काठमाडौं: सुन अभाव हुन थालेपछि नेपाल राष्ट्र बैंकले सुन आयात कोटा पाँच किलोले बढाएको छ। यसअघि वाणिज्य बैंकहरुले दैनिक १५ किलो सुन आयात गर्न पाउनेमा अब २० किलो आयात गर्न पाउनेछन्।
सुनको भाउ तोलाको ४८ हजार रुपैयाँ हाराहारी झरेपछि र चाडपर्व नजिकिएपछि सुनको माग धेरै भएको भन्दै ब्यापारीहरुले कोटा बढाउन दबाब दिँदै आएका थिए। राष्ट्र बैंकले सुन आयात तथा विक्री वितरण कार्यविधि–२०६८ अनुसार आयात हुने सुनको कोटा बढाएको हो।
नेपालमा सुन आयात गर्ने जिम्मा बाणिज्य बैंकहरुले पाएका छन्। उनीहरुले आयात गरेको सुन तथा चाँदी व्यवसायीहरुले खरिद गरेर सर्वसाधारणमा बिक्री वितरण गर्छन्।
‘बैंकहरुले अबदेखि दैनिक २० किलो सुन आयात गर्न पाउने छन्,’ राष्ट्र बैंकका प्रवक्ता त्रिलोचन पङगेनीले भने, ‘माग बढेपछि आयात कोटामा बृद्धि गरिएको हो।’
उपभोक्ताको माग अनुसार सुन आयात नभएका कारण व्यापारीहरुले विक्री वितरण गर्न नपाएको गुनासो गरिरहेका थिए। उपभोक्ताको माग संबोधन गर्न राष्ट्र बैंकले दैनिक १५ किलोको कोटालाई २० किलो पुर्याएको हो।
व्यवसायीहरुले भने अहिले सुनको माग दैनिक ४० किलोसम्म रहेको बताउँदै आएका छन्। तर राष्ट्र बैंकले बजारको मागको अध्ययन बिना कोटा नबढाउने बताउँदै आएको थियो।
0 comments:
Post a Comment