Monday, July 4, 2016

राजधानीमा फेरि सुरु भयो पेट्रोलको लाइन


२० असार, काठमाडौं । राजधानीमा शनिबारदेखि पेट्रोल पम्पहरुमा अस्वाभाविक रुपमा सवारीको लाइन देखिएको छ । यो लाइन अझै कम भएको छैन ।

शुक्रबार परेको अविरल वर्षाले काठमाडौं आउने ट्यांकरहरु मुग्लिन-नारायणगढ सडकखण्डमै रोकिँदा आजसम्म पनि राजधानीमा तेलको अभाव देखिएको हो ।

आयल निगमले शुक्रबार रक्सौलबाट आएका सबै ट्यांकरहरु काठमाडौं नआएपछि शनिबार तेल वितरण नै गरेन । त्यसैकारण शनिबारदेखि पम्पहरुमा देखिएको उपभोक्ताको लाइन आजसम्म कायमै छ ।
आयल निगमका प्रवक्ता मुकुन्द घिमिरे शनिबार एक दिन पेट्रोल वितरण नगर्दा आजसम्म पनि लाइन नहटेको स्वीर्काछन् ।

‘आइतबार हामीले ६ लाख २३ हजार लिटर पेट्रोल बजार पठाएका थियौं । आज पनि ५ लाख लिटर गएको छ,’ घिमिरेले भने ‘आपूर्ति बढाएकाले अब पेट्रोलपम्पमा लागेको लाइन विस्तारै हट्नेछ ।’

काठमाडौंमा दैनिक ४ देखि साढे ४ लाख लिटर पेट्रोलको माग हुन्छ । वर्षको समयमा एकदिन मात्रै बाटो अवरोध भएर पेट्रोल आपूर्ति रोकिँदा बजारमा हाहाकार सुरु भइहाल्छ ।

आयल निगमले थानकोट डिपोको भण्डारण क्षमता कमजोर भएकाले यस्तो अवस्था आएको बताएको छ । तर, आपूर्ति रोकिँदा पनि फूल गरेर राखिएको डिपोको पेट्रोल बजार पठाउन निगमले आनाकानी गर्ने गरेको छ ।

‘एक-दुई दिनभन्दा बढी आपूर्ति रोकियो भने थानकोट डिपोबाट नै लामो समयमसम्म आपूर्ति गर्नुपर्ने हुन्छ । त्यसैले डिपोको तेल चलाइहाल्न अप्ठेरो छ,’ घिमिरेले भने ‘त्यही पनि हिजो र आज हामीले थानकोट डिपोबाट पनि तेल दिएका छौं ।’

काठमाडौंमा एक दिन तेल आपूर्ति रोकिँदा पम्पमा लामो लाइन देखिनु सामान्यजस्तै भएको छ । दुई वर्षअघि नै थानकोट डिपोको भण्डारण बढाउने योजना बनाएको निगमले काम भने सुरु गरेको छैन । त्यसैकारण उपभोक्ताले सास्ती खेपिरहनुपरेको छ ।

0 comments:

Post a Comment