Wednesday, September 2, 2015

‘मलेसियामा पैसा लुटियो, म के गरौं ?’


मोरङको जाँते घर भएका लविन्द्र खड्का (२९ वर्ष) हाल मलेसियामा हाड घोटिरहेका छन् । आइएसम्मको अध्ययन गरेका उनी मलेसिया आउनुअघि नेपालमा एउटा सानोतिनो कम्पनीमा जागिर खान्थे । जीवन चलिरहेको थियो । तर, जागिर खाने क्रममै उनी दुर्घटनामा परे । उपचार गराउन दुई लाख ऋण लिनुपर्‍यो । अन्ततः त्यही ऋणको भारीले उनलाई देशबाटै लखेट्यो ।

छिटो पैसा कमाएर ऋण तिर्न वैदेशिक रोजगारीको बाटो रोजेका खड्काको मलेसियाको एक वर्षे बसाई पनि दु:खद रह्यो । उनी भन्छन्, ‘मलेसियाले केहि पनि दिएन मलाई । बरु उल्टै म लुटिएँ ।’
बाँच्नका लागि नेपालदेखि मलेसियासम्म गरेको संघर्ष उनले अनलाइनखबरसित यसरी बेलीबिस्तार लगाए :
दुर्घटनाले ऋणमा डुबायो
मैले भोजपुरको दिङलाबाट आइए पास गरेपछि मैले एउटा कम्पनीमा काम पाएँ । काम अनुसारको दाम पाउन नसके पनि म खुशी नै थिएँ । तर एकाएक काम गरिरहेको अवस्थामा दुर्घटनामा परें ।
उपचारको क्रममा दुई लाख रुपैयाँ जति ऋण लाग्यो मलाई । त्यो ऋणले मलाई दिनरात चैनसित बस्न दिएन । हुनेखानेहरुका लागि दुई लाख धेरै नहोला, तर हामीजस्ता गरीवको लागि यो अथाहा पैसा हो । दुर्घटना पर्दा लागेको ऋण म आफै कमाएर तिर्नुपर्ने अवस्था थियो ।
नेपालमा केही गर्ने इच्छा भए पनि मलाई साथ दिने कोही पनि थिएनन् । न त मसँग एक्लै केही गर्न सक्ने हिम्मत र सीप नै थियो । मेरो आजसम्मको पढाईले नेपाली लेख्न र पढ्न जान्ने भए भने अग्रेजी कामचलाउ मात्रै बन्न पुग्यो । अंग्रेजी छुरा भएको भए जीवनमा प्रगति गर्न सकिन्थ्यो होला । तर, नेपालको शिक्षा नीति नै यस्तो छ कि यसले उत्पादन गर्ने जनशक्ति विदेशमा मजदुरी गर्न मात्रै काम लाग्छन् ।
डेढ लाख चढाएर मलेसिया
नेपालमा कतैबाट केहि नहुने देखेपछि मैले विदेशीने सोच बनाएँ । नेपालमा केहि इलम गरौ भन्दा कसैले पनि ऋण दिँदैन, तर विदेश जाने भनेपछि फ्याट्टै तिर्छन् । मैले वुवाआमालाई ऋण खोजिदिन आग्रह गरेँ । उहाँहरुले खोजिदिनुभयो । ऋण काढेको पैसा बोकेर म काठमाडौं आएँ ।
काठमाडौंमा एक जना एजेन्टसित भेट भो । मलेसिया जाने कुरा गरेपछि उनले भने, ‘महिनाको १२ सय ३५ रिंगेट पाइने खास्साको रेस्टुरेन्ट छ । ओभरटाइम त जति गर्न सक्यो त्यति नै पाइन्छ । जाने हो ?’ मैले पनि रिगेटलाई नेपालीमा बदल्न जानिसकेको थिएँ । महिनाको ३५ हजार बचाउन सकिने रहेछ भन्ने मनमनै हिसाब निकालेँ । बाउआमाले खोजेको डेढ लाख रुपैया एजेण्टको हातमा राखिदिएर गत वर्षको भदौ १८ गते मलेसिया आइपुगें।
नेपालबाट प्लेन चढ्ने बेलामा मनमा धेरै सपनाहरु खेलिरहेका थिए । ती सपनाहरुको एउटा हिस्सा त एयरपोर्टमै तुहियो । पहिलोपटक एयरपोर्टमा झर्दा कर्मचारीहरुले गरेको अपमान कसरी बिर्सुँ । न बोल्न पाइने, न केहि सोध्न । बोल्दा पिटाई, नबोल्दा पनि पिटाई । पिटाईका साथमा चिसो भुईको बसाई ।
एक दिनपछि एजेन्ट लिन आयो । एयरपोर्ट बाहिर गाडिबाट चिहाएँ । ठुला-ठुला महल, चिल्ला गाडी, धुवाँ-धुलो कतै केहि छैन । जताततै टिलिक्क । रंगशाला जत्रा सडकहरु । अरु कति बखान गर्नु ।
बनेँ डेक्ची ड्राइभर
एजेन्टले जे भनेर पठाएको थियो, त्यस्तो केहि पनि पाउन सकिनँ । यहाँ आएको दिनदेखि नै चिया-कफी बनाउनेदेखि भाँडा माझ्नेसम्मको काम गर्नुपर्‍यो । मेलै काम गर्ने रेस्टुरेन्ट जोहोरको मसाईमा थियो । विहान सात बजेदेखि साँझको ६ वजेसम्म हात खाली हुदैनथ्थो । एकछिन थकाई मार्न नपाइने । आराम भन्ने कुन चरोको नाम हो जिउले बिर्सिन थाल्यो । बस्ने ठाउँ पनि उस्तै थियो भेडावाख्राको खोर भन्दा गतिलो थिएन ।
महिनाभरी काम गर्दा सात सय रिंगेट भन्दा कहिले पनि बचेन । एक वर्षसम्म घरको अवस्था र ऋणको बोझ सम्झेर काम गरिरहे । एक वर्षभरिमा मरेर एक लाख साठी हजार नेपाल पठाउन सकेँ । तर, नेपालमा पठाएको पैसाले ऋृण तिर्न पुगेन । सावाँको ब्याज सहित गर्दा अझै चालीस हजार ऋण थपिएको छ । ऋण तिर्नै यो महाभारत परेको छ, कहिले आफ्ना लागि कमाउने ?
चक्कु देखाएर पैसा लुटे
वर्ष दिनभरि काम गर्दा मन विरक्तिएपछि म र अर्को एक नेपाली साथी (रोहित चौधरी) नेपाल फर्किने निश्चय गर्‍यौं । भदौ १५ गते (मंगलबार) कम्पनी छाडेर जोहरवारुबाट क्वालालम्पुरको बस समात्यौं । करीव पाँच घण्टाको यात्रापछि क्वालालम्पुर बसपार्कमा उत्रियौं ।
हामी बसबाट र्झन नपाउदै एउटा ट्याक्सी आएर हाम्रो अगाडि रोकियो । हामीले केही भन्न नपाउँदै ड्राइभरले फटाफट हाम्रो झोलाहरु खोस्दै टयाक्सीमा हाल्न थाल्यो । हामीले केहि बोल्न खोज्दा ‘चप लाग, तिमीहरुलाई जहाँ पुग्नुपर्ने हो, हामी पुर्‍याउँछौं भन्दै थर्काए । हामी ट्याक्सीमा चढ्न नमान्दा पनि जबरजस्ती चढाए । टयाक्सि डाइभरसँग पहिला नै एकजना बसिरहेको थियो । त्यो उसको सहयोगी रहेछ । बाटोमा पुगेपछि फेरी अर्काे एकजनालाई ट्याक्सिमा बसाल्यो ।
बाटोमा उनीहरुले हामीसँग पैसा माग्न थाले । उनीहरुले एक सय पचहत्तर रिंगेट मागे । हामीले यत्रो भाडा कसरी भनेर सोध्न खोज्दा एक जनाले चक्कु निकालेर देखायो ।
आखिरमा हामीसित भएको सबै पैसा टयाक्सी भित्रै लुटियो । हामीले पैसा लुटिन्छ भन्ने चर्चा सुन्ने गरेका थियौं । त्यसैले आफूसँग भएको चार हजार रिंगेट (करीव एक लाख पाँच हजार रुपैयाँ) मध्ये दुई हजार पर्समा थियो भने र दुई हजार जुत्तामा लुकाएका थियौ । पर्सको मात्रै होइन जुत्तामा लुकाएको एक हजार समेत गरी तीन हजार रिंगेट लुटे । हामी मुकदर्शक जस्तै बनिरह्यौं । दुवै जनाको मोबाइल भने लगेन ।
अब के गरौं ?
हामीलाई उनीहरुले एकान्त ठाउँमा ल्याएर छाडिदिए । ब्यागहरु निकालेर फालिदिए । टयाक्सी नम्बर टिप्न थालेका थियौं तर हामीभन्दा अगाडि नै एकजना ओर्लिएर टयाक्सी नम्बर स्टिकरले टालिदिएको रहेछ । उनीहरु टयाक्सी कुदाएर भागे ।
हामी बीचबाटोमा अलपत्र परिरहेका थियौ । त्यसको नजिकै एक जना नेपाली दाईले सेक्युरिटी काम गर्नुहुँदो रहेछ । उहाँले हामीलाई निकै सहयोग गर्नुभयो । चिनेको एकजना ट्याक्सीवालालाई वोलाइदिनु भयो । हामीलाई फेरि पनि टयाक्सीमा चढ्न डर लागिरहेको थियो । तर, नचढी पनि सुखै थिएन । उहाँले वोलाएको ट्याक्सीमा चढेर क्वालालम्पुरको कोताराय भन्ने ठाउँमा बल्लतल्ल आएका छौं ।
नेपाल र्फकनको लागि जम्मा गरेको पैसा लुटिएपछि हामी विचल्लीमा परेका छौं । के गरौं, कसो गरौं भइरहेको छ ।
-अनलाइन खबर बाट

0 comments:

Post a Comment