Thursday, August 6, 2015

रसुवा गढी नाका अझै खुलेन



रसुवा, श्रावण २२ । गत वैशाखको विनासकारी भूकम्पपछि बन्द भएको रसुवागढी भन्सार कार्यालय उच्चस्तरीय कुटनीतिक पहल नहुँदा तीन महिनादेखि ठप्प भएको छ । ठाउँ ठाउँमा पहिरोले भत्किएको सडक पुनर्निर्माण नहुँदा सो नाका ठप्प भएको हो । भूकम्पपछि आएको सुख्खा पहिरोले ध्वस्त बनाएको रसुवागढी भन्सार कार्यालयका सबै संरचना बिग्रिएपछि काम ठप्प भएको हो । टिमुरेमा कार्यालय स्थापना गरी कामकाज सन्चालनमा आईसक्दा पनि मित्र राष्ट्र चीनसँग कुटनीतिक पहल नहुँदा भन्सार सञ्चालनमा आउन नसकेको हो । भन्सार कार्यालयले निकासी पैठारी, अन्तःशुल्क र कर बापत दैनिक २५ देखि ३० लाख रुपैयाँ राजश्व संकलन गर्दै आएकोमा कार्यालय सुनसान रहँदा तीन महिना यता करोडौं राजश्व गुमेको छ ।
सन् २०१२ मा अन्तर्राष्ट्रिय भन्सार नाकाको मान्यता दिएको चीनले रसुवागढी नाकालाई प्राथमिकता दिँदै आएको थियो । भन्सार नाका सञ्चालनका लागि चीनले खम्बाटारमा एकीकृत भवन निर्माण भन्सार, अध्यागमन लगायतको काम गरिसकेको छ । त्रिदेशीय व्यापार गर्ने यो नाकालाई व्यवस्थित बनाउनका लागि सरकारले पनि प्राथमिकतामा राखेको थियो । सिगात्सेदेखि केरुङसम्मको रेलसेवा सञ्चालनका लागि धमाधम काम गरिरहेकाले चीनले यो नाका उच्च प्राथमिकतामा राखेको छ ।


0 comments:

Post a Comment