Friday, September 18, 2015

संविधान रोक्ने भारतको आग्रह अस्वीकार


काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष दूत एस जयशंकरले पारित भइसकेको संविधान कार्यान्वयन ढिला गर्न दिएको दबाबलाई प्रधानमन्त्रीसहित शीर्ष नेताले अस्वीकार गरेका छन्।

जयशंकरले आफ्नो मुलुकको सीमा जोडिएको तराई–मधेसमा आन्दोलन चर्किंदा सुरक्षा खतरा भएको निहुँ गर्दै आइतबार जारी गर्न तयार भएको संविधान स्थगन गर्न भनेका थिए। उनले आफ्नो मुलुकको संविधान जारी गर्नसमेत ढिलाइ गरिएको उदाहरण प्रस्तुत गरे पनि नेताहरू त्यसनिम्ति तयार भएनन्।

मोदीका विशेष दूतका रुपमा शुक्रबार काठमाडौं आइपुगेका जयशंकरले तराई–मधेसमा आन्दोलन चर्कंदा सीमा सुरक्षामा खतरा आउने भन्दै समयमै थरुहट र मधेसकेन्द्रित दलका माग सम्बोधन गर्नसमेत आग्रह गरेका छन्।

राष्ट्रपति, प्रधानमन्त्रीलगायत प्रमुख दलका शीर्ष नेतालाई भेटेर आन्दोलनरत पक्षलाई सहमतिमा लिई संविधान जारी गर्न उनले आग्रह गरे।

संविधान जारी हुनुभन्दा दुई दिनअघि मोदीको सन्देश लिएर आएका जयशंकरले आन्दोलनरत मधेसकेन्द्रित दल र थरुहट/थारुवान संयुक्त संघर्ष समितिको आन्दोलनलाई बेलैमा सम्बोधन नगरे यसको प्रभाव मुखैमा आएको बिहारको चुनावमा असर पर्न सक्नेतर्फ सचेत गराएका थिए। उनले बिहार निर्वाचन सम्पन्न भएपछि मात्र संविधान जारी गरिदिँदा राम्रो हुने आशय परोक्ष रूपमा व्यक्त गरेका थिए।

'मधेसमा कर्फ्यु लागेको र बन्द भएको महिना दिन बित्यो, यस्तो बेला तपाइँहरू संविधान ल्याउन लाग्नुभएको छ, मधेसमा शान्ति छैन, नेपालको मधेससँग जोडिएको बिहारमा निर्वाचन हुन गइरहेको छ, खुला सीमा भएकाले मधेसमा अशान्ति हुँदा बिहार चुनावलाई असर पार्न सक्छ,' शुक्रबार साँझ प्रधानमन्त्री सुशील कोइरालासँगको भेटमा जयशंकरको भनाइ उद्धृत गर्दै उच्च स्रोतले भन्यो।

जवाफमा प्रधानमन्त्रीले लोकतान्त्रिक प्रक्रियाअनुसारै संविधान जारी गरेकाले चिन्ता नलिन उनलाई आग्रह गरेका थिए। 'संविधान समावेशी खालको छ, यसले सबैको माग सुनिश्चित गरेको छ। प्रक्रियाबाटै संविधान जारी गर्न लागिएकाले यसले कसैलाई हानि गर्दैन,' प्रधानमन्त्री कोइरालाले भने। थरुहट र मधेसकेन्द्रित दल वार्तामा नआउँदा सरकार र प्रमुख दल चिन्तित रहेको समेत उनले स्पष्ट पारे। सकेसम्म सबै दललाई मिलाएर लाने विश्वास प्रधानमन्त्रीले दिलाएका थिए।

जयशंकरले तराई–मधेसमा सेना परिचालन गरिएको र कर्फ्यु लगाएको सम्बन्धमा पनि प्रधानमन्त्रीसँग चासो राखेका थिए। उनले प्रधानमन्त्रीलाई तराई–मधेसबाट सेना फिर्ता गर्न समेत घुमाउरो किसिमले आग्रह गरेका थिए। जवाफमा प्रधानमन्त्रीले सेना परिचालन नभएको स्पष्ट पारे। 'सेना परिचालन भएको छैन, स्थानीय प्रशासन ऐनअन्तर्गत शान्ति–सुरक्षा कायम गर्न सेना खटिएको हो,' प्रधानमन्त्री कोइरालाको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो।

जयशंकरले प्रधानमन्त्रीसँगको भेटमा असोज ३ गते जारी हुन लागेको नयाँ संविधानको अन्तरवस्तुमा भने छलफल गरेनन्। उनले सकभर थरुहट र मधेसकेन्द्रित दलका माग सम्बोधन गरी संविधान जारी गर्न सुझाएका थिए। 'सकभर प्रमुख दल र आन्दोलनरत पक्षबीच सहमति गराई संविधानको जस आफूले लिन खोजेको जस्तो आशय भारतको देखियो,' प्रधानमन्त्रीसँग भेटघाटका बेला उपस्थित स्रोतले भन्यो।

बिहान ९ बजे काठमाडौं आइपुगेका जयशंकरले लगत्तै राष्ट्रपति यादव, प्रधानमन्त्री कोइराला, नेकपा एमालेका अध्यक्ष केपी ओली, एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल र मधेसकेन्द्रित दलका नेतासँग भेटघाट गरेका थिए। राष्ट्रपति यादव, प्रधानमन्त्री कोइराला, एमाले अध्यक्ष ओली र एमाओवादी अध्यक्ष दाहाललाई उनले निवासमै पुगेर भेटेका थिए भने मधेसकेन्द्रित दलका नेताले लैनचौरस्थित भारतीय दूतावासमा गई सचिव जयशंकरसँग भेटवार्ता गरेका थिए।

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर र तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्रराय यादव भारतीय विदेश सचिवलाई भेट्न भारतीय दूतावास पुगेका थिए। सचिवले काठमाडौं आएलगत्तै सुरुमा एमाले अध्यक्ष ओलीसँग भेटघाट गरेका थिए। त्यसपछि उनले मधेसकेन्द्रित दलका नेतासँग छलफल गरेका थिए। मधेसकेन्द्रित दलका नेतासँगको कुराकानीपछि उनले शीतलनिवासमा राष्ट्रपति यादवसँग शिष्टाचार भेट गरे। शीतलनिवासबाट उनी एकीकृत माओवादी अध्यक्ष दाहाललाई भेट्न लाजिम्पाट पुगेका थिए। अन्तमा उनले प्रधानमन्त्री कोइरालासँग भेट गरेका थिए।

'भारतीय विदेश सचिवले आन्दोलनरत थारु र मधेसकेन्द्रित दललाई नसमेटी संविधान जारी गर्न लागिएकोमा चिन्ता व्यक्त गर्नुभयो, उहाँले सबैलाई समेटेर संविधान जारी गर्न सुझाव दिनुभयो,' राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालले भने। आन्दोलनरत पक्षलाई सहमतिमा नलिई संविधान जारी गर्दा अस्थिरता आउन सक्नेतर्फ उनले ध्यानाकर्षण गरेका थिए।

जवाफमा राष्ट्रपति यादवले सबैभन्दा ठूलो कुरा संविधान बन्नु रहेको उल्लेख गर्दै आन्दोलनरत पक्षलाई समेट्ने प्रयास दलहरुले गरिरहेको जनाएका थिए। 'आन्दोलनरत थारु र मधेसकेन्द्रित दललाई समेट्न मैले पनि भनेको छु, सबैलाई समेटेको भए सुनमा सुगन्ध हुने थियो, प्रयास भइरहेको छ, आन्दोलनरत पक्षलाई समेट्ने सम्भावना अझै छ,' राष्ट्रपतिको भनाइ उद्धृत गर्दै दाहालले भने। राष्ट्रपति यादवले संविधान बनेकोमा सन्तुष्टि व्यक्त गरेका थिए।

'लामो प्रयास र प्रतीक्षापछि संविधान पर्सि (आइतबार) जारी हुँदैछ, संविधान आउनु खुसीको कुरा हो,' राष्ट्रपतिको भनाइ उद्धृत गर्दै कानुनी सल्लाहकार सूर्य ढुंगेलले बताए। राष्ट्रपतिसँग एक घन्टा लामो कुराकानीमा जयशंकरले बारम्बार मधेसी दललाई साथमा लिएर अघि बढ्नुपर्ने सुझाव राखेका थिए। उनले अन्तिम क्षणसम्म प्रयास गरी आन्दोलनरत पक्षलाई साथमा लैजान भनेका थिए।

'हाम्रो प्रधानमन्त्री (नरेन्द्र मोदी) ले मिलेर अधिकतम सहमतिमा अघि बढ्नोस् भन्दै सन्देश बारम्बार दिँदै आउनुभएको छ, मधेसमा आन्दोलन हुँदा मानिसको मृत्यु भएको छ, हिंसाको परिणाम राम्रो हुँदैन, सबै मिलेर अघि बढ्ने प्रयास अन्तिम क्षणसम्म गर्नोस्, सद्भाव रहन्छ,' जयशंकरको भनाइ उद्धृत गर्दै ढुंगेलले भने। राष्ट्रपति यादवले आन्दोलनरत पक्षलाई अहिले समेट्न नसके पनि संविधान जारी भएपछि समेट्न सकिने बताएका थिए। दिउँसो ३ः१५ बजे शीतलनिवास छिरेका जयशंकर त्यहाँबाट ४ः१० बजे बाहिरिएका थिए।

एमाले अध्यक्ष ओली निवासमा बिहान ११ः१० बजे पुगेका जयशंकरले त्यहाँ दुई घन्टा बिताएका थिए। ओली निवासमा जयशंकर नेपालका लागि भारतीय राजदूत रन्जित रेसहित पुगेका थिए। ओली र जयशंकरले एक घन्टा 'वान टु वान' (दुईबीच मात्र) भेटवार्ता गरेका थिए भने बाँकी एक घन्टा दुवैतर्फ अन्य प्रतिनिधि थिए। भेटघाटका बेला ओलीसँग पार्टीका तर्फबाट एमाले प्रमुख सचेतक अग्नि खरेल रहेका थिए।

'कसरी संविधान बनाउने भन्ने तपाइँको कुरा हो, संविधानसभा सार्वभौम छ, संविधानभित्र कस्ता विषयवस्तु समेट्ने भन्ने पनि तपाइँहरुको कुरा हो तर संविधान जारी गर्दा सबैलाई समेटेको भए राम्रो हुन्थ्यो,' ओलीसँगको भेटमा जयशंकरको भनाइ उद्धृत गर्दै एमाले प्रमुख सचेतक खरेलले भने। जवाफमा ओलीले सबैलाई समेट्ने प्रयास भइरहेको, विजय गच्छदार र थारु नेतासँग छलफल भइरहेको पनि उनले जानकारी गराएका थिए।

'संविधान जारी भयो भन्दैमा सबै सिद्धिने भन्ने होइन, संविधानसभा विघटन भए पनि संसद रहन्छ, संसदले नै जायज मागलाई संविधान संशोधन गरेर पूरा गर्दै लग्छ,' ओलीले भनेका थिए, 'संविधान लोकप्रिय र प्रगतिशील छ। समावेशी र समानुपातिक पनि छ।'

मोदीको विशेष दूत बनेर आएका जयशंकर एमाओवादी अध्यक्ष दाहाललाई भेट्न साँझ ५ बजे उनको निवास लाजिम्पाट पुगेका थिए। भेटघाटमा दाहालसँग एमाओवादी नेताद्वय बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ पनि थिए। जयशंकरले दाहाल निवासमा ४५ मिनेट बिताएका थिए। भेटमा उनले मधेसकेन्द्रित दलको माग र जारी आन्दोलनलाई सम्बोधन गरेर अघि बढ्न माओवादी नेतृत्वलाई आग्रह गरेका थिए। 'मधेसकेन्द्रित दलको माग र जारी आन्दोलनलाई सम्बोधन गरेर जानुभयो भने संविधानमा सबैको स्वामित्व खुल्छ, त्यसले संविधानलाई स्थायी बनाउँछ,' दाहालसँगको भेटमा जयशंकरको भनाइ उद्धृत गर्दै एमाओवादी उपाध्यक्षसमेत रहेका नारायणकाजी श्रेष्ठले भने।

जवाफमा दाहालले पटक–पटक वार्तामा आउन आह्वान गर्दा पनि मधेसकेन्द्रित दलले बेवास्ता गरेको स्पष्ट पारेका थिए। प्रचण्डले स्पष्ट पार्दै भने, 'हामीले तीनपटक वार्ताका लागि औपचारिक पत्र पठाएर बोलायौं, उहाँहरु (मधेसकेन्द्रित दल) वार्तामा आउनै चाहनुभएन। यति हुँदाहुँदै पनि संविधान संशोधन गर्ने सर्तमा भोलिका दिनमा वार्ता र संवादको ढोका खुलै राखेका छौं।'

मोदीका विशेष दूत जयशंकरले दाहालसँगको भेटमा थरुहट र मधेस आन्दोलनप्रति चिन्ता र चासो व्यक्त गरेका थिए। मधेसमा आन्दोलन चर्कंदा त्यहाँका नेपाली जनता सीमापार गरी भारतमा प्रवेश गर्ने उल्लेख गर्दै उनले 'सीमा सुरक्षा' बारे चासो राखेका थिए। जवाफमा दाहालले छिमेकी भएको नाताले सीमाको मात्र नभई पूरै नेपालको सुरक्षाबारे चिन्ता गर्न आग्रह गरेका थिए।

दाहालले तपाईंको यो भ्रमणको समय सन्दर्भ मिलेन कि? भन्ने प्रश्न गर्दै भनेका थिए, 'यो कि १५ दिनअघि हुनुपर्थ्यो वा १५ दिनपछि,' दाहालको जवाफ उद्धृत गर्दै स्वकीय सचिव चूडामणि खड्काले बताए।

भ्रमण पूरा गरी जयशंकर शनिबार बिहान १० बजे स्वदेश फर्कने तय भएको छ। उनले आन्दोलनरत मधेसकेन्द्रित दलले गरेको आन्दोलनबारे प्रश्न उठाए पनि त्यसलाई कसरी समाधान गर्ने भन्ने कुनै सूत्र प्रस्तुत गर्न नसकेको शीर्ष नेतानिकट उच्च स्रोतले बतायो।

0 comments:

Post a Comment