Friday, September 18, 2015

भारतीय संचारमाध्यममा सुशील कोइरालाको प्रशंसा


काठमाडौं, असोज १ । भारतीय संचारमाध्यममा नेपालको राजनीतिक अवस्थाकाबारेमा विभिन्न प्रकारका समाचार र टिप्पणी प्रकाशित भइरहेका छन् । हिन्दुस्तान टाइम्सले नेपालका मधेसवादी दलहरुले भारतीय नम्बर प्लेट भएका गाडीलाई देख्नासाथ आगजनी गर्न निर्देशन दिएको समाचारलाई प्राथमिकताका साथ प्रकाशित गरेको छ । आन्दोलनको अगुवाई गर्दै आएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले भारतीय वाहनलाई देख्नासाथ आगो लगाउने चेतावनी दिएका छन्,’ सो अखबारको अनलाइन संस्करणमा उल्लेख छ ।
थरुहट संघर्ष समितिमा आवद्ध देवी चौधरीलाई उद्धृत गर्दै समाचारमा लेखिएको छ, ‘भारतीय वाहन मालिकलाई आफ्नो सम्पत्ती र चालकको सुरक्षा मध्यनजर गर्दै नेपालमा वाहन नपठाउन चेतावनी दिइएको छ ।’ संयुक्त मधेसी मोर्चाका सदस्यहरुले शुक्रबारदेखि नेपाली नागरिकता त्याग्ने निर्णय गरेको समेत उक्त अनलाइनले दाबी गरेको छ । नेपाली नागरिक हुनका बाबजुद आफूहरुमाथि दमन गरिएको भन्दै मोर्चाले नेपाली नागरिकता त्याग्ने निर्णय गरेको जनाइएको छ ।

उता नवभारत टाइम्सले भने शुक्रबारको छापा संस्करणमा नेपालका प्रधानमन्त्री सुशील कोइरालाको प्रशंसा गरेको छ । ‘अगाडी बढ नेपाल’ शीर्षकमा सम्पादकीय लेख्दै सो पत्रिकाले आफ्नो सम्पादकीयमा लेखेको छ, ‘नेपालको राजनीतिक नेतृत्वले बढी समवेदनशीलता र समझदारी देखाउन जरुरी छ । उसले नयाँ संविधान र शासन व्यवस्था अन्तर्गत नेपालका कुनै पनि नागरिक समूह आफूलाई उपेक्षित र ठगिएको महसुस नगरुन् भन्ने सुनिश्चित गर्नुपर्दछ ।’ नेपालका प्रधानमन्त्री सुशील कोइरालाले विवादित विषयका सम्बन्धमा खुलापन देखाउँदै ती मुद्दामा वार्ताका माध्यमबाट सहमति खोज्ने सम्भावना कायम राखेको भन्दै ‘नवभारत टाइम्स’ ले सम्पादकीयमा लेखेको छ, ‘यो राम्रो कुरा हो कि नेपालका प्रधानमन्त्री सुशील कोइरालाले विवादित विषयमा वार्ताबाट सहमतिको कुनै बाटो निकाल्ने सम्भावना कायमै रहेको र आवश्यक परेमा संविधानमा संशोधन गर्ने विकल्पमा समेत जान सकिने बताउनु भएको छ ।’ सम्पादकीयको अन्त्यमा भनिएको छ, ‘अहिलेका लागि हाम्रो तर्फबाट छिमेकी मुलुकलाई हार्दिक बधाई र शुभकामना ।’

0 comments:

Post a Comment