Thursday, September 24, 2015

मोर्चाका कार्यकर्तालाई भन्सारबाट हटाउँदा गोली चल्यो


झडपले वीरगञ्जको दशगजा क्षेत्र तनावग्रस्त
वीरगन्ज : नेपाल–भारतको दशगजा क्षेत्रमा धर्ना बसेर नाका ठप्प पारेका मधेसी दलका नेता कार्यकर्तालाई प्रहरीले बल प्रयोग गरेर हटाएको छ ।

वीरगन्ज–रक्सौलबीचमा रहेको मितेरी पुलस्थित दशगजा क्षेत्रमा बिहीबार बिहान १० बजेदेखि धर्ना बसी नाका ठप्प पारेका मधेसी दलका नेता कार्यकर्तालाई प्रहरीले दिउँसो २ बजे बल प्रयोग गरेर तितरबितर पारेको हो ।

मितेरी पुलको दशगजा क्षेत्रमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र संघीय समावेशी मधेसी मोर्चाका नेता कार्यकर्ताहरुले छुटटाछुटटै धर्ना दिइ नाका ठप्प पारेका थिए ।

धर्नामा बसेकालाई प्रहरीले शुरुमा उठन आग्रह गरेको थियो । तर, उनीहरुले नमानेपछि प्रहरीले भ्यानमा हाल्न खोज्दा झडप शुरु भएको थियो ।

झडपका क्रममा प्रहरीले एक राउण्ड हवाइ फायर र चार राउण्ड अश्रु ग्यास प्रहार गरेको छ ।

प्रदर्शनकारीहरुले ढुंगामुढा प्रहार गरेपछि हवाइ फायर र अश्रुग्यास प्रहार गर्नुपरेको पर्साका प्रहरी नायव उपरीक्षक होमेन्द्र बोगटीले बताए ।

प्रहरीले धर्नामा बल प्रयोग गरेर हस्तक्षेप गरेपछि मधेसी दलका नेता कार्यकर्ताहरु तितरबतिर भएका छन् ।

करिब पाँचको संख्यामा रहेका प्रदर्शनकारी अहिले भारततर्फको पुल क्षेत्रतिर छन् भने प्रहरी नेपाल तर्फको पुल क्षेत्रमा छन् ।

पुल पारीको भारतीय भन्सारक्षेत्रमा भारतीय सीमा सुरक्षा बल एसएसबी पनि ठूलो संख्यामा परिचालन भएको छ ।

दशगजा क्षेत्र अहिले पनि तनावग्रस्त छ । दुवै मोर्चाले  वीरगन्ज–रक्सौल नाकामा रहेको मितेरी पुलस्थित दशगजाक्षेत्रमा बिहीबार बिहान १० बजे देखि धर्ना दिएर नाका ठप्प पारेका थिए ।

बुधबार सप्तरीको राजविराजमा बसेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठकले आमहड्ताल जारी राख्ने निर्णय गरेको थियो ।

बैठकले नेपाल भारतको नाका ठप्प पार्ने निर्णय गरेअनुसार बिहानदेखि मधेसी दलका नेता कार्यकर्ताहरुले वीरगन्ज–रक्सौल नाकाको दशगजा क्षेत्रमा धर्ना दिएर नाका ठप्प पारेका हुन् ।

0 comments:

Post a Comment