हिजो रातीदेखि निदाउन सकेको छैन । किनभने विश्वास गर्न सकेको छैन । विश्वास र निद्रामा धेरै समानता हुन्छन् क्यारे । सबै ठिक छ भन्ने लागेपछि निद्रा लाग्ने ।
त्यही विश्वास जाग्न नसकेरै निद्रा लागेन । के गरौं ?
खवर आएको छ, 'साहरुख खानको देहान्त भयो ।' मेरी आफ्नै बैनीले हिजो बेलुका यो खबर सुनाउँदा धेरै गाह्रो गरी सुनाएकी थिई । लगभग रोएको अवस्थामा । मैले साहरुखकी काजोललाई सम्झे । निद्रा कसरी पर्छ र ? मलाई थाहा छ, साहरुखको मृत्युमा मेरो हात छैन तर काजोललाई त्यहाँसम्म पुर्याउन कतै न कतै मेरो हात पनि छ । हिजो गौरब लाग्थ्यो, दुई प्रेमीलाई मिलाउन मैले सहयोग गरें । आज थोरै अपराध बोध पनि हुन थालेको छ । अब काजोल एक्ली भइ । कुनै दिन मलाई उसले ती पुराना घटनामा मेरो संलग्नताको विषयलाई लिएर उठाएर प्रश्न गरी भने मैले के जबाफ दिनु ? के प्रेम मात्रै सबैथोक हो भन्न मैले पाउँछु ? प्रेमका बारेमा लेख्नु र यथार्थ भोग्नु फरक कुरा हो कि । उसले नसोध्न पनि सक्छे तर मन कहाँ मान्छ ? प्रेम लेखक अश्विनी कोइरालले बिगतमा गरेको गौरब गर्ने गरेको एउटा घटना अहिले पासो बनेको छ । करिब १२ घन्टा हुन लाग्यो, यसबाट मुक्ति पाउन सकेको छैन । जब मान्छे भित्र भित्रै छट्पटिन्छ, उसलाई के गर्ने होस हुँदैन । यो बेहोसी मै म यी कुरा लेख्दैछु । तपाईंलाई गलत लागे, डिलिट गर्न सुझाब दिनुहोला । सहि भए पछि कुनै दिन कथामा पनि राखौंला । माफ गर प्यारी काजोल, म तिम्रो कथा लेख्न बाध्य भएँ । धेरैलाई थाहा नभएको कुरा खोल्न बाध्य भएँ ।
काजोल हाम्री साथी थिई । अझ छिमेकी पनि । ऊ काली भएकैले हामीले उसको नाम काजोल राखेका होइनौ । जब उसले साहरुखलाई मन पराई, उसलाई पाउनै पर्छ भनेर हत्ते गर्न थाली, त्यसपछि उसको नाम हामीले काजोल राखिदिऔं ।
उसको एउटा आँखा अलिकति सानो थियो । बच्चा थियौं, मन सफा थियो । लोक-लाज जान्दैनथ्यौ । यहि कारण उसका सबै राम्रा अङ्ग बिर्सेर हामी उसको आँखाको बद्नाम गरिदिन्थ्यौ । भन्थ्यो, 'तँ जस्ती डेढीलाई तेरो साहरुखलाई किन मनपराउँछ ? तँ उसको उसको खुट्टामा पनि बाँध्न सुहाउँदिनस् ।'
हामीले यसो भन्दा रिसले आगो हुन्थी । खेदेको खेदै, हामी मध्ये कसैलाई पक्रन्थी र मरुन्जेल कुट्थी । उ हामीलाई कुट्दै रुन्थी र भन्थी, तिर्मेकै अघि त्योसँग भागेर देखाइदिन्छु । तिमेरु बाहुन-बाहुनी जस्तो म नामर्द होइन ।'
हुन पनि हो, हामी बाहुन-बाहुनी कतिपय एक-अर्कालाई मनपराउँथ्यौं । भन्न सक्तैनथ्यौ । भनिहाले पनि स्वीकार गर्न डराउँथ्यौ । काम्दो हातले एकअर्कालाई छुन्थ्यौ तर एउटा हातले छोएको अर्को हातले चाल नपाओस् भनेझैं गर्दथ्यौं । उ भने हाकाहाकी हामी साथीहरुसँग साहरुख खान मनपराएको र उसैसँग भाग्ने घोषणा गर्थी । उसलाई भेट्न जान्थी र साँझ परेपछि मात्रै र्फकन्थी । यत्ती हो, उसका गाईबस्तु हामीले हेरिदिनु पर्दथ्यो । कहिलेकाहीँ घाँस काटिदिनु पर्दथ्यो । उसको प्रेमको ढाकछोप गरिदिनु पर्दथ्यो । उसले प्रेम कसरी गर्नुपर्छ भनेर हामीलाई धेरै पटक सिकाई, हामीले कहिलै सिक्न सकेनौं ।
एक दिन दसैंको टिकाका दिन, उसले घरबाट टिका र जमरा चोरेर ल्याई । भनी, 'मेरो साहरुख खानले मलाई आज टिका लगाइदिन्छ, आर्शिवाद दिन्छ । सबैभन्दा पहिले म उसकै हातको टिका लगाउँछु । साक्षी तिमेरु बस्नुपर्छ ।' यो उसको जिद्दि प्रेमको अनौठो नमूना थियो । हामीले यसलाई पागलपन ठान्यौं, तर उ यस्ता कुरालाई प्रेमको लिला भन्थी । त्यो बेला केटाकेटीले कुनै चकचक गरे भने ठूला बडाले भन्थे, 'यी केटाकेटीको लिला खपिसक्नु छैन । वाक्क भैसक्यौं ।' त्यही शब्द सापटी लिएर भन्थी, 'यो मेरो प्रेमलिला हो ।'
नभन्दै त्यो दिन विहान १० बजेतिर उसको साहरुख खान खेतमै मोटरसाइकल लिएर आयो । मोटरसाइकललाई कसैले नदेखिने गरी खेतको गरामा लडायो र अलि पर गएर बस्यो । हामी ४ जना साथीहरु हाम्री काजोललाई लिएर उसको नजिक पुग्यौं । काजोलले जमरा-टिका उसको हातमा दिएर घुँडा टेकेर बसी । साहरुखले बडो स्पष्ट शब्दमा आयुद्रोणनसुने श्रेयमदशरथे...भन्न थाल्यो । काजोल आँखा चिम्लेर दुई हात थापेर आर्शिवाद लिइरही । जब मन्त्र र आशिर्वाद सकियो । काजोलले हाम्रो आँखालाई अविश्वास लाग्ने काम गरी... उसको खुट्टामा ढोकिदिई । आमोई... के गरेको...हामी भन्दै थियौं । साहरुखले भन्यो, 'भाग्यवती भव, पुत्रवती भव ।'
त्यो दिन साहरुखले मसँग गम्भीर भावमा भन्यो, 'हेर अश्विनी, म उसलाई भगाएर काठमाडौं लैजादैछु । तिमीले सहयोग गर्नुपर्छ । समय आएपछि के गर्ने त्यो यिनले भन्नेछिन् । उसको दाजु-दिदीसँग नडराउनु । प्रेमलाई सहयोग गर्नु धर्म पनि हो ।'
त्यो वर्षको तिहारमा हामी धेउसी-भैले खेल्दै साहरुखको गाउँ पुग्यौं । अरुको घरमा भन्दा साहरुखको घरको दक्षिणा लिन अलि समय लाग्यो । कारण राती हुँदी दुईजना लामो समय हराएका थिए । र्फकदा उसलाई हामीले चाहिँदो नचाहिँदो भनेर जिस्क्याउँन थाल्यौं । उसले केही पनि जबाफ दिइन । बरु गम्भीर, झन् गम्भीर हुँदै गई । बोल्दै बोलिन । हामी आ-आफ्नो घर छिर्यौं । मेरो घर छिर्नुअघि काजोलले भनी, 'अश्विनी हामी भोली भाग्दैछौं । तिमी मसँग जानुपर्छ । हामीलाई गाडी चढाएर मात्र तिमीले र्फकन पाउँछौं ।'
किन उनीहरुले मलाई नै विश्वास गरे, थाहा छैन । तर उसले विहानै कपडाको झोला ल्याएर मलाई दिई । त्यसपछि बसपार्कको होटल, जहाँ उसको साहरुख उसलाई पर्खीरहेको थियो, त्यसको ठेगाना पनि । म ठेगाना दिइएको होटलमा पुग्ों । साहरुख बियर खाइरहेको थियो । कपडाको झोला उसलाई दिएपछि उसले त्यसलाई मिलाएर आफ्नो ब्यागमा हाल्यो । काजोल आइपुगेकी थिइन, मेरा लागि पनि बियर मगायो । म खान्न भन्दै थिएँ, उसले भन्यो, 'म पनि बाहुन नै हुँ । यत्रो सहयोग गरेका छौ, मैले आज त्यतिकै पठाउन मिल्दैन ।' जीवनमा पहिलो पटक बियर चाखें । साहरुखले नै मलाई बियरको स्वादको वर्णन गर्दै आजको जुगमा यो अनिवार्य तरल पदार्थ भएको बतायो । मैले एक गिलास खाँदा उसले ४ बोतल भ्याइसकेको थियो ।
करिब दुई-तीन घन्टा थोत्रे कपडा लगाएर हाम्री काजोल होटलमा आइपुगी । घाँस काट्ने हसिँया उसको साथमै थियो । साहरुखले हँसियालाई कोठाको एउटा कुनामा हुत्यायो र उसले भर्खरै किने जस्तो लाग्ने नयाँ कुर्तासलवार लगाउन दियो । उसले काजोलको गाडी नम्बर र सिट नम्बर दियो र बाहिर निस्कियो । मैले नै काजोललाई उसको सिटमा पुर्याएँ । दुईजनाको सिट नम्बर फरक थियो । गाडी नहिँडुन्जेल म काजोलसँगै थिएँ । उसको न्याउरो अनुहारलाई सकेसम्म खुसी बनाउने प्रयास गर्दैथिएँ ।
उनीहरु भागेर काठमाडौं पुगे तर गाउँबाट मेरो उठिबास लाग्यो । प्रहरी सई भएको उसको दाइले मलाई दुई थप्पड लगाएर उसको ठेगाना मागे । मैले दिन चाहिन । धेरै फिल्ममा प्रेमका लागि कुटाइ खाएको दृष्य मैमाथि घटिरहेको थियो । गाउँलेहरुले मलाई छि छि र दूर दूर गरिरहेका थिए । म भने भित्रभित्रै गौरव गरिरहेको थिएँ । कतिसम्म भयो भने हामी दुई परिवारको बोलचाल बन्द भयो । काजोलका सबै परिवारहरु पढेलेखेकै थिए तर आफ्नै जातको केटो नखोजेको र सुटुक्क भागेकोमा उनीहरुको आपत्ती थियो । त्यसमा पनि मैले नै प्रेम गराएको र भगाएको भन्ने आरोपले सारा रिस ममाथि खनिएको थियो ।
जब म पत्रकारिता गर्न काठमाडौं आएँ, पहिलो बास उनीहरुकै डेरामा बसें । कौसलटारको एउटा साँगुरो कोठामा उनीहरुको स्वर्ग जस्तो संसार देखेर खुसी भएको थिएँ । खुसीमा फेरी पनि वियरका बोतल खोलिएका थिए ।
आज २० वर्षपछि साहरुखको मृत्युको खबर आएको छ । ती सारा दृष्य फनफनी घुमिरहेका छन् । आज यत्रो वर्षपछि पनि काजोलको परिवारसँग राम्रो सम्बन्ध स्थापित हुन सकेको छैन । त्यति मात्र कहाँ हो र, त्यो दिनदेखि मेरी काजोलले माइतीघर टेकेकी छैन । कसैले पनि बोलाएनन्, उसले पनि निहुरिएर माइती घर आउन पाउँ भन्ने बिन्ती चढाइन । उनीहरु काठमाडौं बसुन्जेल म नै माइती र साथी थिएँ । पछि फर्केर उनीहरु बिराटनगर गए । त्यो बेला पनि बेला बेलामा कुराकानी हुन्थ्यो । त्यो बेला सबै ठिकै थियो तर खबर यस्तो आएको छ ।
प्यारी काजोल, मलाई थाहा छ, हिन्दी चलचित्रकी काजोल जस्ती तिमी थिइनौ । छैनौ । तर तिम्रो साहरुख खान साच्चै नै साहरुख जस्तै थियो । उमेर पनि साहरुख कै हाराहारीमा हुनुपर्छ । उसले हाँस्दा एकापट्टीको कालामा डिम्पल पर्दथ्यो, साहरुख जस्तै । उसले छानी छानी साहरुख कै पहिरन किन्थ्यो र तिमीलाई अलिकति मनपरेन भने यो त साहरुखले लगाउने जस्तो छैन भन्थ्यौं, उसले परिवर्तन गर्दथ्यो । काजोलले अजय देवगनसँग विवाह गरेको खबर सुनेर कुनै नेपाली दुःखी भएको थियो भने त्यो तिमी नै थियौ । र, विवाहपछि उसले लामो समय साहरुखसँग फिल्म नखेल्दा तिमी उस्तै दुःखी भएकी थियौं । र, त्यो चिच्याएर खुसी भएको आवाज पनि मेरो कानमा गुञ्जिरहेको छ, जब तिमीले 'माई नेम इन खान' फिल्ममा साहरुख र काजोलसँगै फिल्म खेल्न लागेको समाचार सुनाएकी थियौं ।
आज सबै कुरामा ग्रहण लागेको छ । अब तिम्रो साहरुख तिमीसँग छैन । किन छैन ? म तिमीलाई कसरी सम्झाऊ, के भनेर सम्झाऊ । यति भन्छु, संसारमा सबै जना सधैंभरी खुसी हुन सक्दैनन् । तिम्रो हकमा पनि यहि लागू भयो ।
तै पनि तिम्रो साहरुख तिमीसँगै छ, तिम्रो यादमा । तिमीले उसँग स्वणर्ीम २० वर्ष बितायौं । सानैमा विवाह गर्यौं र यति लामो अवधि प्रेम गर्न पायौ । सबैको भाग्यमा यति लामो प्रेम कहाँ लेखेको हुन्छ र ? थप २० वर्ष त उसका प्रेम नै सम्झेर जीवन बिताउन सक्छौं । छोराछोरी हुर्कदैछन्, उनीहरुलाई हेरेर पनि चित्त बुझाउन सक्छौं । ध्यान दिएर हेर त तिम्रो छोरो बाऊ जस्तै साहरुख जस्तो छैन र ?
@ekantipur.com
0 comments:
Post a Comment