Saturday, July 2, 2016

नेपालमा अब लोडसेडिङ कहिल्यै नबढ्ने दाबी- उर्जामन्त्री टोपबहादुर रायमाझी


असार १८, काठमाडौँ – उपप्रधान तथा उर्जामन्त्री टोपबहादुर रायमाझीले नेपालमा अब लोडसेडिङ कहिल्यै नबढ्ने दाबी गरेका छन् । शुक्रवार सम्पन्न मोटिभेट न्यूज डटकमको पहिलो वार्षिक उत्सव तथा पहिलो मोटिभेट राष्ट्रिय शैक्षिक अवार्ड २०७३ को उद्घाटन गर्दै मन्त्री रायमाझीले नेपालमा अब लोडसेडिङ घटिरहने दाबी गरेका हुन् । कार्यक्रमको उद्घाटन गर्दै उनले भने, ‘म मन्त्री हुँदा पन्ध्र घण्टासम्म लोडसेडिङ हुन्थ्यो, र अहिले घट्दै घट्दै पाँच घण्टासम्म पुगेको छ । यसमा हामीलाई पानीले पनि साथ दिएको छ तर सबै पानीले मात्र भएको हो भन्ने होइन । हाम्रो कामले लोडसेडिङ घटेको हो अब कहिल्यै नेपालमा लोडसेडिङ बढ्दैन ।’ उर्जा मन्त्रालयमा आफूले लोड्सेडिङ अन्त्यको लागि जग बसालेको भन्दै अब आफू मन्त्रीबाट हटेपनि नेपालमा लोडसेडिङ नबढ्ने बताए । उनले भने, ‘मैले राम्रो कुराको थालनी गरेको छु, दरो जग बसालेको छु, अरु कोहि आएर त्यो जगमा इट्टा थपे पुग्छ’ । एक फरक प्रसङ्गमा मन्त्री रायमाझीले आफू सिहदरवारमा फोटो झुण्ड्याउन मात्र मन्त्री नभएको भन्दै छोटो अवधीमा केहि गरेर देखाउन मन्त्री भएको दावी गरे । उनले भने, ‘मेरो इतिहास हेर्नुहोस, म काम गरेर देखाउने मान्छे हो काठमाडौँको बाटो फराकिलो पार्नको लागि पनि मैले जग हालेको थिएँ । बाबुरामजिले यसको जस लिनुभयो ।’ माओवादी केन्द्रबाट सरकारको नेतृत्व गरेका उपप्रधानमन्त्री रायमाझीले सरकारको आयुको कुरा गर्न भन्दा वर्तमान सरकारले छोटो अवधिमा के काम गर्यो भनेर समिक्षा गर्न सबैलाई आग्रह गरे ।


जनताको सेवा गर्नको लागि राजनीति गरेको भन्दै आफ्नो मिसन भनेकै जनताको सेवा गर्नु भएकाले आफू जहिले पनि नेपाल र नेपालीका लागि हित हुने खालका काम गर्न तयार रहेको बताए । उक्त समारोहमा मोटिभेट न्यूजको पहिलो वार्षिक उत्सवको अवसर पारेर विभिन्न क्षेत्रमा व्यक्तित्वहरुलाई सम्मान पनि गरिएको थियो । पे्ररणा पुत्र सम्मानद्धारा ओरलो म्याग्जीलो फिजिसियन डा. सुभाष घिमिरे, कुसल शैक्षिक नेतृत्व सम्मान २०७३ बाट प्यावशन काठमाडौँका अध्यक्ष थकिन गुरुङ र कुसल कार्यसम्पादन सम्मानद्धारा मोटिभेट न्यूजका प्रधान सम्पादक शिवशक्ति आचार्यलाई सम्मान गरिएको थियो । कार्यक्रममा सिन्दुपाल्चोक क्षेत्र नं. तिनका सांसद शेरवहादुर तामाङ, नेपाली जनता दलका अध्यक्ष तथा सांसद हरिचरण शाहको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै सांसद शेरवहादुर तामाङले नीजि क्षेत्रलाई अवार्ड दिनु देशको असफलता भएको दावी गरे । नेपालमा शिक्षाको विकास हुन नसक्दा हजारौँ नेपाली विद्यार्थी लाखौँ पैसा खर्च गरेर विदेशमा अध्ययनको लागि जाने गरेका बताउँदै नेपालमा गुणस्तरीय शिक्षा दिने शैक्षिक संस्थाहरुको खोजी गरी अवार्ड वितरण गर्नु सरहानीय कार्य भएको बताए । नेपाली जनता दलका अध्यक्ष तथा सांसद हरिचरण शाहले गणतन्त्र विरोधी तथा संघियता नचाहानेहरुलाई साथमा लिएर सरकार गठन गरेकाले थो सरकार अपवित्र भएको दावी गर्दै यो अपवित्र गठबन्दन तोड्न आग्रह गरे । संघियता तथा गणतन्त्र विरोधीलाई सरकारबाट हटाएर पनि बहुमत पुग्ने भएकाले उनीहरुलाई सत्ता गठबन्दनबाट निकाल्न उनको आग्रह थियो ।


त्यस्तै उक्त कार्यक्रममा विभिन्न विद्यालयका प्रधानाध्यापकलाई शैक्षिक प्रोत्साहन सम्माद्धारा सम्मानित गरिएको थियो । सम्मानित हुनेहरुमा काठमाडौँ इङलिस स्कुलका प्रिन्सिपल दिनेश खतिवडा, सानतेन मेमोरियल स्कुलका प्रिन्सिपल शक्तिराज नेपाल र कान्तिपुर एकेडेमीका प्रिन्सिपल बालकुमार गुरुङ रहेका छन् । उक्त कार्यक्रममा चौध विधामा मोटिभेट राष्ट्रिय शैक्षिक अवार्ड २०७३ को घोषणा गरिएको थियो । उत्कृष्ट समाजसेवी शैक्षिक संस्थाको अवार्ड नेशनल आइडिएल बोर्डिङ हाइस्कुलले हात पारेको थियो भने उत्कृष्ट प्रधानाध्यापक संस्थापक विद्यालयको आवार्ड रमेशबहादुर कटुवालले हात पारेका थिए । कटुवाल आइएसओ सर्टिफाइट स्कुल नेक्सस इन्टरनेशनल एकेडेमीका प्रिन्सिपल हुन् । उत्कृष्ट क्याम्पस प्रमुखको अवार्ड रामहरी सिलवालले हात पार्दा उत्कृष्ट संस्थागत विद्यालयको अवार्ड रिलायन्स इन्टरनेशनल एकेडेमीको पोल्टामा गएको थियो । त्यस्तै, उत्कृष्ट +२ टेक्सास इन्टरनेशनल कलेज, उत्कृष्ट प्राविधिक कलेज विनायक कलेज अफ हेल्थ साइन्स, उत्कृष्ट कलेज स्नातक तह ग्लोवल कलेज अफ म्यानेजमेन्ट र उत्कृष्ट सिए अध्ययन गराउने इन्सिच्यूट एकेडेमी अफ कमर्सले अवार्ड हात पारेका थिए । विभिन्न देशमा अध्ययनको लागि पठाउने कन्सल्टेन्सीहरुले पनि अवार्ड हात पार्न सफल भएका थिए ।

0 comments:

Post a Comment