Sunday, August 23, 2015

पार्टी उपाध्यक्षको लोभमा न्यायाधीशको हत्या


काठमाडौं- सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमको हत्यामा संलग्न सुटर सन्जय स्मायली मगरले चुरेभावर राष्ट्रिय पार्टीको उपाध्यक्ष बन्ने लोभमा बमको हत्या गरेको बयान दिएका छन्। हत्यापछि भागेर वैदेशिक रोजगारीमा साउदी अरब पुगेका मगरलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले आइतबार नेपाल ल्याएको थियो। नेपाल ल्याइएपछि उनले ब्युरोमा बयान दिँदै हत्याका योजनाकार बाबु थापाको प्रलोभनमा आफू फसेको बयान दिएका छन्। २०६९ जेठ १८ मा घरबाट बगलामुखीको दर्शन गरी सर्वोच्च अदालत जाने क्रममा ललितपुरको शंखमुलस्थित युएन पार्कअगाडि गोली हानेर बमको हत्या गरिएको थियो। बमलाई गोली हान्ने मगर प्रमुख सुटर हुन्। 'बम हत्याका मुख्य योजनाकार बाबुले आफू पार्टी अध्यक्ष हुने र मलाइ उपाध्यक्ष बनाउने प्रलोभन देखाएकाले योजनामा संलग्न भएको हुँ,' मगरको बयान उद्धृत गर्दै ब्युरोका एक प्रहरी अधिकारीले भने, 'उपाध्यक्ष नै भएपछि धेरै काम गर्न सकिन्छ भनेर थापाको योजनामा संलग्न भएको हुँ।'
थापाले जुन ठकेदारबाट पनि टेलिफोन गरी मागे अनुसार रकम सजिलै उठाउने र आफ्नो नेतृत्वको पार्टीले आधिकारिकता पाए आफू गृह राज्यमन्त्री हुने र पार्टी उपाध्यक्षका रुपमा नेतृत्व मगरलाई सुम्पने प्रलोभन देखाएपछि आफू लोभिएको मगरले बयानमा खुलाएका छन्। थापाले भने अनुसार उनको नेतृत्वमा घोषणा गरिएको समितिले आधिकारिकता पनि नपाएको र एक जना सर्वसाधारण कुटेको अभियोगमा आफूविरुद्ध हत्या प्रयासको अभियोग लागेपछि ट्रक ड्राइभरका रुपमा साउदी गएको पनि मगरले बयानमा खुलासा गरेका छन्।

ब्युरो प्रमुख डिआइजी हेमन्त मल्लका अनुसार बमलाई गोली हान्ने पहिलो सुटर मगर नै हुन्। मगरले प्रारम्भमा बमका अंगरक्षकलाई गोली हानेपछि बमलाई गोली प्रहार गरेका थिए। सबैभन्दा महँगो मानिएको बम हत्याको अनुसन्धान क्रममा प्रहरीले दुईपल्ट मगर पक्राउ गरे पनि घटनामा उनको संलग्नता पुष्टी गर्न नसकी छाडेको थियो। बाबु थापाको तेस्रो पक्राउमा उनको भूमिका खुलेको थियो। तर थापाको भूमिका खुल्नुअघि नै मगर ट्रकचालकका रुपमा वैदेशिक रोजगारीमा साउदी अरब गएका थिए। बम हत्याको साढे दुई वर्षपछि हत्याका योजनाकार र संलग्न भन्दै बाबु थापालगायत पाँच जनालाई ब्युरोले पक्राउ गरेपछि मगरको संलग्नता खुलेको थियो। संलग्नता खुले पनि मगर वैदेशिक रोजगारीमा साउदी अरब गएको खुलेपछि प्रहरीले उनको पक्राउका लागि गृह र परराष्ट्र मन्त्रालयमार्फत् साउदी सरकारसँग पत्राचार गरेको थियो। साउदी सरकारले मगरलाई तत्काल नियन्त्रणमा लिई डिटेन्सन सेन्टरमा राखे पनि नेपाललाई हस्तान्तरण गर्न अस्वीकार गर्दै आएको थियो। ब्युरोले थप प्रमाण पठाएपछि साउन २६ गते साउदी अदालतले मगरको भिसा रद्द गर्दै नेपाललाई बुझाउन आदेश दिएको थियो। त्यसपछि उनलाई लिन ब्युरोका दुई अधिकारी साउदी गएका थिए। उनीहरुले नै आइतबार इन्डियन एयरको विमानबाट मगरलाई नेपाल ल्याएका हुन्। 'इन्टरपोलमार्फत् नेपाल प्रहरी मलाइ लिन आउँदैछ भन्ने थाहा थियो,' मगरको बयान उद्धृत गर्दै ब्युरो स्रोतले भन्यो, 'लिन आउनु भोे, ठिकै भयो।' बमको हत्यापछि प्रहरीले कहलिएका अनुसन्धान अधिकृतको समूह बनाए पनि हत्या रहस्य खुलेको थिएन। थापाको पक्राउपछि मात्रै चुरेभावर एकता पार्टीलाई निर्वाचन आयोगले दिएको मान्यता बमको इजलासले खारेज गर्दै केशव मैनाली नेतृत्वको पार्टीलाई आधिकारिकता दिएको झोंकमा उनको हत्या भएको खुलेको थियो।

0 comments:

Post a Comment