Sunday, July 3, 2016

नयाँ राजनीतिक चहलपहल सुरु


असार २०, काठमाडौं–माओवादी केन्द्रले राष्ट्रिय सहमतिको सरकार गठनका लागि पहल लिने निर्णय गरेलगत्तै अर्को बहुमतीय सरकार गठनको जोडघटाउ सुरु भएको छ । ठूला दलमध्ये कांग्रेसले एमाले, एमालेले कांग्रेसको नेतृत्व स्विकार्ने स्थिति तत्काल नदेखिएकाले नेताहरू अर्को बहुमतीय सरकारकै जोडघटाउमा लागेका हुन् । एमालेसँग सम्बन्ध चिसिएपछि एमाओवादी नेताहरू नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, वर्षमान पुन र जनार्दन शर्मा तथा कांग्रेस नेता विमलेन्द्र निधि, डा. प्रकाशशरण महतलगायतका दोस्रो तहका नेताहरूबीच संवाद बाक्लिएको छ । स्रोतका अनुसार दुवै पक्षका नेताहरूले बजेट पारित भएलगत्तै एकैपटक वक्तव्यमार्फत अर्को सरकार गठनको पहल थाल्ने आन्तरिक सहमति गरेका छन् । ‘माओवादीका तर्फबाट सरकारलाई दिइएको समर्थन फिर्ता लिने र कांग्रेसले पनि सरकार गठनका लागि आह्वान गर्नेगरी वक्तव्य निकाल्ने विषयमा छलफल चलिरहेको छ,’ स्रोतले भन्यो ।

माओवादीले राष्ट्रिय सहमतिको सरकार गठनको पहल गर्ने निर्णय लिए पनि त्यो अर्को बहुमतीय सरकार गठन गर्ने कसरतका लागि भएको एमालेको बुझाइ छ । माओवादीले एमालेसँगको गठबन्धन पहिले तोडोस्, त्यसपछि आफ्नै नेतृत्वमा बहुमतीय सरकार गठन गर्ने कांग्रेसको तयारी रहेको बुझाइका कारण एमालेले माओवादी निर्णयबारे कुनै औपचारिक प्रतिक्रिया नै जनाएको छैन । ‘हामी राष्ट्रिय सहमतिकै पक्षमा छौा, तर अहिले त्यस्तो कुनै आधार देखिादैन,’ सचिव प्रदीप ज्ञवालीले भने, ‘कांग्रेसको जोड जसरी पनि एमाले–माओवादी सहकार्य तोडाउने कुरालाई माओवादी साथीहरूले बुझ्न नसक्नु बिडम्बनाको कुरा हो ।’
राष्ट्रिय सहमतिविनै माओवादीले सरकारबाट समर्थन फिर्ता लिए एमाले प्रतिपक्षमा बस्न तयार देखिएको छ । कांग्रेस प्रधानमन्त्री ओली नेतृत्वको सरकारमा सामेल हुन तयार नदेखिएकाले सहमतिविना कांग्रेस या माओवादी नेतृत्वको सरकारमा जाने कुरा राजनीतिक र नैतिक हिसाबले सही नहुने अडानमा एमाले छ । ‘राष्ट्रिय सहमतिविनै गठबन्धन बनाउने कुरा आयो भने हामी प्रतिपक्षमै बस्छौा,’ सचिव ज्ञवालीले भने ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी ओलीलाई भेटेर शनिबार पार्टीको निर्णय जानकारी गराएका छन् । स्रोतका अनुसार एमालेसँगको नौबुँदे सहमति कार्यान्वयन नभएकोमा पार्टी हेडक्वार्टरको बैठकमा असन्तुष्टि प्रकट भएको भन्दै उनले राष्ट्रिय सहमतिको सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको जानकारी गराएका हुन् ।
यसैबीच सरकार परिवर्तनको खेलमा फोरम लोकतान्त्रिकका असन्तुष्ट नेता जितेन्द्र देवसँग माओवादी र कांग्रेसका दोस्रो तहका नेताहरू निरन्तर छलफलमा छन् । देवसँग माओवादी नेता कृष्णबहादुर महरा, वर्षमान पुन र जनार्दन शर्मा तथा कांग्रेस नेता विमलेन्द्र निधि र रमेश लेखक निरन्तर छलफलमा छन् । स्रोतका अनुसार उनीहरूको छलफल बाक्लो भए पनि परिस्थिति परिपक्व बनाउने भन्दै भेटघाट र छलफल गोप्य राखिएको छ ।
राष्ट्रिय सहमतिको सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको माओवादी केन्द्र बजेट पारित भएलगत्तै सरकार परिवर्तनको एजेन्डालाई निष्कर्षमा पुर्‍याउने तयारीमा देखिएको छ । २४ असारमा आर्थिक वर्षको बजेट पारित गर्ने संसद्को कार्यसूची छ । त्यसअघि २२ गते माओवादीले एमालेसँगको नौबुँदे सहमति र सरकार परिवर्तनका विषयमा छलफलका लागि पोलिटब्युरो बैठक बोलाएको छ । ‘उहाँ (प्रचण्ड) बैठकका एजेन्डालगायत तयारीका काममा निवासमै व्यस्त हुनुहुन्छ,’ माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव जोगबहादुर महराले भने ।
दलहरूले स्थानीय, प्रदेश र संसद्को चुनावलाई लक्षित गर्दै नयाँ सरकार गठनलाई हेरेका छन् । यस्तोमा सकेसम्म आफौ नेतृत्व गर्ने सोचमा प्रमुख दलहरू छन् । एमालेको नेतृत्वमा चुनावमा जाँदा भएका कामको जस सबै एमालेले लिादा आफूलाई घाटा पुग्ने माओवादी आाकलन छ । त्यसैले बरु सरकार फेरेर सके आफ्नै नेतृत्वमा सरकार बनाएर जाँदा पार्टीलाई चुनावबाट स्थापित गराउन सक्ने दाउमा माओवादी छ । दुई ठूला दल कांग्रेस र एमाले पनि चुनावी सरकार आफ्नै नेतृत्वमा बनाउन चाहन्छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

0 comments:

Post a Comment