्याङ्गो शरीरका मानिसले हामी पनि पुलिस हौँ भन्दै कार्ड देखाए। त्यसपछि मात्रै दुई पक्ष सामसुम भए।’
घटना भएको ठाउँ नजिकैको अर्को घरमा भाडामा बस्ने महिलाले त्यो खाली ठाउँमा केही गाडी र मोटरसाइकल रोकिएकोले आफूले केही नदेखेको बताइन्। ‘गोली चलेको आवाज आएपछि म झ्याल ढोका थुनेर बसें,’ उनले भनिन्।
मासु पसल सञ्चालन गर्ने महिलाले घैंटे छिमेकमा मिलनसार र सहयोगी रहेको बताइन्। ‘हामीलाई कहिल्यै नराम्रो गर्नु भएको थिएन, बरु स्कुलमा फिस तिर्न नसक्नेहरुलाई भनसुन गरेर पढ्ने ब्यवस्था मिलाइदिन्थे।’ त्यही टोलमा जन्मेका घैंटे बाबु आमाका एक्ला छोरा हुन्। घैंटेकी १०/१२ वर्षकी एउटा छोरीको छन्। ‘तिनको बिचल्ली होला भनेर दुःख लागेको छ,’ ती महिलाले भनिन्।

0 comments:

Post a Comment