Wednesday, September 2, 2015

‘सशस्त्रले गोली चलाउँदैन, तिनीहरुमाथि आक्रमण नगर्नु, नेपाल प्रहरीलाई टार्गेट गरे हुन्छ ’ रेशम चौधरीले यस्तो भनेका थिए


भदौ १६, काठमाडौं ।  टीकापुर घटनामा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपाने मारिंदा साथमै रहेको सशस्त्र प्रहरीले किन फायर खोलेन ? सशस्त्र प्रहरीकै गाडीमा त्यहाँ पुगेका सरकारका प्रथम श्रेणीका प्रहरी अधिकृतको ज्यान जाँदा पनि सशस्त्र मौन रहेको भन्दै प्रश्न उठाएको बेला गृहमन्त्रालयले त्यसको छानविन सुरु गरेको छ ।

एकातिर गृहमन्त्री बामदेव गौतममाथि सशस्त्र प्रहरीलाई पक्राउ अधिकार दिएर दुई संगठनबीच विवाद बढाएको आरोप लाग्नु अनि अर्को तिर नेपाल प्रहरीका अधिकारीको ज्यान जाँदा पनि सशस्त्र मौन बस्नुले स्वयं गौतम नै तनावमा परेको स्रोतको दाबी छ ।

गृहमन्त्री गौतमले यसबारेमा सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वस्तसँग विस्तृत विवरण माग गरेको स्रोतले जानकारी दिएको छ । सोमबार बसेको एमाले स्थायी समितिको बैठकमा पनि गृहमन्त्री गौतमले सशस्त्र प्रहरीको भूमिकाका बारेमा लामै असन्तुष्टी जाहेर गरेका थिए । स्थायी समितिका एक सदस्यले उनको भनाइ उदधृत गर्दै भने, ‘नेपाल प्रहरीका त्यति उच्च अधिकारीमाथि आन्दोलनकारीका तर्फबाट आक्रमण हुँदा सशस्त्र प्रहरीले किन गोली चलाएन ? मैले छानविन थालेको छु ।’

उक्त घटना हुँदा सशस्त्र प्रहरीका डिआइजी खडानन्द चौधरी त्यहाँका इन्चार्ज थिए । गृहलाई प्राप्त अर्को सूचनाअनुसार त्यसदिनको प्रदर्शन सुरु हुनुपूर्व थरुहट संघर्ष समितिका संयोजक रेशम चौधरीले ‘सशस्त्रले गोली चलाउँदैन, तिनीहरुमाथि आक्रमण नगर्नु, नेपाल प्रहरीलाई टार्गेट गरे हुन्छ’ भनेका थिए । विजय गच्छदारको नजिकका नातासमेत पर्ने डिआइजी चौधरीको भूमिकामाथि विशेष शंका गरिएको छ ।
–बुधबार साप्ताहिकमा खबर छ ।

0 comments:

Post a Comment