आन्दोलनकारीले एकतर्र्फी गुलेली, ढुंगामुढा, लाठी, भालालगायतका हतियार हामीमाथि लगातार बर्साए । हामीसँग रबर बुलेट र अश्रुग्यास मात्रै थियो । त्यो भएसम्म प्रयोग गर्यौं । भएको सबै सकियो । स्थिति नियन्त्रणमा आएन । उनीहरु झन् उग्र हुँदै निरन्तर आक्रमण गर्न थाले । पछाडि सशस्त्र प्रहरीको टोली थियो, गोली चलाउने आदेश छैन भन्दै पछाडि फर्कियो । हामी नेपाल प्रहरी २५ जना मात्रै थियौं । एसएसपी साबले फायर खोल्न आदेश दिनुभयो । तर, हामीसँग गोली र हतियार थिएन । हामीसँग भएको रबर बुलेट र अश्रुग्यास सबै सकिइसकेको थियो । घाइते भए पनि एसएसपी सावले फायर खोल्नुस् भन्ने आदेश सशस्त्र प्रहरीलाई दिनुभयो, उनीहरुले मानेनन् । आफ्नै एसएसपी मारिँदा पनि सशस्त्रका एसपी लक्ष्मण सिंह आदेश छैन भन्दै आफ्नो ज्यान जोगाउन पछि हट्नुभयो । सँगैका प्रहरीहरुलाई चोटपटक लागेको छ । उनीहरुले दुई दिनसम्म पनि खाना खाएका थिएनन् । उनीहरु निकै थकित र त्रसित देखिन्थे । एसएसपी सा’ब एकपटक आक्रमणकारीको बीचबाट फुत्कन सफल पनि हुनुभयो । तर, भागेर जाने बेला नजिकैको घरको बारमा अड्किनुभयो । उहाँलाई नजिकैको घरमा भित्रै लुकाएर हामी बाहिर निस्कएर खेततिरको नालामा बस्यौं । सरको सञ्चार सेट थियो । सञ्चार सेट बजेको आवाज सुनेर आन्दोलनकारी घरभित्र छिरेर सरलाई बाहिर ल्याई लाडी र भालाले हानेर मारे । उहाँले नमार्नुस् तपाईंहरुकै दाजुभाइ हुँ भनेर हात जोड्दा पनि उल्टै बढी बोल्छस् भनेर मारेरै छाडे ।
0 comments:
Post a Comment