Friday, September 18, 2015

थाइ एयरवेजको विमान अवतरण गर्ने क्रममा आगलागी


काठमाडौं, असोज १ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा थाइ एयरको जहाजको चक्कामा आगो लागेको छ ।

बैंककबाट आएको थाई एयरको विमान शुक्रबार बिहान त्रिभुवन विमानस्थलमा अवतरण गर्नेक्रममा पछाडिको बायाँ चक्कामा आगो लागेर धुवाँ निस्केको थियो । विमानका सबै यात्रु भने सकुशल रहेको विमानस्थल सुरक्षा स्रोतले जनाएको छ ।

चक्कामा आगो लागेको थाहा पाएपछि विमानस्थल प्रशासनले तत्कालै सबै यात्रुलाई ओरालेको हो । एक सयभन्दा बढी यात्रु बोकेर काठमाडौं आएको विमान अवतरण गर्ने क्रममा एक्कासि चक्कामा आगो लागेको थियो । विमानस्थलका प्राविधिकले चक्कामा लागेको आगो निभाएका थिए ।

विमानस्थल स्रोतका अनुसार जहाजको चक्कामा आगो लागेपछि केहिबेर विमानस्थलमा खैलाबैला मच्चिएको थियो ।
त्यसो त, थाइ एयरवेजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निकै सतर्कता अपनाउँदै आएको छ । वर्षामा सामान्य पानी पर्दासमेत थाइ एयरवेजका विमान त्रिभुवन विमानस्थलमा अवतरण नगरी फर्किन्छन् । यसका बाबजुद थाइ एयरवेजका विमान दुर्घटनाका क्रममा कमी आएको छैन ।
गत वर्ष चैत ८ गते बैंककबाट काठमाडौं आएको थाइ एयरवेजको बोइङ ७७७ अवतरणका क्रममा चरासँग ठोक्किएको थियो । अवतरणका क्रममा रहेको विमानको दायाँ इन्जिनमा चरा ठोक्किएको थियो ।
विसं. २०४९ सालमा थाइ एयरवेजको विमान नुवाकोटको घोप्टेभिरमा दुर्घटना हुँदा ११३ जनाको मृत्यु भएको थियो ।
विमान दुर्घटना अन्य दुर्घटनासरह भवितब्य भएको विज्ञहरु बताउँछन् । यद्यपी कहिलेकाहीँ पाइलटको कुशलताले ठूलो दुर्घटना टरेको उदाहरण पाइन्छ भने कहिलेकाहीँ पाइलटकै सानो भूलले ठूलो दुर्घटना निम्त्याउने गरेको उदाहरण पनि पाइन्छ ।

0 comments:

Post a Comment