Sunday, September 20, 2015

एमालेले चियापानका लागि ४० हजारलाई निम्ता दियो


संविधानसभाले नेपालको संविधान २०७२ जारी गरेको उपलक्ष्यमा यही असोज ५ गते एमालेले भब्य रुपमा चियापानको आयोजना गरेको छ । अपरान्ह १ बजेदेखि ५ बजेसम्म दशरथ रंगशालामा नेकपा(एमाले) ले चियापान कार्यक्रम आयोजना गरेको हो ।  
 
चियापानको व्यवस्थापनका लागि पार्टी सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईको संयोजकत्वमा आर्थिक विभाग प्रमुख विष्णु रिमाल र कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठ रहेकोे व्यवस्थापन कमिटी गठन गरेको छ । चियापानका लागि ४० हजार निमन्त्रणा कार्ड वितरण गरिएको छ ।  पार्टीका आम सदस्य र सर्वसाधारणका लागि अपरान्ह १ बजेदेखि ३ बजेसम्म तथा आगन्तुक पाहुनाहरुका लागि अपरान्ह ३ बजेदेखि ५ बजेसम्मको समय मिलाइएको छ । 
 
चियापान कार्यक्रममा काठमाडौंको धिमेबाजा, पूर्वी पहाडको च्याबु्रंग तथा धाननाच, मध्य क्षेत्रको तामाङ्ग र हेल्मो बाजा, मिथिला क्षेत्रको बाँसुरी, थारु नाच, पश्चिमको डेउडा नाच, शोरठी नाच, खौजडी र लोकप्रिय पंचैबाजाले कार्यक्रमको रौनकता बढाउने छ भने एकै ठाउँमा बसेर सिंगो नेपाललाई अनुभूत गर्न पाइने छ ।
 
साथै समावेशी सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरिनेछ । कार्यक्रम स्थलमा सुरक्षाकर्मीहरुले सुरक्षा दिने छन् भने नेकपा(एमाले) को रातो ज्याकेट लगाएका एकसय स्वयसेवकहरुले कार्यक्रमलाई व्यवस्थित बनाउने छन् ।  चियापानमा सबैका लागि पकौडा, निम्की, वर्फी, स्याण्डवीच, कालो चिया, सेतो चिया  (चिनी भएको, चिनी नभएको) व्यवस्था गरिएको छ भने यसका अतिरिक्त आमसहभागीका लागि थप स्याउ र विशिष्ट व्यक्तिहरुका लागि केराको प्रबन्ध गरिएको छ ।

0 comments:

Post a Comment