Thursday, September 17, 2015

छोराको टाउकोमा पानी जमेपछि


काठमाडौं- रोल्पाका कालु केसी जन्मेको तीन महिना नपुग्दै बिरामी पर्न थालेपछि बिस्तारै टाउको सुन्निँदै गयो। उनी सात महिनाको हुँदा टाउको सुन्निएर शरीरभन्दा ठूलो भयो।
आमा रजिता केसीले पहिले त छोरालाई भूतप्रेत लागेको हो कि भन्दै धामीझाँक्रीकोमा धाईन्। तर छोराको टाउको सुनिन कम हुनुको साटो बढ्दै गयो। गाउँलेले कालुलाई अस्पताल लैजाउ भनेर सल्लाह दिएपछि उनी छोरा लिएर मंसिरमा राजधानी नै आइन्।

उनले सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा छोराको परीक्षण गराइन्। चिकित्सकले कालुको टाउकोमा पानी भरिएको बताएपछि जसोतसो खर्च जुटाएर शल्यक्रिया पनि गराइन्। शल्यक्रियापछि टाउको सुनिएको केही कम भए पनि टाउकोमा भरिएको पानी सबै निस्केको छैन। कालुको टाउको अहिले पनि असामान्य रुपमा ठूलो र लाम्चो छ।

आफन्तको सल्लाहमा रजिताले छोराको थप उपचारको लागि भारतको चन्डिगढ अस्पतालसमेत पुर्याूइन्। तर उपचारका लागि करिब ५ लाख भारतिय रुपैयाँ लाग्ने भएपछि उनी भदौ १२ गते काठमाडौं नै फर्किन्।

अहिले रजिता डेढ वर्षीय कालुको उपचारका लागि कहिले रत्नपार्क त कहिले पुरानो बसपार्क अनि कहिले नेपाल वायुसेवा निगमअगाडि बसेर आवश्यक खर्च जुटाउन जुटेकि छन्। 'डक्टरले तीन वर्षभित्र अपरेसन गर्नै पर्ने भन्नु भएको छ,' रजिताले रुँदै नागरिकसँग भनिन्, 'त्यसैले छोराको ज्यान बचाउन सबैलाई गुहारीरहेकी छु। उपचारमा लाग्ने ठूलो रकम मैले कसरी जुटाउने?' हाल बालाजु बसिरहेकी रजिताको सम्पर्क नम्बर ९८१०३२४४२७ हो।

0 comments:

Post a Comment