गच्छदारले नेतृत्व गर्ने सो मोर्चामा गच्छदारको फोरम लोकतान्त्रिक पार्टीसहित शरत्सिह भण्डारी अध्यक्ष रहेको राष्ट्रिय मधेश समाजवादी पार्टी, राजकिशोर यादव अध्यक्ष रहेको मधेशी जनअधिकार फोरम गणतान्त्रिक रहेको बताइएको छ ।
हिजो तीन दलका अध्यक्षको बीचमा बसेको बैठकले मोर्चा बनाउने निर्णय गरेको फोरम लोकतान्त्रिकका उपाध्यक्ष जितेन्द्र देवले जानकारी गराए ।
तराई मधेशका जनताको चाहना अनुसार सविधान बन्ने सम्भावना नदेखिएको र यसका लागि संयुक्त रुपमा संघर्ष गर्नुपर्ने भएकाले हाललाई तीन दलको मोर्चा बनाउने निर्णय भएको उनले बताए ।
आफूहरुको विचारसँग मेल खाने अन्य पार्टीलाई पनि मोर्चामा सहभागि गराउने निर्णय भएको बताउँदै मोर्चाको नाम, आचारसहिंतालगायतका विषयमा टुगों लगाउन तीन सदस्यीय कार्यदल गठन भएको उनले जानकारी गराए ।
कार्यदलमा फोरम लोकतान्त्रिकको तर्फबाट जितेन्द्र देव, फोरम गणतान्त्रिकको तर्फबाट सीपी सिह र रामसपाको तर्फबाट केशव झा रहेका छन् । आज बस्ने कार्यदलको बैठकले सबै विषयमा छिनोफानो गरी भोलीसम्ममा मोर्चाको घोषणा हुने बताइएको छ ।
छुट्टै मोर्चा किन ?
मधेशी र थारुको माग पूरा नभए सविधानसभाबाट बाहिरिने चेतावनी दिएकै दिन अध्यक्ष गच्छदारले मोर्चा गठन गर्ने निर्णय गरेका हुन् । हिजो संविधानसभामा बोल्दै उनले संविधानसभाबाट बाहिरिने चेतावनी दिएका थिए ।
मधेशमा तीन प्रदेश सहित ८ प्रदेशको माग लिएर संघर्षको घोषणा गरेका उनी चार दलको बैठकहरुमा भने गइरहेका छन् ।
मधेशको अधिकार र पहिचानका लागि यो मोर्चा गठन भएको रामसपाका अध्यक्ष शरतसिंह भण्डारीले बताउँदै भने, ‘ मधेशमा थारु र मधेशीको अधिकार सुरक्षितका लागि मोर्चाको आवश्यकता परेको छ । देशका प्रमुख तीन दलले कहिले ८ प्रदेश, कहिले ६ प्रदेश कहिले ७ प्रदेश त कहिले कति प्रदेशको कुरा गरेर जनतालाई भ्रमित गर्ने प्रयास गरीरहेको छ । जनतालाई भ्रमबाट मुक्त गर्नका लागि पनि मोर्चा गठन भएको छ ।’
एउटा मधेशी मोर्चा हुँदाहुँदै अर्को मोर्चा गठन गर्ने आवश्यकता किन पर्यो भने जिज्ञासामा उनले सबै मोर्चाको चाहना र एजेण्डा एउटै भएपनि कार्यशैली फरक रहेको बताए ।
उनले आफूहरु पनि पहिला त्यही मोर्चामा रहेको तर कार्यशैलीमा अलिकति मतभिन्नता देखिएको कारण अलग भएको बताउँदै उनीहरुले तत्कालै आन्दोलनमा जाने कुरा गरे भने आफूहरु सविधान निर्माणको प्रकृयामा भाग लिँदै अन्तिम समयसम्म त्यही लड्ने अन्त्यमा नभए आन्दोलनमा जाने रहेको र आज त्यो दिन आइसकेको बताए ।
‘कठोर आन्दोलनका लागि नै मोर्चाको आवश्यकता परेको छ’, फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले भने, ‘यी शासकहरु जनताको सविधान सिधि तरिकाले दिँदैन ।
हामीले अन्तिम समयसम्म कुर्छौ । हुन त परिमार्जित भएर मस्यौदा सविधानसभामा गईसकेका छन् तैपनि त्यसलाई सुधार गर्ने अन्तिम मौका प्रमुख राजनीतिक दलको हातमा हुन्छन् । अन्त्यमा गएर पनि त्यसलाई सुधार गरेनन् भने हामी सविधानसभा छाडेर बाहिरिन्छौ र कठोर आन्दोलनमा जान्छौ । त्यो आन्दोलन अहिलेको भन्दा पनि कठोर आन्दोलन हुनेछ ।’
उनले संघर्षका कार्यक्रमहरु तयार भएपछि एकैचोटी मोर्चा सार्वजनिक गर्ने बताए ।
0 comments:
Post a Comment