Friday, July 1, 2016

विद्यार्थी कुट्ने शिक्षक पक्राउ


पाँचथर, १८ असार । विद्यार्थीलाई कुटपिट गरेपछि पाँचथरको एक निजी विद्यालयका प्रधानाध्यापक पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा पाँचथर थर्पुस्थित साइनिङ स्टार लोवर सेकेन्डरी इङ्लिस स्कुलका प्रधानाध्यापक ईश्वरीप्रसाद सापकोटा रहेका छन् । 

उनले ताप्लेजुङ आम्वेगुदीन–९ घर भई सोही स्कुलमा कक्षा २ मा आवासीय रुपमा बसेर पढ्दै गरेका ८ वर्षीय रचित विष्टलाई मङ्गलबार बिहान ‘अक्षर’ नराम्रो भएको भन्दै ट्युसनकक्षामै निर्घात कुटपिट गरेका थिए । बालकलाई अक्षर राम्रो नभएको भन्दै विद्यार्थीकैमाझमा बाँसको लाट्ठीले हातपाखुरा तथा खुट्टाका विभिन्न भागमा निलडाम हुने गरी निर्धात कुटपिट भएको थियो । 


कुटपिटबाट घाइते भएका बालकलाई अरुलाई भनेमा पुनःकारबाही गर्ने भन्दै मानसिक यातना समेत दिएको र घटना भएको भोलिपल्ट मलहम लगाएर फर्काएको बालकका आफन्तले बताए । 

बच्चाले कुटाई खाएको भोलिपल्ट अन्य अभिभावकबाट थाहा पाएर आउनुभएकी बच्चाकी आमा दिलमायाँ विष्ट अहिले कानुनी प्रक्रियासहित बच्चाको उपचारको लागि फिदिम आउनुभएको छ । उहाँले आफूलाई सामान्य घटना भएको भन्दै कानुनी प्रक्रिया अघि नबढाउन केही राजनीतिक दलका नेतासहित केही कानुन व्यवसायीले समेत दबाब दिएको बताउनुभयो । 

कुटाइको कारण ज्वरोले थलिएको बच्चाको उपचारसहित कुटपिटमा संलग्न प्रधानाध्यापकलाई कानुनी कारबाहीको माग गर्दै उहाँले जिल्ला प्रहरी कार्यालय पाँचथरमा निवेदन समेत गरेपछि प्रधानाध्यापक सापकोटालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । 

प्रधानाध्यापक आफैँले “गल्ती भयो माफ दिनुस् बरु दुई महिनाको स्कुलको फि मिनाहा गरिदिन्छु” भन्दै उम्कन खोजेको बालककी आमा दिलमायाले बताउनुभयो । बच्चालाई कुटपिट गरेको निवेदनअनुसार सार्वजनिक अपराध मुद्दाअन्तर्गत म्याद थप गरी कानुनी कारबाही प्रक्रिया सुरु भएको प्रहरी नायब उपरीक्षक कृष्णप्रसाद कोइरालाले बताउनुभयो । 

बालमैत्री शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्नुपर्ने तथा दण्डरहित अध्यापन गरिनुपर्ने माग र बहस चलिरहेका बेला पाँचथरमा पटकपटक यस प्रकारका घटना हुने गरेका छन् । रासस 

0 comments:

Post a Comment