Friday, September 18, 2015

सभासदहरुको हस्ताक्षरसहित संविधान प्रमाणिकरण


काठमाडौं, असोज १ - संविधानसभाबाट पारित भएको ‘नेपालको संविधान २०७२’ मा सभासदहरुले हस्ताक्षर गर्ने काम सकिएको छ । शीर्ष नेताहरु सहित सबै सभासदले हस्ताक्षर गरेपछि सभाध्यक्ष सुवासचन्द्र नेम्वाङले प्रमाणिकरण गर्नुभएको छ । सभाध्यक्षले प्रमाणिकरण गर्ने समारोहमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति सुशील कोइराला, एमाले अध्यक्ष केपी शर्मा ओली, एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायत तीन दलका शीर्ष नेताहरुको उपस्थिति थियो । बिहान ९ बजेदेखि हस्ताक्षरको काम सुरु भएको थियो । हस्ताक्षर कार्यक्रममा फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार नेतृत्वको मोर्चामा आवद्ध सभासद पनि सहभागी हुने भनिएपनि सहमति नभएपछि उनीहरु सहभागी भएनन् ।

हस्ताक्षर कार्यक्रममा भैरहँदा सभासदहरुले यसलाई विशेष उत्सवको रुपमा लिंदै फोटो सेसन गरेका थिए । हस्ताक्षर कार्यक्रमको ऐतिहासिक क्षणलाई मोबाइल र क्यामेरामा कैद गर्न सभासदहरुबीच तँछाडमछाड देखिन्थ्यो । प्रधानमन्त्री कोइराला, ओली, प्रचण्ड, पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, झलनाथ खनाल, शेरबहादुर देउवा लगायतका शीर्ष नेताहरुले समेत आआफ्नो मोबाइलबाट तस्वीर खिच्न व्यस्त देखिन्थे ।
सभाध्यक्ष नेम्वाङले प्रमाणिकरण गरेपछि संविधानको प्रतिलाई पर्सि ३ गते बेलुकी ५ बजे संविधानसभामा हुने औपचारिक राष्ट्रिय समारोह एवम् विशेष बैठकमा राष्ट्रपति समक्ष सभाध्यक्षले पेश गर्नुहुनेछ । राष्ट्रपति डाक्टर रामवरण यादवले संविधानको प्रतिमा हस्ताक्षर गरी नेपाली नागरिक समक्ष नयाँ संविधान प्रारम्भ भएको घोषणा गर्नुहुनेछ ।

0 comments:

Post a Comment