Friday, July 1, 2016

सामूहिक बङ्गुरपालन


बाबियाचौर(म्याग्दी), १७ असार । रोजगारी सिर्जना, समुदायको आयस्तर वृद्धी र स्थानीय बजारमा मासुको आयात घटाउन कुहुँको भर्जुलामा सहकारी संस्थाले बङ्गुरपालन सुरु गरेको छ । 

भरजुला कृषि सहकारी संस्थाले सामूहिक बङ्गुरपालन व्यवसाय सुरु गरेको हो । सहकारीमा ४७ जना किसान आवद्ध छन् । बङ्गुरपालनबाट आयआर्जनमा सघाउ पुग्ने संस्थाका अध्यक्ष बमबहादुर शेरपुञ्जा बताउनुहुन्छ । सहकारीमा आवद्ध सदस्यले आलोपालो गरेर बङ्गुरको स्याहार सुसार गर्ने गरेका छन् । उनीहरुले आम्दानी समान रुपमा वितरण गर्ने व्यवस्था मिलाएका छन् । 

फार्ममा ३० वटा बङ्गुरका पाठापाठी छन् । बङ्गुर फार्म स्थापना गर्न रु १२ लाख लगानी गरिएको शेरपुञ्जाको भनाइ छ । जिल्ला पशुसेवा कार्यालयद्वारा सञ्चालित सहकारी खेती बङ्गुरपालन कार्यक्रमले सहकारीलाई बङ्गुरपालन गर्न रु आठ लाख ३० हजारका दरले अनुदान सहयोग उपलब्ध भएको छ । 

खोर निर्माण, पाठापाठी खरिद, विद्युत् जडान, खानेपानी आपूर्ति र दानापानीको व्यवस्थाका लागि अनुदान उपलब्ध गराइएको हो । संस्थाले ३० प्रतिशत श्रमदान अथवा आन्तरीक स्रोतबाट लगानी थपेर फार्म स्थापना गरेका हुन् । अनुदानको सदुपयोगका लागि दुई किस्तामा रकम उपलब्ध गराइएको पशु सेवा कार्यालयले जनाएको छ । रासस 

0 comments:

Post a Comment