Saturday, August 29, 2015

‘भैरव’लाई शनिवार पनि अत्याधिक दर्शकको साथ


काठमाण्डौ। नायक निखिल उप्रेती दर्शकका प्यारा नायक हुन् । पिँजडा चलचित्रबाट नेपाली रजतपटमा भित्रिएपछि उनले १०० भन्दा बढि चलचित्रमा अभिनय गरिसकेका छन् । करिब ५ बर्षको विश्रामपछि आफैले निर्माण, निर्देशन र अभिनय गरेको चलचित्र भैरव लिएर दर्शकमाझ आएका निखिललाई आफ्नो पुरानै छबि फर्काउन गाह्रो परेन । ५ बर्षपछि चलचित्रक्षेत्रमा कमब्याक गर्दा धेरैले उनको चलचित्र कतै नचल्ने त होइन भनेर अन्दाज पनि काटेका थिए तर निखिलले भैरवमा आफ्नो फ्यानहरुको बाढी नै हुल्न सफल भएका छन् ।
प्रदर्शनमा आएको पहिलो दिन नै राजधानी भित्र र बाहिर हाउसफुल गरेको भैरवले आज शनिबार झन आक्रमक व्यापार गरेको वितरक कम्पनीले जानकारी दिएको छ । चलचित्रका वितरक गोपाल कायस्थका अनुसार चलचित्रको व्यापार शुक्रबार भन्दा शनिबार बढि छ । शनिबार सार्वजनिक बिदा भएका कारणले पनि दर्शकहरु हलसम्म भैरव हेर्न ओहिरिएका हुन् । चलचित्रका नायक निखिल उप्रेती र नायिका अनु शाह नै शुक्रबार र शनिबार राजधानीका विभिन्न हलहरुमा पुगी दर्शकहरुको प्रतिक्रिया दिन भ्याएका थिए । दर्शकहरुले चलचित्र अत्याधिक मनपराएको निखिलले बताएका छन् । चलचित्रको एक्शन पाटोलाई झन दर्शकहरुले खुबै रुचाएका छन् । नायक निखिल उप्रेतीको निर्माण, निर्देशन र अभिनयमा निर्माण भएको चलचित्र भैरवले तराईमा हुने विभिन्न विषयलाई गम्भिर तरिकाले उठाएको छ । भैरवमा निखिलको अलवा अनु शाह, मुरलीधर, जयकिसन बस्नेत, नागेन्द्र रिजाल, रविन सेनलगायतले अभिनय गरेका छन् । चलचित्रको छायाँकान नवराजकृष्ण थापाले गरेका छन् भने चलचित्रको द्वन्द्व निर्देशन हिमाल केसीले गरेका हुन । संगीतमा सुरेश अधिकारी, नृत्यमा रामजी लामिछानेको निर्देशन रहेको छ । चलचित्रमा निखिल उप्रेती प्रहरी निरिक्षकको भूमिकामा देखिएका छन् ।


0 comments:

Post a Comment