Friday, September 18, 2015

कतारको आँखा : ‘लुट’ले लुटेको राजेश हमालको क्रेज


आफूलाई विकसित र भव्य मुलुकको रुपमा चिनाउँदै लगेको कतारको विमानस्थल झर्ने वित्तिकै नेपालीसँग भेट हुन्छ । कतारको भव्य विमानस्थलमा नेपालीहरु विभिन्न पोष्टमा काम गर्छन् । विमानस्थलका विभिन्न विभागमा नेपालीहरुले काम गर्ने  भएकै कारण पनि कतारमा विभिन्न कारणले आउने नेपालीहरुलाई धेरै  सजिलो पनि भएको छ । कतारको विमानस्थलदेखि भेटिने नेपालीहरु विभिन्न क्षेत्रमा काम गरिरहेका छन् । तर, जे जस्तो स्थानमा काम गरेपनि उनीहरुको नेपाल र नेपाली कला संकृती प्रतीको माया भने अथाहा नै छ ।
विमानस्थलमा नेपालबाट आउने कलाकारहरुलाई परैबाट चिन्छन् उनीहरु । कलाकारका चलचित्रको नामदेखि कथावस्तु समेत सुनाउछन् । युटुबले अहिले विदेशमा बस्ने नेपालीलाई नेपाली चलचित्रसँग नजिक बनाउने काम गरेको छ । नेपाली चलचित्र र गीतसंगीतप्रति उनीहरुले देखाएको माया साच्चै लोभलाग्दो छ । यसैले त कतार आउने नेपाली कलाकारले यहाँ ठूलो सम्मान पाउने गरेका छन् ।

कतारको विमानस्थलमा भेटिएका एक नेपाली थिए, कृष्ण । विगत ८ बर्षदेखि कतारको कतार एयरवेजमा काम गर्दै आएका कृष्ण नेपाली चलचित्रसँग खुबै जानकार छन् । उनले युटुबमा नेपाली चलचित्र हेर्ने गरेको बताए ।
कुराकानीका क्रममा उनले नेपाली चलचित्रको स्वरुप र बिषय बदलिएको कुरा गरे । जब चलचित्र ‘लुट’ सार्वजनिक भयो, यसपछि नेपाली चलचित्रका शक्तिशाली नायक राजेश हमालको क्रेज घट्यो’, उनले विश्लेषण सुनाए । राजेश हमाललाई सधै पर्दामा एकै रुपमा हेरेकाले पनि ‘लुट’ले उनको क्रेज लुटेको कृष्णको भनाई छ । अहिले नेपाली चलचित्रका नयाँदेखि पुराना चलचित्रका कुरा राम्रैसँग थाहा छ यहाँका नेपालीलाई । नयाँ नेपाली चलचित्रका गीत बरु नेपालमा बस्ने दर्शकले थाहा नपाउलान्, कतारमा बस्नेहरुलाई थाहा हुन्छ ।
राजेश हमालले पनि आफूलाई फरक-फरक गेटअपमा प्रस्तुत गरेको भए, सायद उनको क्रेज अहिले पनि उस्तै रहने वुझाई केही नेपालीले सुनाए । तर, ‘लुट’ चलचित्र बजारमा आएसँगै पुराना स्टारको क्रेज घटेर दयाहाङ राई  जस्ता कलाकार जन्मिएको वुझाई केही नेपालीले सुनाए ।
सेप्टेम्बर २४ मा आयोजना हुन लागेको ‘आठौ नेफ्टा फिल्म अवार्ड’का कारण पनि अहिले कतारको माहोल गर्माएको छ । अवार्डलाई भव्य बनाउनका लागि नेपालीहरु लागिपरेका छन् । १७ हजार दर्शक अट्ने स्टेडियममा करिब १५ हजार दर्शकको अपेक्षा गरिएको छ ।
-अनलाइन खबर बाट

0 comments:

Post a Comment