आफन्त होस् या बिरानो, मृत्यु कसैलाई प्यारो हुँदैन। एउटा सेवक प्रहरीको हत्यामा देखाइएको क्रुरतालाई सचेत नागरिक हैसियतमा उनी धिक्कारिरहेकी थिइन्। राजधानीमा मंगलबार साँझ न्यौपानेको शवयात्रा र अन्त्येष्टिमा भेला भएको भिड देख्दा ती वृद्धाको बोली मार्मिक सत्य लाग्थ्यो– 'मृत्युचाहिँ त्यस्तो बर्बर कसैको नहोस्, बिदाइचाहिँ यस्तै दुनियाँ सहभागी भएको भव्य बनोस्।'
न्यौपानेको भौतिक शरीर बिदाइमा आएका सर्वसाधारणले भरिएको थियो, पशुपति आर्यघाट। सहकर्मीलाई श्रद्धा गर्ने प्रहरी संगठनका सदस्यहरुको उपस्थिति उल्लेख्य थियो। सर्वसाधारणको भिडले प्रहरीको निलो बर्दी भने छोपिन खोज्दै थियो।
चितामा पिताम्बरले बेरिएको बाबुको शवमा छोरा सन्देशले मुखाग्नि दिएलगत्तै पूर्वतिर रहेको प्रहरीको एक टोलीले शोकधून बजायो। चितानजिकै लहरै उभिएका प्रहरी प्रमुख उपेन्द्रकान्त अर्याललगायत प्रहरी अधिकारीले स्यालुट गरेर सहकर्मी न्यौपानेको अन्तिम बिदाइ गरिरहँदा पूर्वतिरको सिँढीमा एक्लै बसिरहेकी गोरीमायाले पशुपति मन्दिरतिर हेर्दै दुवै हात जोडेर मृतात्माको शान्तिका लागि प्रार्थना गरिन्।
'भो बाबु, के कुरा गर्नु, मन छैन,' नागरिकर्मीसँग यत्ति भनेर उनी घाटबाट हिँडिन्। सायद शोकले निःशब्द भइन्।
... ...
कर्तव्यपालनाका क्रममा सोमबार दिउँसो प्रदर्शनकारीको आक्रमणमा ज्यान गुमाएका झापा, चन्द्रगढीका न्यौपानेको परिवार काठमाडौं, सिनामंगल बस्दै आएको छ। छोरी, श्रीमतीसहितको सबै परिवारका सदस्य काठमाडौंमै भएकाले प्रहरी प्रधान कार्यालयले उनको अन्तिम संस्कार पशुपति आर्यघाटमै गर्ने प्रबन्ध मिलाएर मंगलबार दिउँसो सेनाको हेलिकप्टरबाट शव काठमाडौं ल्याएको थियो।
हेलिकप्टरमा न्यौपानेको शवसँगै केही घाइते प्रहरी थिए। सँगै थिए, छोरा सन्देश।
कलेजको छुट्टी उपयोग गर्न सन्देश एक महिनाअघि बाबुको कर्मक्षेत्र धनगढी पुगेका थिए। विमानस्थलबाट दिउँसो ३ बजे न्यौपानेको शव एम्बुलेन्समा राखेर श्रद्धाञ्जलीका लागि महानगरीय प्रहरी वृत्त, गौशाला ल्याइएको थियो। न्यौपानेको अन्तिम संस्कार हुने जानकारी पाएका सर्वसाधारण दुई बजेबाटै वृत्तमा भेला हुन थालिसकेका थिए।
बहालवाला प्रहरी अधिकारीसँगै प्रहरीका पूर्वप्रहरी प्रमुखहरू न्यौपानेको अन्तिम बिदाइमा वृत्त परिसर आइपुगेका थिए। परिवारका सदस्यले उनको पार्थिव शरीरको पहिलो दर्शन गर्दा उनको टाउको ब्यान्डेजमै थियो।
न्यौपानेकी पत्नी अरुणा र छोरी संयुक्ताको अवस्था दयनीय थियो, घरी भक्कानिन्थे, घरी अर्धबेहोस् हुन्थे।
आइजिपी, एआइजीको टोलीले सम्मानसाथ न्यौपानेको पार्थिव शरीरमा ३ः४५ बजे संगठनको झन्डा ओढायो। परिवारका सदस्य, आफन्त, शुभेच्छुक सर्वसाधारणले उनको वीरताको स्मरण गर्दै पुष्पगुच्छा चढाए।
शुभेच्छुकले छपक्कै ढाकिएपछि छोरा सन्देश आफैं भिड पन्छाउनतिर लागेका थिए। छिर्केमिर्के क्वाटर पाइन्ट र टिसर्टमा रहेका उनको दुवै आँखाका डिल सुन्निएका थिए।
उनी कहिले आफैं सम्हालिन्थे, कहिले भक्कानिन्थे। शव राखेको स्थानतिर शुभेच्छुकको भिड बढिरहँदा उनी अनुनय गरिरहेका थिए, 'यता नआउनुस्, प्लिज, पर जानुस्।'
श्रद्धाञ्जलीको लाइनमा उपप्रधान तथा गृहमन्त्री वामदेव गौतम, कांग्रेस नेता तथा पूर्वगृहमन्त्री कृष्ण सिटौला, नेपाली सेनाका प्रधान सेनापति राजेन्द्र खत्री, गृहसचिव सूर्य सिलवाल देखिए।
गौशालादेखि पशुपति आर्यघाटसम्म शवयात्रामा हजारौं सर्वसाधारण सहभागी थिए। शवयात्रा आर्यघाट पुग्दा हजारौं सर्वसाधारण न्यौपानेको अन्तिम बिदाइका लागि कुरिरहेका देखिए।
एमाले उपाध्यक्ष विद्या भण्डारी, कांग्रेस नेता अर्जुननरसिंह केसी, सशस्त्र प्रहरी बलका प्रमुख कोषराज वन्तले न्यौपानेलाई घाटमै श्रद्धासुमन दिएपछि अन्तिम संस्कारको वैदिक प्रक्रिया प्रारम्भ भयो।
साढे ४ बजे पशुपति आर्यघाटमा कल्कीमन्दिर नजिकैको चितामा एसएसपी न्यौपानेको भौतिक शरीर धुवाँ बनेर उडिरह्यो। नजिकैको पाटीमा बसेका सन्देश त्यही बाक्लो धुवाँ हेरेर एकोहोरिइरहेका थिए। लाग्थ्यो, उनी चिताबाट उडिरहेको धुवाँको मुस्लोमा बाबुको आकृति खोजिरहेका छन्।
२०४४ मा नेपाल प्रहरीमा प्रहरी निरीक्षकका रुपमा प्रवेश गरेका झापा, चन्›गढीका लक्ष्मण एक वर्षअघि सेती अञ्चल प्रहरी कार्यालयको प्रमुखका रुपमा खटिएका थिए। २०६८ मा एसएसपीमा बढुवा पाएका उनी सेती पुग्नुअघि प्रहरी प्रधान कार्यालयमै थिए।
सामान्यतया एक वर्षको दौरान संगठनले सरुवा निकाल्ने नीतिअनुसार उनको सरुवा निस्कने समय नजिकिइरहेको थियो। मंगलबार छोरालाई धनगढी छाडेर कार्यक्षेत्र गएका उनी प्रदर्शनकारीको घेराउमा परे र संगठनका अन्य ४ सदस्यसँगै आतंककारी शैलीमा मारिए।
केन्द्रमा प्रमुख चार दलका नेताले संघीय मोडल सार्वजनिक गरेसँगै कैलालीमा प्रर्दशन सुरु भएको थियो। प्रदर्शनको नेतृत्व गरेको थारुवान संयुक्त संघर्ष समितिले आइतबार टीकापुर नगरपालिकाको बोर्डमा रहेको नेपाल सरकार मेटेर थरुहट/थारुवान स्वायत्त प्रदेश लेख्ने घोषणा गर्दै सोमबार प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीलाई सम्झाउन उत्रेका थिए न्यौपाने।
अघिल्लो दिन सुरक्षा निकायका प्रतिनिधि र आन्दोलनकारीबीच भएको वार्तामा प्रदर्शन शान्तिपूर्ण गर्ने सहमति भएकाले पनि हुनसक्छ– घरेलु हतियारसहित आएका प्रदर्शनकारीमाझ उनी नडराई गएका थिए।
त्यो भिडले छक्याउँदै उनलाई घेराउ गरी भालाले घोच्न थाल्यो। 'यसो नगर न भाइ' भन्दाभन्दै उनको ज्यानै गयो। प्रदर्शनकारीले उनीसँगै रहेका नेपाल प्रहरीका प्रहरी निरीक्षकद्वय बलराम विष्ट र केशव बोहोरा, प्रहरी हवल्दार श्यामबहादुर खड्का र प्रहरी जवान लोकेन्द्रबहादुर चन्द मारिए। कार्यक्षेत्र खटिएका सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार ललित साउद र सशस्त्र हवल्दार रामबिहारी थारु पनि मारिए।
'एक साताअघि मात्रै उनीसँग फोनमा संवाद भएको थियो,' एसएसपी न्यौपानेलाई सम्झँदै प्रहरी महानिरीक्षक अर्यालले भने, 'संवेदनशील स्थानमा खटिएका छौ, भन्दा हुन्छ सर भनेका थिए, तर यस्तो अकल्पनीय घटना भयो।'
0 comments:
Post a Comment