Saturday, September 19, 2015

भोलि कडा सुरक्षाबीच जारी हुँदै नयाँ संविधान


काठमाडौँ : संविधान जारी भएको घोषणा हुने दिनमा अप्रिय घटना नहोस् भनेर आइतबारका लागि सरकारले सुरक्षा व्यवस्था कडा पारेको छ।

सुरक्षालाई ध्यानमा राखी चारै सुरक्षा निकायअन्तर्गतका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र अनुसन्धान विभागलाई तयारी अवस्थामा राखिएको गृह मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले बताए।

सरकारले देशैभर खानतलासी, जाँच र  गस्ती बढाएको छ। प्रवक्ता ढकालले भने – “शान्ति सुरक्षामा खलल पुर्‍याउने, ताडफोड र आगजनी गर्नेहरुलाई स्थानीय प्रशासन ऐनअनुसार तुरुन्त कारबाही गर्न निर्देशन दिइएको छ।”

उनले आवश्यकताअनुसार सबै सुरक्षा निकाय परिचालनको तयारी गरिएको बताए। संविधान घोषणाको दिन देशभर गरिने दीपावलीमा सहभागीका लागि समेत आवश्यक सुरक्षा प्रबन्ध मिलाइएको उनको भनाइ थियो।

संविधानसभा भवनमा विशेष सुरक्षा

संविधान जारी हुने स्थान संविधानसभा भवन नयाँ बानेश्वरमा आइतबारका लागि विशेष सुरक्षा व्यवस्था मिलाइएको छ। महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक नारायणसिंह खड्काका अनुसार संविधानसभाभित्र र बाहिरको सुरक्षा व्यवस्था चुस्त दुरुस्त बनाइएको छ।

संविधानसभाभित्र विशिष्ट व्यक्तिको सुरक्षालाई ध्यानमा राखी सो दिनका लागि छुट्टै विशेष अनुमतिपत्रको व्यवस्था मिलाइएको उनले बताए।

त्यस्तै विशिष्ट व्यक्तिको आवागमन हुने सडक क्षेत्रमा समेत सुरक्षा व्यवस्था कडाइ गरिएको छ। प्रहरीले संविधानसभा र बाहिरका लागि तीन पङ्क्तिको सुरक्षा मिलाएको छ। अघिल्लो पङ्क्तिमा सभाक्षेत्र बाहिर र भित्र, दोस्रो पङ्क्तिमा ‘ब्याकअप’का रुपमा र तेस्रो पङ्क्तिमा प्रहरी केन्द्रीय कार्यालयमा प्रहरी तयारी अवस्थामा राखेको छ।

त्यसैगरी सशस्त्र प्रहरी बलले पनि सोहीअनुरुपको घेरा तयार पारी तयारी अवस्थामा फौज राखेको छ। संविधानसभाभित्र र बाहिर नेपाल प्रहरी, सशस्त्र प्रहरी र अनुसन्धान विभागका सदस्यलाई परिचालन तीव्र पारिएको छ।


0 comments:

Post a Comment