Saturday, August 1, 2015

१२० घण्टा पुरिएका पेम्बा भन्छन्,‘अझैं डर लाग्छ’


काठमाडौ, श्रावण १६ - पेम्बा तामाङलाई धेरैले सायद अझै बिर्सेका छैनन् । महाभुकम्पको ६ दिनपछि जीवितै उद्दार गरिएका उनी देश/विदेशका सञ्चारमाध्यमका हेडलाइन बनेका थिए । भूकम्प आउनु अगाडिसम्म पेम्बालाई पृथ्वीमा यस्तो कम्पन हुनेबारे समेत राम्ररी थाहा थिएन । तर त्यस दिनको झण्डै एक मिनेटको धक्काले उनलाई एक सय २० घन्टा भग्नावशेषभित्र पुरिदियो । धन्न, पेम्बाको भाग्य र उद्दारकर्मीको सफलताले उनको उद्दार भयो । महाभूकम्पको तीन महिना बितिसक्दा पनि १५ बर्षे पेम्बालाई त्यो घटना हिजोझैं लागिरहेको छ । घरभित्र कतै छिर्‍यो कि फेरि भूकम्प आइहाल्छ कि भन्ने भयले अझै सताउँछ उनलाई । त्यही डरले उनलाई सपनामा समेत छाड्दैन । ज्यान निकै थाकेझैं हुन्छ । गोंगबुको चियापसलमा उनले सुनाए, ‘सुतेपछि उठ्नै सकिँदैनजस्तो लाग्छ । बल घटेझैं लाग्छ ।’ तर पेम्बा त्यति कमजोर बालक होइनन् । उनको कथाले त्यही भन्छ । कलिलै उमेरदेखि जिम्मेवारी बोक्न थालेका उनलाई सास्ती पनि सानैमा ठूलै पर्‍यो । नुवाकोट, गोर्‍स्याङका उनलाई तिथीमिथिको त्यति हेक्का हुँदैन । तर, सम्झन्छन्, ‘त्यस्तै ३ बर्षअघि आमासँग काठमाडौं आ’को ।’ आमा रोजगारीका क्रममा कुवेत पुगिन्, पेम्बा काठमाडौंमा बसे । होचो कदको चुलबुले पेम्बा साँझदेखि विहानसम्म नयाँ बसपार्क वरपर डुल्थे । उनको काम हुन्थ्यो, भुवनेश्वरी होटलमा बस्ने, खाने ग्राहक खोजेर ल्याउने । अनि दिनभर सुत्थे उनी । त्यसरी काम गर्दा कमाई कति हुन्थ्यो कहिल्यै हेक्का भएन उनलाई । चाहिएको बेलामा साहुसँग थोरैथोरै पैसा माग्थे । भूकम्प आएको दिन केहीबेर अघि मात्र उठेर खाना खान थालेका थिए । उनले सुनाए, ‘त्यसबेलै थकान मरेको थिएन, त्यसपछि त विजोगै भयो ।’ भाग्दाभाग्दै उनीमाथि घर बजारियो, धन्न उनी एउटा सुरक्षित कुनामा परे, हात फैलाउँदा घ्युको सिसि भेटियो जसकै भरमा उनी १ सय २० घन्टा भग्नावशेषबीचमा बस्न सके । पेम्बा धेरै बोल्दैनन् । पत्रपत्रिकामा उनीबारे के छापिए उनलाई त्यतिसारो मतलब पनि छैन । ‘फेसनेवल’ पेम्बा आफ्ना साथीहरुसँगै हुन्छन् धेरैजसो । अहिले पनि धेरैबेर उनी बाहिर डुलेरै बिताउँछन् जसले गर्दा भुकम्पको त्रासदी मेट्न सजिलो हुन्छ कि भन्ने लाग्छ उनलाई । आफसँगै काम गर्ने केही साथी गुमाएको पनि पीडा छ उनलाई । प्रिन्टेड टिसर्टमाथि टाँक नलाइकन चेक सर्टमा थिए उनी । हातमा ट्याटु खोपेका । कपाल कोरियन स्टाइलको बनाएका । भुकम्पपछि एकजना शुभेच्छुकले उनलाई अंग्रेजी भाषा कक्षा भर्ना गरिदिएकी छन् । अहिले उनी दैनिक ३ घन्टा त्यही कक्षामा बिताउँछन् । नेपालीबाट अंग्रेजीका शब्द सम्झनु र विस्तारै तिनलाई वाक्यमा ढाल्नु उनको गृहकार्य हुनेगर्छ । गाउँमै पाँच कक्षासम्म पढेका उनलाई अरु धेरै स्कुल धाउने रहर भने छैन । भाषा कक्षा सिके बिदेशमा काम पाउन सजिलो हुन्छ कि भन्ने लाग्छ उनलाई । पेम्बाले जानेको सीप म:म बनाउने हो । गाउँमै छँदा एक हुल दाईहरुसँग उनी भारतको पञ्जाब पुगेका थिए । त्यतिखेर उनी १० बर्षका मात्र थिए । पञ्जाबमा म:मको प्याकिङ गर्ने कम्पनीमा काम पाए उनले । चिकेन, पनिर र भेज म:म बनाउन आउँछ उनलाई । त्यहाँ झण्डै २ बर्ष त्यहाँ बिताउँदा उनले घरमा कमाएर ३० हजार पठाएका थिए । ‘पछि घरको न्यास्रो लाग्यो र फर्किएँ,’ पेम्बाले भने, ‘गाउँमा कोही नभएपछि फेरि काठमाडौं आएँ ।’ उनका बुवा सूर्य तामाङ काठमाडौंमा ट्याक्सी चलाउने काम गर्छन् । भुकम्पपछि भने पेम्बा आफ्नी दिदी र भाईसँग स्वयम्भुमा बस्छन् । भुकम्पमा पुरिँदा उनको मनमा धेरैचोटी गाउँ छाडेर किन काठमाडौं आएँ भन्ने लागिरह्यो । तर पनि उनलाई आफू बसेका सबै ठाउँ उत्तिकै प्रिय छन् । भन्छन्, ‘जहाँ बस्यो त्यहीं रमाइलो ।’

0 comments:

Post a Comment