Sunday, August 30, 2015

आमरण अनशन बसेका डा. केसी यसो भन्छन् (भिडियो)


काठमाडौं, भदौ १३ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जका बरिष्ठ चिकित्सक प्रा.डा. गोविन्द केसी अनशन बसेको आज (आइतबार) सातौं दिन पुगेको छ । सरकारले बनाएको स्वास्थ्यसम्बन्धी माथेमा आयोगको प्रतिवेदनलाई सरकारले फेरबदल गरेको भन्दै डा. केसी अनशनमा बसेका हुन् । अनशन बसेको लामो समयसम्म पनि सरकारले उनका मागप्रति कुनै चासो देखाएको छैन । यसबीच डा. केसीको स्वास्थ्य अवस्था खस्कँदै गएको छ । तर उनले जस्तोसुकै परिस्थितिमा पनि माथेमा आयोगको प्रतिवेदन कार्यान्वयन नभएसम्म अनसन नतोड्ने अडान राख्दै आएका छन् । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानका बरिष्ठ हाड जोर्नी विशेषज्ञ डा. केसीसँग सरकारले पाँच पटक सहमति गरिसकेको छ । तर सहमति भएका विषय कार्यान्वयन नभएको भन्दै केसी छैठौं पटक अनशनमा बसेका हुन् । पछिल्लो पटक प्रधानमन्त्री सुशील कोइरालाको पहलमा डा. केसीका माग पूरा गर्ने प्रतिबद्धता सरकारले गरेको थियो । केसीसँगको सम्झौता कार्यान्वयन गर्न सरकारले डा. केदारभक्त माथेमा नेतृत्वको चिकित्सा शिक्षासम्बन्धी आयोग गठन गरेको थियो । आयोगले प्रतिवेदन समेत सरकारलाई बुझाइसकेको छ । माथेमा आयोगले बुझाएको प्रतिवेदन सरकारले कार्यान्वयन नगरी हेरफेर गरेको भन्दै केसी पुनः अनशनमा बसेका हुन् । उनले नेपालको स्वास्थ्य नीतिमा परिवर्तन गर्नुपर्ने, स्वास्थ्य क्षेत्रमा माफियातन्त्र हटाउनुपर्ने, स्वास्थ्यमा सबैको पहुँच पुर्‍याउनुपर्नेलगायतका ८ वटा माग राखेर अनशन थालेका हुन् । मुलुक संविधान निर्माणको चरणमा भएको भन्दै उनका मागप्रति सरकारले बेवास्ता गर्दै आएको छ । आफ्ना मागका सुनुवाई नभएकोमा केसी दुःख व्यक्त गर्छन् । वरिष्ठ चिकित्सकले जायज माग राखेर शुरु गरेको अनसनप्रति ऐक्यबद्धता जनाउने क्रम बढ्दै गएको छ । चिकित्सा क्षेत्रबाटै उनका मागप्रति ऐक्यवद्धता जनाउने क्रम जारी रहे पनि सरकारले बेवास्ता गर्दा भोलिका दिनमा पुरै स्वास्थ्य क्षेत्र केसीका माग पूरा गराउन पहिलेजस्तै दबाबमा ओर्लिए त्यसको सामना गर्न सरकारलाई मुस्किल पर्ने देखिन्छ । -इमेज खबर बाट

0 comments:

Post a Comment