Thursday, September 17, 2015

राष्ट्रपतिले आइतबार संविधान जारी गर्ने, सम्बोधन नगर्ने


 सामान्य व्यक्तिले लेखेको पुस्तक विमोचन गर्दा कार्यक्रमका अतिथिले पुस्तक विमोचन गरी त्यसमाथि सक्षिप्त मन्तव्य दिने चलन छ।

संविधानसभाबाट बुधबार पारित भएको नयाँ संविधानलाई राष्ट्रपति रामवरण यादवले असोज ३ गते संविधानसभा भवनमा आयोजित औपचारिक राष्ट्रिय समारोहबाट सार्वजनिक गर्दा पुस्तक विमोचन कार्यक्रम जत्तिको पनि नहुने भएको छ।

राष्ट्रपति यादवले उक्त दिन संविधानको एक प्रतिमा तोकिएको ढाँचामा हस्ताक्षर गरी सार्वजनिक गर्ने बाहेक अन्य कुनै कार्यक्रम रहेको छैन।

संसद सचिवालय स्रोतका अनुसार, संविधानसभाको मंगलबार र बुधबारको निर्णय बमोजिम आइतबार अपरान्ह ५ बजे राष्ट्रपति यादव संविधानसभा बैठक कक्षमा उपस्थित भई सभाध्यक्ष सुवासचन्द्र नेम्वाङले प्रमाणीत गरेको नेपालको संविधान २०७२ को अनुसूचिमा हस्ताक्षर गरी सार्वजनिक गर्नेछन्।

त्यसबाहेक राष्ट्रपति यादवले उक्त कार्यक्रममार्फत मुलुक र जनतालाई सम्बोधन गर्ने वा कुनै शब्द उच्चारण गर्ने कार्यक्रम नभएको सचिवालयका एक अधिकारीले सेतोपाटीलाई बताए।

संविधानसभा नियमावली २०७० को नियम ११० अनुसार, संविधानसभाले पारित गरेको संविधानको विधेयकको पाँचप्रतिमा शुक्रबार सबै सभासदले हस्ताक्षर गरीसकेपछि अपरान्ह ३ बजे संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले हस्ताक्षर गरी प्रमाणीत गर्नेछन्। यसरी सभाध्यक्ष हस्ताक्षर गरीसकेपछि उक्त विधेयकले संविधानको रुप धारण गर्नेछ।

सोही नियमको उपनियम ३ अनुसार, आइतबार बस्ने संविधानसभाको बैठकलाई नै सभाध्यक्षले औपचारिक राष्ट्रिय समारोहमा परिणत गर्दै संविधानको प्रमाणीत प्रति राष्ट्रपतिसमक्ष पेश गर्नेछन्। जसमा सोही नियमको अनूसूचि ७ बमोजिम उल्लेखित ढाँचामा हस्ताक्षर गरी नेपाली जनतासमक्ष नयाँ संविधान प्रारम्भ भएको घोषणा गर्ने छन्।

नियमावलीमा व्यवस्था भएबमोजिम राष्ट्रपति यादवले संविधानको उक्त अनुसूचिमा हस्ताक्षर गरी लागू भएको घोषणा गर्ने उल्लेख भएपनि सभाध्यक्षले राष्ट्रपतिलाई कुनै औपचारिक सम्बोधनका लागि आग्रह गर्ने कार्यक्रम राखिएको छैन।

सचिवालयको तयारी अनुसार आइतबार अपरान्ह ४:४५ बजेभित्र सबै सभासदहरु सभाकक्षमा औपचारिक पोसाक वा आफ्नो मौलिक पोशाकमा उपस्थित भएर आफ्नो स्थानमा बसीसक्नु पर्नेछ।

त्यसपछि राष्ट्रपति यादव विशेष सवारीका साथ संविधानसभा भवनमा पुगेपछि उनलाई सभाध्यक्षले स्वागत तथा सेनाको एक टुकडीले विशेष सम्मान प्रकट गर्दै बैठक कक्षमा प्रवेश गराउनेछन्।

सभाध्यक्षले राष्ट्रपति यादवलाई आफ्नो कुर्सीको दाँयापट्टी राखिएको विशेष कुर्सीमा आसन गराउँदै बैठक सञ्चालन गरी संविधानको प्रति हस्तान्तरण गर्नेछन्। जसमा उनले हस्ताक्षर गरी पुस्तक विमोचन गरेजसरी सार्वजनिक गर्ने छन्। त्यसपछि सभाध्यक्षले छोटो मन्तव्य व्यक्त गर्दै यादवलाई विशेष धन्यवाद सहित विदाइ गर्नेछन्।

कुनै विदेशी पाहुनालाई आमन्त्रण गरिएको छैनः सचिवालय

नयाँ संविधान जारी गर्ने दिन असोज ३ गतेको औपचारिक कार्यक्रममा संविधानसभा अध्यक्ष वा सचिवालयले कुनै पनि देशका विशेष प्रतिनिधिलाई औपचारिक आमन्त्रण गरेको छैन।

संविधानसभा सचिवालयका अनुसार, संविधान जारी गर्ने विशेष कार्यक्रमको तिथि मिति र समय छोटो अवधिमा तय भएको कारण कुनै पनि देशका प्रतिनिधिलाई आमन्त्रण गरेको छैन।

सरकारका कतिपय पदाधिकारीहरुले अर्न्तराष्ट्रिय समुदायको सहयोग र समर्थन जुटाउन विभिन्न मुलुकका विशेष प्रतिनिधिलाई डाकिएको दाबी गरेपनि सचिवालयले आइतबारको कार्यक्रमलाई सरकारको वार्षिक निती तथा कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रम भन्दा फरक नभएको बतायो।

उक्त दिन नेपालस्थित अन्तराष्ट्रिय संघसंस्था र दूतावासका प्रतिनिधि बाहेक अहिलेसम्म कुनै पनि देशबाट विशेष प्रतिनिधि उपस्थित हुने कार्यक्रम राखिएको छैन, सचिवालयका एक उच्च अधिकारीले भने।

त्यसबाहेक संविधान जारी हुने दिन सबै संबैधानिक निकायका पदाधिकारी, राजनीतिक दल र नागरिक समाजका प्रतिनिधि तथा पूर्व सभासदहरुलाई समारोहमा आमन्त्रण गरिने छ।

संविधानसभा बैठक कक्षको क्षमता र उपस्थित पाहुनाहरुको संख्यालाई मध्यनजर गर्दै सचिवालयले कतिपय अतिथिहरुका लागि बैठक कक्षसँगैको ल्होत्से हलमा कुर्सीहरु राखी टेलिभिजन स्क्रीनमार्फत प्रत्यक्ष प्रसारणको व्यवस्था मिलाएको छ।

११०. अध्यक्षद्वारा विधेयक प्रमाणित तथा राष्ट्रपतिद्वारा संविधानको घोषणा :  (१) संविधानसभाबाट पारित भएको संविधानको विधेयकको अन्त्यमा संविधानसभाका प्रत्येक सदस्यले हस्ताक्षर गर्नेछन।

(२) उपनियम (१) बमोजिम सदस्यहरुले हस्ताक्षर गरेको संविधानको विधेयक अध्यक्षद्वारा प्रमाणीत भएपछि त्यस्तो विधेयकले संविधानको रुप धारण गर्नेछ।

तर कुनै सदस्यको हस्ताक्षर हुन बाँकी रहेको कारणले मात्र यस नियम बमोजिम संविधानको विधेयकको प्रमाणीत गर्न बाधा पर्ने छैन।

(३) उपनियम (२) बमोजिम प्रमाणीत भएको संविधानमा संविधान प्रारम्भ हुने भनी निर्धारण गरिएको मितिमा संविधानसभाले औपचारिक राष्ट्रिय समारोहको आयोजना गरी पारित संविधानको प्रति अध्यक्षले राष्ट्रपति समक्ष पेश गर्नेछ र राष्ट्रपतिले सोही समारोहमा प्रस्तुत संविधानको प्रतिमा अनुसूचि–७ बमोजिमको ढाँचामा हस्ताक्षर गरी नेपाली जनता समक्ष नयाँ संविधान प्रारम्भ भएको घोषणा गर्नेछ।

(४) उपनियम (३) बमोजिम घोषणा भएको संविधानको एकप्रति संविधानसभा सचिवालयको अभिलेखमा राखी अर्को एक–एक प्रति राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र कानून, न्याय, संविधानसभा तथा संसदीय मामिला मन्त्रालयमा पठाइनेछ ।

अनुसूची ७ मा यस्तो छ -

अनुसूची –७

(नियम ११० को उपनियम (३) सँग सम्बन्धित)

संविधान प्रारम्भ भएको घोषणाको ढाँचा

संविधानसभाबाट पारित एवं संविधानसभाका अध्यक्षद्वारा प्रमाणित भई प्रस्तुत नेपालको संविधान आज मिति..........................मा प्रारम्भ भएको नेपाली जनता समक्ष घोषणा गर्दछु।

0 comments:

Post a Comment