Sunday, August 2, 2015

इन्धन नदिँदा सौर्य एयर एकघण्टा विमानस्थलमै रोकियो


विराटनगर– अग्रिम भुक्तानी नगरेको भन्दै आयल निगमले हवाई इन्धन नदिएपछि निजी एयरलायन्स कम्पनी सौर्य एयरको जहाज विराटनगर विमानस्थलमा आइतवार झण्डै एकघण्टा रोकिएको छ। तेलको पैसा काठमाडौंमा भुक्तानी गरेपछि सौर्य एयरको जहाज अहिले ११ बजेर ५० मिनेटमा ५० यात्रु बोकेर काठमाडौं उडेका छन् ।यात्रु बोकेर काठमाडौं उड्नुपर्ने सौर्य एयरको जहाज इन्धन नभएर उड्न नपाउँदा त्यसका यात्रुहरू करिव एक घण्टा विमानस्थलमै बिचल्लीमा परेका थिए । ५० सिट क्षमताको सौर्य एयरको सिआरजे–२०० कल साइन भएको जेट इञ्जिन जहाज साढे १० बजेदेखि विराटनगर विमानस्थलमै रोकिएको थियो । अग्रिम भुक्तानी गरेको व्यालेन्स सिट नदेखाएपछि आयल निगमको विमानस्थलमा रहेको हवाई डिपोले इन्धन दिन इन्कार गरेपछि सौर्य एयर उड्न सकेको थिएन । तेलको अभावमा सौर्य एयर उड्न नपाएपछि विमानस्थलमा रहेका ती एयरका अधिकारीहरु केही बेर त्यहाँको काउन्टर बन्द गरेर हिँडेका थिए । यात्रुहरु जहाज ढिले भएको भन्दै आक्रोसित बनेका थिए । जहाज नउडेपछि दवाब खेपिरहेका सौर्य एयरका विराटनगर म्यानेजर अर्जुन कार्कीले मोवाइल रिसिभ गर्न बन्द गरेका छन् । विराटनगरस्थित हवाई डिपोका इन्चार्ज सनम कार्कीले हवाई इन्धनको अग्रीम भुक्तानी नगरेकाले सौर्य एयरले तेल नपाएको जानकारी दिए । 'हामी कुनैपनि हवाई कम्पनीलाई उधारोमा तेल दिदैनौं, ' कार्कीले भने, 'अग्रिम भुक्तानी गर्नुपर्छ, सौर्य एयरले त्यही नगरेकाले तेल नपाएको हो ।'

0 comments:

Post a Comment