Wednesday, August 19, 2015

‘साउदीमा चार जनाले आत्महत्या गरे, म रोग लिएर फर्किएँ’


भदौ ३ - अम्खोरा, ताप्के र कराईसँगै मसला पिस्ने एउटा सिलौटो छ । भाँडाहरु यताउति छरिएका छन । थालमा बिरामीले खाने जाउलो छ । यो रामेछापको टावरडाँडामा रहेको कैलाश बस्नेतको भान्सा हो । कैलाश १५ दिन भयो, विदेशबाट घर आएको । विदेश गएर फर्किएका प्रायःको घरमा छुट्टै रौनक हुन्छ । तर कैलाशको घरमा खुशी भन्दा धेरै निराशा छ । किन भने कैलाश विदेशबाट सम्पति होइन, रोग लिएर फर्किनुभयो ।
‘कक्षा ११ पास गर्दा पढ्ने रहर धेरै थियो मनमा, तर गरिबीले त्यो संभव भएन’ कैलाशले विदेशिनुको कारण सुनाउनुभयो ‘वीरगञ्जमा बेकरी केमिकल कारखानामा काम गर्दा पैसै थोरै थिया, पछि दोलखामा आर्मीको भर्ति खुलेपनि छनौट हुन सकिन ।’ त्यसपछि विदेश जान सोचेर उहाँले पासपोर्ट गाउँकै एजेन्टलाई बुझाउनुभयो । १५ दिनको स्काफ फोल्डिङका तालिम लिएर साउदी उडेका कैलाशको तलव ९ सय साउदी रियाल थियो । साउदी पुगेपछि उहाँलाई लाग्थ्यो ‘नेपालको मेनपावर कम्पनीले त हामीलाई हाम्रै पैसा लिई बेचेको रैछ ।’ घरमा भएकी श्रीमती र छोरीलाई सम्झेर १२ घण्टा काम गर्दा ३५ हजारसम्म बुझनुभयो । तर काम थालेको ६ महिनापछि थला पर्नुभयो । सुरुमा पेट दुख्न थाल्यो । पेटको दुखाई दिन दुई गुणा रात चौगुणा भने जसरी नै बढ्यो । दुखाई सहन नसकी अस्पतालमा जाँदा डाक्टरको वाक्य उहाँको दिमागमा ताजै छ । उसले सजिलै भनेको थियो ‘सबै नेपाली ग्यास्ट्रिकका रोगी हुन्छन्, तिमीलाई पनि त्यहि भएको हो ।’ चिल्लो र पिरो नखान भन्दै डाक्टरले दिएको औषधीले दुखाई बीसको उन्नाइस नभएपछि घर फर्किने सोच्नुभयो । तर कम्पनीको व्यवहार अमानवीय भइदियो । ‘गाह्रो काम अनि छुद्र व्यावहारले गर्दा चार जनाले त आत्महत्या नै गरे’ उहाँले विदेशको अप्ठेरो सुनाउनुभयो ‘यो देख्दा त म पनि धेरै आत्तिएको थिएँ त्यतिबेला ।’
कम्पनीको सुपरभाईजरलाई रोइकराई गरेपछि १८ महिना नपुगेसम्म जान नमिल्ने र यदि जाने नै भए १४ सय साउदी रियाल धरौटी राखेर जान मिल्ने बताएपछि काम गरेको तलवबाटै कटाएर घर फर्किनुभयो । तर विदेशबाट फर्किनेहरुमा देखिने खुशी उहाँमा थिएन । कारण उहाँ सम्पति होइन रोगी भएर फर्किँदै हुनुहुन्थ्यो । काठमाडौं आए लगत्तै अस्पताल पुग्दा उहाँलाई थाहा भयो पेटमा घाउ भएर बढ्दै गएको रहेछ । अहिले नियमित औषधी खाएपछि केही कम त भएको छ तर पहिले जस्तो काम गर्ने आँट नै छैन ।
‘कमाई छैन, रोगले च्याप्यो, परिवार पाल्ने दायित्व झनै बढ्दै छ’ उहाँले दुखेसो सुनाउनुभयो, ‘कमाइ गर्ने मेलो हरायो अनि बल्लतल्ल बनाएको घरको भित्तो भूकम्पले चिरिदियो ।’

0 comments:

Post a Comment